सरकारमाथि चौतर्फी प्रहार भयो, प्रतिवाद गरौंः प्रधानमन्त्री ओली
Published: (Updated: )
by .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी रुपमा सरकारमाथि आक्रमण भइरहेको बताएका छन् । उनले पार्टीकै नेताहरुले एकतावद्ध भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन् ।
बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकारले सकारात्ममकरुपमै काम गरिरहेको दाबी गरे । तर, सरकारमाथि चौतर्फी प्रहार भइरहेको उनले बताए ।
बैठकमा ओलीले भने, चाहे गोविन्द केसीको केसमा होस्, चाहे अरु केसमा होस् । सबै मिलेर सरकारलाई प्रहार गर्ने काम भइरहेको छ । हामीले दृढतापूर्वक प्रतिवाद गर्नुपर्छ ।’
त्यसका लागि चाहिने एकता र दृढता पार्टी नेताहरुमा नदेखिएको भन्दै उनले असन्तुष्टि जनाए ।
केन्द्रसँग प्रदेश र स्थायी सरकारको कामकारबाहीबारे समीक्षा गर्न छिट्टै स्थायी कमिटीको अर्को बैठक बोलाइने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा पार्टीको विधान र नियमावलीबारे नेताहरुले सुझाव दिएका छन् र त्यसलाई समेटेर अन्तिम रुप दिने जिम्मेवारी सचिवालयलाई दिएको उनले बताए ।
‘प्रतिक्रियावादी’ हरुले साना(साना ईस्युलाई लिएर, गोविन्द केसी, गंगामाया र निशेधित क्षेत्रलाई पोलिटिकल बाहना बनाएर कम्युनिष्ट सरकारमाथि सदन र सडक दुबै ठाउँबाट प्रहार गर्न कोसिस गरिराखेको प्रधानमन्त्रीलगायत अन्य नेताहरुले बैठकमा विश्लेषण सुनाएको सहभागी नेताले बताए ।
कम्युनिष्टको सरकार बनेकोमा देशभित्रको एउटा वर्गलाई नपचेको नेकपाका नेताले निश्कर्ष निकालेका छन् ।
तर, नेकपाको बैठकले प्रधानमन्त्री केपी ओलीको विदेश भ्रमण सफल भएको निचोड निकालेको नेताहरुले बताएका छन् । विदेश नीतिमा सरकार सफल रहेको प्रधानमन्त्रीको विश्लेषण थियो ।
अन्तरराष्ट्रिय समर्थन सरकारलाई रहेकै कारण सरकारलाई बाहिरी पक्षबाट कुनै अप्ठ्यारो नरहेको बैठकमा विश्लेषण गरिएको थियो ।
Comments