‘झापा स्पोर्टस् अवार्ड २०७५:मनोनित खेलाडी र प्रशिक्षक सार्वजनिक
Published:
by .बिर्तामोड। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले झापा स्पोर्टस् अवार्ड’ तेस्रो संस्करणको मनोनयनमा पर्न सफल खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको छ ।
‘झापा स्पोर्टस् अवार्ड २०७५’ का लागि विभिन्न चार विधामा प्रत्येक विधाबाट तीनतीनजना प्रतिभा शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । जसअनुसार ‘झापा स्पोर्टस् अवार्ड २०७५’ को मनोनयनमा पर्न सफल प्रतिभाहरु वर्ष उत्कृष्ट खेलाडी (पुरुष)मा उमेश राई (शारीरिक सुगठन), राम दाहाल (शारीरिक सुगठन), नवयुग श्रेष्ठ (फुटबल)छन् । त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी (महिला)मा एस्तर राई (कराते), अन्जिला तुम्बापो सुब्बा (फुटबल), बिनिता बुढाथोकी (भलिबल) छन् । वर्ष उत्कृष्ट खेलाडी (युवा) विधामा छिरिङ गुरुङ (फुटबल), अप्सरी बेगम (क्रिकेट), अमिता गिरी (ब्याडमिन्टन) मनोनयनमा परेका छन् । त्यस्तै, वर्ष उत्कृष्ट प्रशिक्षकमा हरि खड्का (फुटबल), डम्बर लिम्बू (बक्सिङ) योगश चम्लिङ (कराते) परेको ‘झापा स्पोर्टस् अवार्ड २०७५’ तथा प्रतिभा छनोट समितिका संयोजक बुद्ध तामाङले जानकारी दिए ।
वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा)लाई नगद २५ हजार, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए । अध्यक्ष खरेलका अनुसार पिपुल्स च्वाइज र लाइफ टाइम्स अचिभमेन्ट अवार्डका विजेता कार्यक्रम हुने दिन सिधै घोषणा गरिनेछ । उनीहरुले क्रमशः नगद २५ हजार र ३५ हजार रुपैयाँ पाउनेछन् ।
‘झापा स्पोर्टस् अवार्ड’ को तेस्रो संस्करण यही असोज १३ गते सोमबारका दिन बिर्तामोडको आदर्श ब्यांक्वेटमा हुनेछ । अवार्डलाई स्थापनाकालदेखि नै एन्फका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ पूर्वफुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा एक लाख रुपैयाँ प्रदान गर्दै आएका छन् ।
त्यस्तै, सहारा नेपाल साकोसले नगद दुई लाख रुपैयाँ प्रदान गर्छ भने अग्रज समाजसेवी तथा झापा ११ का अध्यक्ष जलकुमार गुरुङले दोस्रो स्पोर्टस् अवार्डमा आमा स्वर्गीय राजकुमारी गुरुङ, बुवा स्वर्गीय बलबहादुर गुरुङ र भाउजू स्वार्गीय तितामाया गुरुङको स्मृतिमा एक थान मोटरसाइकल र एक थान स्कुटर प्रदान गरेका थिए । त्यस्तै, अन्य सामाजिक संघसस्था र व्यापारिक प्रतिष्ठानबाट समेत अमूल्य सहयोग भएको थियो ।
अवार्डमा २०७५ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई सहभागी गराइन्छ ।
Comments