Sajhamanch Archive

हाम्रो समाज भ्रष्टाचारीलाई स्वागत र सम्मान गर्छ

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, by .

चोक चौतारी, चिया चमेना पसलतिर चर्चा भइरहने सदाबहार एउटा विषय छ, हाम्रो समाजमा सम्पति कमाउने कुरा । कोही भन्दै गर्छ उसले त कति छिटो प्रगति गर्यो है । अर्को भन्छ हरिबहादुरले कति चाँडो त्यत्रो ठूलो घर बनायो । गोपालजी नारायणसँग भन्दै हुन्छन् ‘तपाईको प्रगति देखेर म असाध्य खुसी छु ।’ यस्तै यस्तै प्रगति र सफलताका कुरा कथाहरु सुन्न पाइन्छ चिया गफ, शहर बजार, बसिवियालोमा जतिखेरेै यस्तै चर्चा चल्ने गर्छ गाउँ सहरतिर ।

तर थाहा छैन कसैलाई, उसले त्यो सम्पति के कसरी कमायो ? कसरी यति चाँडो त्यत्रो सम्पति जोड्यो । शहरमा तीनतले घर बनायो । ठूलो खर्च गरेर छोराको बिहे गर्यो । छोरा छोरीलाई विदेश पढाउँदै छ । करोडौं रुपयाँको बैंक ब्यालेन्स कसरी सम्भव भयो ? यो कसैलाई मतलव छैन । कसैको चासो र सरोकारको विषय बन्दैन । कसैले अवैध कार्यबाट धन कमाएको थाहा पाएर पनि विरोध गर्दैन बरु समर्थन गर्छ । दुई नम्बरी कार्यबाट मात्र अकुत सम्पती आर्जन गर्न सकिन्छ । अन्यथा उसको तलब स्केल, ब्यापार वा वैधानिक आम्दानीबाट मात्र यी सब काम हुन सक्दैनन् भन्ने कुरा जो कोहीलाई थाहा छ । तर पनि यसको सम्बन्धमा कुनै खोजीनीति हुँदैन । बरु उ सफल भयो । बाठो छ । वीर छ । प्रगति गर्यो, सुख पायो, राम्रो भयो भनेर खुसी हुने या प्रशंसा गर्छन् आम मानिसहरु । यस्तो छ हाम्रो समाज ।

म छक्क पर्छु, मानिस किन यसरी अन्धो, बहिरो भएको छ । सम्पतिकै आर्जनमा कति निच र पतित काम गर्छन् । आजको समाज कति धनप्रिय छ ! साथीसंगी, आफन्तजन कति धनकै मात्र चर्चा गर्छन् । मानौं धन कमाउनु नै सफलता हो । उद्देश्य हो । जागिरे वा व्यपारीको कर्तव्य हो । उसको कर्म र धर्म हो, धन कमाउनु धेरै कमाउनु । जसरी भए पनि धन कमाउनु पर्छ । जे गरी भए पनि धनि हुनै पर्छ । खाइनसक्ने गरी सम्पति भेला पार्नैपर्छ । सुन चाँदी धेरै जोड्नै पर्छ । शहरमा घर बनाउनै पर्छ । छेराछेरीलाई विदेश पढाउनै पर्छ । महङ्गो गाडी जोड्नै पर्छ । श्रीमतीलाई सुनै सुनले छोप्नै पर्छ । अनि मात्र मानिस सफल हुन्छ ! वीर ठानिन्छ र शक्तिशाली मानिन्छ । अनि सबैले मान्छन् । सबैको प्यारो तबमात्र भइन्छ भन्ने हाम्रो विचित्रको सोच, चिन्तन, सामन्ती संस्कार ।

पैसा नभई केही हुँदैन भन्ने विचार कै कारण हाम्रो समाजमा दिन दुगुना रात चौगुना भ्रष्टाचार बढिरहेछ । यसले बलियो जरा गाडेको छ । अब भ्रष्टाचार संस्थागत भएको छ, यही नै आजको बिडम्बना हो । यस्तो सोचिन्न, खोजिन्न, उसले कति अपराध गरेर धन कमाएको हो ? कति गरीब दुखीलाई रुवाएर महल ठड्याएको हो । सरकारलाई कति घाटा लाग्यो उसबाट ? देश कसरी उसका कार्यबाट बद्नाम भयो ? सरकारले उसको कालोबजारी र तस्करीबाट कति राजश्व गुमायो ? मिसावट गरेर, सरकारलाई छलेर, समाजलाई ढाँटेर उसले यतिका सम्पत्ति आर्जन गर्यो भनी किन भनिँदैन ? किन उसका काला कर्तुत, कुकर्म चर्चाका विषय बन्दैनन् ? उल्टै उ सम्मानित र पुरस्कृत हुन्छ ।

न सरकारले, न समाजले, न आफन्तले, न परिवारले उसलाई यस्तो कुकार्य गर्नबाट किन रोक्दैनन् ? हाम्रो सरकार, देश, समाज, गाउँ, शहर, प्रशासन यसमा सबै दोषी छैनन् र !। भ्रष्टारचार गरेको अभियोगमा जेलमा सड्नु पर्ने मान्छे समाजमा सम्मानित हुन्छ, पुरस्कार पाउँछ । प्रगति गरिस्, ठूलो मान्छे भइस्, सफल भइस्, जीवनमा भनी बरु उसैको पूजा बन्दना गर्छ हाम्रो समाज । अनि भ्रष्टाचार र भ्रष्टाचारी सम्मानित हुने हाम्रो समाज कसरी उँभो लाग्ला त !?

(लेखक मनकामना कलेज बिर्तामोडका सहायक क्याम्पस प्रमुख हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *