Sajhamanch Archive

उपासनासामु चुनौती नै चुनौती

Published: (Updated: ) in टिप्स/जानकारी by .

नेपाली फिल्मले ५ दशक लामो यात्रा पार गरिसकेको छ । यो बीचमा थुप्रै अभिनेत्रीको जन्म भयो । कति आफूलाई जोगाउन नसकेर पलायन भए । भने, केहीले एकसेएक हिट फिल्म दिएर नेपाली फिल्ममा बलियो साम्राज्य बनाए ।

एक जमाना करिश्मा मानन्धर, जल शाह, निरुता सिंह, विपना थापा, रेखा थापाले नेपाली फिल्ममा एकछत्र राज गरेका थिए । उनीहरुको अनुहार पोस्टरमा राखेको भरमा फिल्मले गजबको व्यापार गर्थे । तर, अहिले समय फेरिएको छ ।

केही वर्षयता नेपाली फिल्ममा नयाँ छिमलका अभिनेत्रीको बोलबाला चलेको छ । तर, पछिल्लो समय नेपाली फिल्ममा अभिनेत्रीको स्टारडम निकै छोटो समयमा परिवर्तन भएको देखिन्छ ।

अभिनेत्री रेखा थापालाई छाड्ने हो भने बलियो सम्भावना हुँदा-हुँदै पनि लामो रेसको यात्रा गर्न नसक्ने अभिनेत्रीको सूची लामो छ ।करीब एक दशकदेखि ‘नम्बर वान अभिनेत्री’ को उपाधिमा अडिग रहेकी रेखाको साम्राज्य अभिनेत्री प्रियंका कार्कीले ध्वस्त पारिन् ।

तर, संख्यात्मक अभिनयमा जोड दिँदा छोटो समयमै प्रियंका पनि रिप्लेस भइन् । अहिले उनको स्टारडम ‘धार बिनाको खुकुरी’ भएको छ । बेकामे । प्रियंकापछि उदय भएकी अभिनेत्री हुन्, साम्राज्ञी आरएल शाह ।

‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ को सफलताले उनको स्टारडम निकै ठूलो बनाए । अहिले उनलाई ‘नम्बर वान अभिनेत्री’ भन्ने गरिन्छ । तर, उनलाई पनि यो उपाधि जोगाउन हम्मेहम्मे परेको छ । किनकि, उनका पछिल्ला कुनै फिल्म असफल छैनन् ।

अब उनको एकाधिकार अभिनेत्री उपासना सिंह ठकुरीले तोड्न सक्ने विश्लेषण हुन थालेको छ । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट डेब्यू गरेकी अभिनेत्री हुन्, उनी । यो फिल्म बक्सअफिसमा औसत रह्यो । तर, उनको अभिनय र सुन्दरता निकै रुचाइयो । डेब्यू फिल्मबाटै सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरिएकी उनको दोस्रो फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ हाल प्रदर्शनरत छ । फिल्मको सेन्ट्रल क्यारेक्टरमै उनी छिन् ।

‘क्याप्टेन’ मा भन्दा यो फिल्ममा उनको अभिनयमा निखारता देखिएको छ । उक्त फिल्म हेर्नेले उनको कामको मुक्तकण्ठले प्रशंसा गरेका छन् । ‘कबड्डी ३’ बाट ठूलो स्टारडम बनाएकी उनले छोटो समयमा नेपाली फिल्ममा राम्रो स्थान हासिल गर्न सक्ने देखिन्छ । फिल्म नै आफ्नो काँधमा बोकेर हिँड्न सक्ने अभिनेत्रीको रुपमा उभ्याउन र लामो रेसको घोडा बन्न भने उनले अझै आफूलाई निखार्न आवश्यक छ । त्यसका लागि उनी फिल्म छनोटमा गम्भीर हुनुपर्नेछ ।

नेपाली फिल्मको इतिहास पल्टाउने हो भने अभिनेत्रीको सफलताको ग्राफ सधैं एकनाश छैन । त्यसमाथि नयाँ छिमलका आशालाग्दा अभिनेत्रीहरुको प्रवेश बढ्दो छ । यसकारण उपासनालाई नेपाली फिल्ममा लामो रेसको घोडा बन्न त्यति सहज छैन । फिल्ममा प्रवेश गरेको छोटो अवधिमै पाएको लोकप्रियता जोगाइराख्नु उनका लागि अर्को ठूलो चुनौती हो । अब उनीमाथि दर्शकको पनि ठूलो अपेक्षा छ । उपासनाको आगामी यात्रा चुनौती नै चुनौतीले भरिएको देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *