गुफाभित्र थुनिएका फुटबल खेलाडी तथा प्रशिक्षक नवौं दिन सकुशल फेला
Published:
by .बैंकक । थाइल्याण्डको एक गुफामा १० दिनदेखि थुनिएका फुटबल खेलाडी र उनीहरुका प्रशिक्षकलाई फेला पारिएको छ ।
गुफामा थुनिएको नवौं दिन सोमबार उद्धारकर्मीको एक टोलीले उनीहरुलाई फेला पारेको हो । चियाङ्ग रायस्थित थाम लुवाङ गुफामा बाढीको पानी पस्दा १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक थुनिएका हुन् । ११ देखि १६ वर्षसम्मका ती बालक वाइल्ड बोअर सकर टिमका सदस्य थिए ।
उनीहरु गत जुन २३ मा गुफामा घुम्न गएका थिए । भारी वर्षाका कारण आएको बाढी गुफाभित्र पसेपछि उनीहरुको अवस्था अज्ञात थियो ।
गोताखोरको एक टोलीले उनीहरुलाई गुफाभित्र फेला पारेको अधिकारीहरुले जनाएका छन् । उनीहरु सबै सुरक्षित रहेको बताइएको छ ।
गुफामा पानीको स्तर बढेको र गुफाभित्र लेदो पसेका कारण उद्धारमा कठिनाई भएको अधिकारीहरुले जनाएका छन् । उद्धारका लागि खटिएका बेलायती गोताखोर टोलीले ती बालकसँग गुफाभित्रै कुराकानी गरेका थिए ।
उद्धार टोलीलाई उद्धृत गर्दै थाई अधिकारीले दिएको जानकारीअनुसार गुफाभित्र थुनिएका बालकले आफूहरुलाई कहिले बाहिर निकाल्ने भनेर उद्धारकर्तालाई सोधेका थिए । जवाफमा उद्धारकर्ताले ‘आज होइन’ भनेका थिए ।
बालकको समूहबाट एकजनाले प्रश्न गर्दै ‘आज कुन बार हो ?’ भनेर सोधेका थिए । जवाफमा उद्धारकर्मीले ‘सोमबार । तपाईहरु सबै बहादुर हुनुहुन्छ ।’
उद्धारकर्मीले आफूहरु पहिलो टोली भएको बताउँदै ती बालकलाई आफ्ना साथीहरु आउँदै गरेको बताएका थिए । उनीहरुले बालकलाई सान्त्वना दिदैं उद्धारका लागि आफूहरुले लगातार प्रयास जारी राख्ने बताएका थिए ।
ती बालकका आफन्तहरुले उनीहरु जीवित रहेको तथ्य प्रकाशमा आएपछि खुशी प्रकट गरेका छन् ।
गुफाभित्र अनेकौं सुरुङ रहेको र ती बालक तथा उनीहरुका प्रशिक्षक निकै भित्र रहेका कारण उद्धारमा कठिनाई भएको बताइन्छ । उनीहरु गुफाभित्र बाढीको पानीले नभेट्ने एउटा ढिस्कोमा बसेको उद्धारकर्ताले जनाएका छन् ।
उनीहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्नका लागि मंगलबारबाट उद्धारकर्मी जुट्ने जनाइएको छ ।
एजेन्सी
Comments