Sajhamanch Archive

अनुशासित र सभ्य बनौ, चाडपर्वहरुलाई दुर्घटनारहित बनाऔंः नगर प्रमुख आचार्य

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by .

मेचीनगर । आसन्न चाडपर्वहरुलाई दुर्घटनारहित बनाउन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सवैमा आग्रह गरेका छन् ।

चाडपर्वका वखत मानिसहरुको आवतजात निक्कै बढ्ने भएकाले ती समयमा दुघर्टना बढ्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसै कुरालाई मध्यनजर गदैं नगरपालिकाकातर्फबाट नगरप्रमुख आचार्यले नजिकिँदै गरेको दशैं तिहार तथा छठलगायतका चाडपर्वलाई दुघर्टनारहित बनाएर धनजनको क्षति हुन नदिई एक आपसमा हासीखुशी मनाउन समेत आम नगरवासीसहित सम्बन्धित व्यवसायीहरुमा आग्रह गरेका हुन् ।

विहीबार नगपालिका सभाकक्षमा नगरभित्र सञ्चालन हुने साना तथा मझौला सवारी साधन टेम्पो, पाइडल रिक्शा सिटी सफारी, म्याजिक भेन, तथा अन्य सवारी साधनहरुको भाडा दर एवम् व्यवस्थापन सम्बान्धमा सरोकारवालाहरुसँग भएको अन्तरक्रियात्मक कार्यक्रममा नगर प्रमुख आचार्यले यस्तो आग्रह गदैं यसतर्फ सवैजना सचेत हुनुपर्नैमा समेत जोड दिए । आफ्ना हरेक सवारी सानधनलाई यात्रुमैत्री बनाउन आग्रह गदैं प्रमुख आचार्यले आफ्नो पेशालाई मर्यादित बनाएर अनुशासीत भएर जिम्मेवारपूर्वक सञ्चालन गर्न समेत सम्बन्धितपक्षलाई सुझाँव दिए ।

उनले हरेक सवारी साधनको भाडादरमा एकरुपता हुनुपर्ने बताउदैं चाडपर्वको मौका छोपेर कसैले पनि आफुखुशी भाडा बृद्घि नगर्न जोड दिए । यदि कहि कतै कसैले अहिले पनि सवारी मापदण्ड अनुसार बढी भाडा असुल्ने गरेको भए तत्काल बन्द गर्न भन्दैं प्रमुख आचार्यले यदि अनुगमनका क्रममा वा कुनै यात्रुले सम्बन्धित निकायमा उजुरी गरे त्यस्ता सवारी साधन वा चालकलाई कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिए । यातायात व्यवसायी तथा मजदुरका कहि कतै कुनै समस्या भए तत्काल सम्बन्धित निकायमा राख्न अनुरोध गदैं स्थानीय सरकार, यातायात व्यवस्था कार्यालयलगायतका संघ संस्थासँगको समन्वयमामात्र भाडा बृद्घि गर्नुपर्ने उनको भनाई थियो । संस्थागतरुपमा भाडा दर निर्धारण गर्न समेत उनले आग्रह गदैं सवारी सञ्चालन व्यवसाय समेत मानवीय सम्बन्धसँग गासिएकाले हरेक यात्रुहरुसँग मीठो, नरम बोलीचाली गर्न समेत हरेक यातायातसँग सम्बद्घ संघ संस्थाका पदाधिकारीहरुलाई जानकारी गराएका छन् ।

हरेक सवारीधनी तथा चालकले आफ्ना सवारी साधनका आवश्यक कागजात, सवारी चालक अनुमती पत्र चुस्तदुरुस्त राख्नुपर्र्ने उहाँको भनाई थियो । आफ्ना कागजात कमजोर भए त्यस बखत दुघर्टना हुन गए आफु कमजोर हुने भएकाले समय समयमा सम्बन्धित निकायमा गएर कर तिर्न कागजात नवीकरण गर्न समेत उहाँको आग्रह थियो । सरकारलाई ढाटेर वा कर छलेर कसैले व्यवसाय सञ्चालन गर्छ भने कुनै न कुनै बेला उ दण्डित हुने प्रष्ट पारे । हरेकले चालक तथा यातायात व्यवसायीहरुले सवारी तथा ट्राफिक नियम पालना गर्नु पहिलो कर्तव्य रहेको उहाँले बताए । यातायात व्यवसायी तथा मजदुरका समस्याप्रति आफु राम्रोसँग जानकार भएकाले कहि कतै कसैले करका नाममा कसैलाई अनावश्यक दुःख दिए तत्काल नगरपालिका तथा नजीकैको इलाका प्रहरी कार्यालयमा खवर गर्न उनले सवैलाई अनुरोध गरे । नगरभित्रका सडकहरुका कारण यातायात व्यवसायी, चालक तथा मजदुरले समस्या भोग्नु परेको भन्दैं नगरप्रमुख आचार्यले नगरपालिकाले ती सडकहरुको मर्मत तथा सम्भार र सुधार गरीरहेको प्रष्ट पारेका थिए ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले चाडपर्वको मौका छोपेर यात्रुहरसँग जताभावीरुपमा भाडा असुल्नु गैरकानुनी काम भएको भन्दैं त्यस्तो कानुनले बन्देज गरेको काम नगर्न सुझाव दिइन् । अहिले राष्ट्रिय राजमार्गमा राता रंगका यात्रुवहाक बसहरुका बारेमा सर्वसाधारणको गुनासो बढेको भन्दै उपप्रमुख उप्रेतीले त्यसपक्षका व्यवसायीहरुलाई समेत बोलाएर छलफल गरी समाधान खोज्ने प्रष्ट पारिन । उनले जताभावी सवारी साधन पार्किङ गर्दा सडक जाम हुने, बजारसहित विभिन्न ठाउँहरु अस्तव्यस्त हुने हुँदा त्यसलाई व्यवस्थित बनाउने र मेचीनगरलाई स्वच्छ सफा हरियाली र हराभरा बनाउने जिम्मा सवैको काँधमा रहेको बताइन् । यदि कसैले स्थानीय सरकारले बनाएको कानुनको पालना गर्दैन भने त्यस्ता व्यक्ति वा व्यवसायीहरुले कानुनी कारवाही भोग्ने हुँदा त्यस बेला नगरपालिकाले समेत उस्लाई बचाउनतर्फ नलाग्ने उनको भनाई थियो ।

वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले पार्किङ निषेधक्षेत्रमा कसैले जवरजस्ती आफ्ना सवारी साधन पार्किङ गरे स्थानीय प्रशासनले दण्ड जरिवाना गर्ने भएकाले कसैलाई पनि अनावश्यकरुपमा दण्ड जरिवाना तिर्ने वातावरण आफै सिर्जना नगर्न सुझाँव दिए । तोकेको ठाउँमा मात्र सवारी साधन पार्किङ गरे दुघर्टना समेत कम हुने उहाँको विश्वास थियो । अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक कालीदास रेग्मीले कुनै पनि सवारी साधनले कुनै यात्रुलाई ठग्ने प्रयास गरेर मापदण्ड अनुसारभन्दा बढी भाडा लिएको उजुरी परे तत्काल प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने चेतावनी दिए । उनले सडक छाडा चौपायका कारण दुघर्टना बढने हुँदा चौपाय नियन्त्रणमा समेत ध्यान दिन चौपायधनीलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा सहभागी यातायात व्यवसायी संघ संस्थाका प्रमुख प्रतिनिधि तथा चालकहरुले आफुहरुले व्यहोर्नु परेको समस्याका बारेमा नगरप्रमुख आचार्य, उपप्रमुख उप्रेतीलाई जानकारी गराएका थिए । आफुहरु हरेक कानुन मान्न तयार रहेको भन्दैं उनीहरुले सडकका खाल्डाखुल्डी, दर्ता प्रक्रिया, पार्किङ, दिनानुदिन बढेको सवारी साधनको संख्यालगायतका कारण आफुहरु समस्यामा परेको बताए । हरेक दिनजसो पेट्रोलियम पदार्थको मुल्य बढे पनि आफुहरु भने सातवर्षअघि निर्धारण गरेको भाडादरमा यात्रु बोक्न बाँध्य भएको उनीहरुको गुनासो थियो । अब यी सवारी साधनको व्यवस्थापनमा नगरपालिका सक्रिय हुन समेत आग्रह गरेका थिए । भारतीय नम्बर प्लेटका सवारी सानधका कारण आफुहरु मारमा परेको उनीहरुको गुनासो थियो ।

हरेक समस्याको समाधानकालागि नगरपालिका अहोरात्र लागेको तथा यातायातलगायत अन्य संघ संस्थाहरुसँग समन्वय गरेर अघि बढ्ने नगरप्रमुख आचार्यले आश्वासन दिए । कार्यक्रममा यातायात व्यवसायीहरु पूर्णबहादुर योङ्गहाङ्ग, भीमप्रसाद लामिछानेलगायतले बोल्नुभएको थियो बोलेका थिए। कार्यक्रमको सञ्चालन नगरपालिका कार्यपालिका सदस्य एवम् पूर्वाधार विकास समिति संयोजक कृष्ण कनालको रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *