कनकाई नगरको वजेट ४९ करोड ७९ लाख
Published: (Updated: )
by .सुरुङ्गा । कनकाई नगरपालिकाले तेस्रो नगरसभावाट स्वीकृत आर्थिक वर्ष २०७५ । ७६ को नीति, योजना तथा बजेट सार्वजनिक गरेको छ ।
कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेलले आर्थिक विकास, सामाजिक एवम् पूर्वाधार साथै वातावरण तथा पर्यटन विकास, विपत व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह लगायतका क्षेत्रमा विनियोजन भएको कुल ४९करोड ७९ लाख २ हजार रुपैंयाँ वरावरको वजेट सार्वजनिक गरेका हुन् । अघिल्लो आ.व. मा ४० करोड २६ लाख ५५ हजारको वजेट विनियोजन भएकोमा यस आ.व.मा ९ करोड ५२ लाख ४७ हजार रकम थप गरेर यस वर्षको वजेट विनियोजन भएको वताइएको छ ।
नेपाल सरकारवाट नगरपालिकालाई वित्तिय समानीकरण, सशर्त अनुदान, सामाजिक सुरक्षा, सडक वोर्ड नेपाल, प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रम, संघीय तथा प्रदेश सरकारवाट प्राप्त हुन सक्ने विशेष तथा समपुरक अनुदान रकम साथै कनकाई नगरपालिकाको आन्तरिक आय र राजश्व बाँडफाँडवाट प्राप्त हुन सक्ने रकम गरी कुल बजेटको व्यवस्था भएको नगर प्रमुख पोखरेलले वताएका छन् । जस मध्ये चालु खर्च ४ करोड,२६ लाख,८६ हजार र पूँजिगत तर्फ २४ करोड ८ लाख १६ हजार रहेको वताइएको छ । सशर्ततर्फ १३ करोड १५ लाख प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रम तर्फ १९ लाख र सामाजिक सुरक्षा भत्तातर्फ ८ करोड १० लाख रहेको छ ।
अघिल्लो वर्षको असार २१ गतेका दिनदेखि नै पदभार ग्रहण गरी स्थानीय निकायको जिम्मेवारी सम्हालेका कनकाई नगरका जनप्रतिनिधीहरुले असार २१ गतेका दिनलाई ऐतिहासिक दिनका रुपमा लिँदै सम्पन्न भएको वजेट सार्वजनिक कार्यक्रमको अवसरमा नगरका दुईजना कर्मचारीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा कनकाई नगरपालिकाका सवारी चालक रोहित कोइराला रहेका छन् ।
आफ्नो कार्यप्रति इमान्दारिता देखाएको भन्दै नगद ७ हजार ५ सय सहित कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधी सभाका सदस्य एल.पी. साँवा लिम्वू, प्रदेश सभा सदस्य हिरा थापा, नगरप्रमुख पोखरेलले प्रशंसा पत्रसहितले सम्मान गरेका हुन् ।
त्यस्तै घैलाडुवा गाउँ पञ्चायत हुँदादेखि आजसम्म पनि नगरमा निरन्तर कार्यरत एक कर्तव्यनिष्ठ कर्मचारीका रुपमा कन्दुलाल राजवंशीलाई उमेर हदका कारण उपदानसहित स–सम्मान विदाई गरिएको छ ।
नगर प्रमुख पोखरेलको सभापतित्वमा नगरपालिकाको सभाहलमा विहिवार सम्पन्न बजेट सार्वजनिकीकरण समारोहमा कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य एल.पी.साँवा लिम्वूले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । नगर उपप्रमुख मन्जु प्रसाईँले स्वागत गरेको कायक्रममा प्रदेश सभा सदस्य हिरा थापा, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, नेकपा कनकाई नगरका संयोजकद्वय रविन्द्र लम्साल र चन्द्रमान कन्दङ्वा, नेपाली कांग्रेसका नगर सभापति नेत्र चिमरीया, राप्रपाका नगर अध्यक्ष ज्योती उप्रेती लगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन कनकाई नगरका प्रमुख प्रशसकीय अधिकृत देवेन्द्र कार्कीले गरेका थिए ।
Comments