Sajhamanch Archive

मेचीनगर होटल ब्यवसायमा सफल बन्दै, स्टार होटल नै ४ वटा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, by .

मेचीनगर । नेपालको पूर्वी अन्तर्राष्ट्रिय सीमानाकाबाट स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकलाई लक्षित गरेर मेचीनगरमा स्तरीय होटल थपिँदै गएका छन् ।

मेचीनगरका काँकरभिट्टा, ईंटाभट्टा, धुलाबारी, चारआली, बाहुनडाँगी लगायतका ठाउँमा सुविधा सम्पन्न होटलहरु खुल्नेक्रम बढिरहेको छ भने सञ्चालनमा रहेका होटलको कारोबार बढ्न थालेको पाइएको हो ।

काँकरभिट्टा नाकाबाट ४७ देशका पर्यटकहरु नेपाल भित्रिने गरेको अध्यागमन कार्यालयको तथ्याङ्क छ ।

मेची उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेतका अनुसार गत वर्षको तुलनामा यसवर्ष होटल व्यवसाय फस्टाएको छ । तीन तहको चुनाव सम्पन्न भएर मुलुक समृद्विको दिशातिर गएकोले पर्यटकहरु नेपाल आउन इच्छुक रहेको उनको बसझाई छ ।

वान स्टारका २ वटा मिनी क्यासिनो सञ्चालनमा रहेका तथा थप २ वटा निर्माणाधीन अवस्थामा रहेको मेचीनगरमा उल्लेख्य संख्यामा सुविधा सम्पन्न होटलहरु सञ्चालनमा छन् ।

काँकरभिट्टामा दुईवटा वान स्टार होटल छन् भने ईंटाभट्टा र धुलाबारीमा निर्माणको प्रक्रियामा रहेको जनाइएको छ । अन्य साना ठूला सुविधासम्पन्न होटलहरु सञ्चालनमा छन् ।

अहिले मेचीनगरका होटलहरुमा दैनिक सरदर २० लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको बताइन्छ । मेचीनगरमा करिव ६ सयको हाराहारीमा सानाठूला होटल सञ्चालनमा छन् ।

बाह्य पर्यटकले मात्र होइन व्यापार बढाउन आन्तरिक पर्यटकले पनि सघाएका छन् । झापाभित्रैको घुइँचो छ यहाँ । विवाह, जन्मदिन अन्य पार्टीहरुमा पनि होटलमा आन्तरिक पर्यटकको घुइँचो लाग्छ ।

होटल व्यवसायीहरुका अनुसार पूर्वी नाकाबाट प्रवेश गर्ने अधिकांश पर्यटकले यहाँ रात बिताउँछन् । यहाँ पर्यटन पूर्वाधार सुधार हुँदै आएकोले पर्यटनको ट्रान्जिट पोइन्ट बन्न सक्ने होटल व्यवसायीहरुको भनाई छ ।

‘यहाँ पर्यटन प्रहरीको व्यवस्था भएपछि सूचना केन्द्रको प्रबन्ध छ’, क्षेत्रीय होटल व्यवसायी संघ मेचीनगरका सचिव रामबहादुर तामाङ भन्छन् ‘त्यसको फाइदा होटल व्यवसायीले लिनु पर्छ ।’

पछिल्लो समयमा होटलमा लगानी बढिरहेको छ । तर, पर्यटन प्रवद्र्धनका लागि सरकारी पहल नहुँदा त्यस अनुरुप प्रतिफल प्राप्त नभएको लगानीकर्ता बताउँछन् ।

‘स्थलमार्ग हुँदै धेरै पर्यटक नेपाल भित्रिन्छन्’, काँकरभिट्टाको रिञ्जी प्यालेसका सञ्चालक समेत रहेका तामाङ भन्छन् ‘तर, उनीहरुलाई स्थानीय पर्यटकीय स्थानबारे सूचना दिने र विश्वस्त गर्ने सरकारी संयन्त्र छैन । यसले गर्दा पर्यटक सोझै अन्यत्र लाग्छन् । यसको मार व्यवसायी र पर्यटन उद्योगमै पर्छ ।’

नेपाल प्रवेशको एउटा मुख्यद्वार काँकरभिट्टामा तीन सय हाराहारीमा होटल खुलेका छन् । २८० जति होटल दर्तावाला छन् ।

त्यसमध्ये एक दर्जन होटल विदेशी पर्यटक बस्ने स्तरका रहेको संघको विश्वास छ । काँकरभिट्टामा दुईवटा मिनी क्यासिनो समेत सञ्चालनमा छन् ।

मेचीनगरको ग्रामीण क्षेत्रमा होमस्टे सञ्चालन गर्न थालिएको छ । व्यवसायीहरुका अनुसार सन् २०१७ मा मनाइएको पर्यटन वर्षलाई लक्षित गरेर व्यवसायीहरुले होटलमा एकैपटक ठूलो लगानी गरेका हुन् ।

त्यसबेला सरकारले पूर्वी नाकाबाट मात्रै २० हजार पर्यटक भित्र्याउने उद्घोष गरेको थियो । सोही अनुरुप व्यवसायीले करोडौँ रकम होटलको स्तरवृद्धिमा मात्रै लगानी गरेका थिए ।

पर्यटन वर्षको अवधिभर सरकारले भनेको संख्यामा पर्यटक यो नाकाबाट नेपाल भित्रिएनन् । तर, जति पर्यटक योे नाकाबाट भित्रिए, उत्साहका साथ भित्रिएका छन्, होटल संघका सचिव रामबहादुर तामाङको भनाईं छ ।

विदेशी पर्यटक यो नाकाबाट भित्रिने क्रम जारी छ । यो नाकाबाट धार्मिक पर्यटकहरु बढी आउने गरेका छन् । नाकामा पर्यटकलाई आकर्षित पार्न राज्यले प्रचार प्रसारलाई तीब्रता दिन जरुरी रहेको तामाङको भनाई छ ।

अध्यागमन कार्यालय काँकरभिट्टाका प्रमुख पवन गुप्ताका अनुसार सन् २०१६ मा १० हजार ६०२ जना पर्यटक भित्रिएका थिए भने ९ हजार ८४२ पर्यटक बाहिरिएका छन् ।

त्यस्तै, सन् २०१७ मा ११ हजार ४९७ जना पर्यटक भित्रिए भने १० हजार ३३६ पर्यटक बाहिरिएको उनले बताए ।

सन् २०१८ को पाँच महिनाको अवधिमा ४ हजार १२६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने ३ हजार ८८७ जना पर्यटक बाहिरिएको अध्यागमन प्रमुख गुप्ताले जानकारी दिए ।

सन् २०१८ को बितेको पाँच महिनाको अवधिमा ४७ देशका पर्यटक नेपाल भम्रणमा आएको कार्यालयले जनाएको छ । स्थलमार्ग हुँदै नेपाल आउने धेरै पर्यटक स्थानीय ठाउँका धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्ने गरेका छन् ।

यो नाका भएर नेपाल भित्रिने पर्यटकहरु काठमाडौँ, लुम्बिनी, मुक्तिनाथ मन्दिर, मुस्ताङ, पोखरालगायतका ठाउँहरु घुम्न जाने गरेको तामाङको भनाई छ । उनीहरुमध्ये ५० प्रतिशतलाई मात्रै स्थानीय सम्भावनाबारे बुझाउन सके पूर्वी नाकाको पर्यटन उद्योग धेरै माथि उक्लिने व्यवसायीहरुको बुझाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *