आज महानवमी : नवरात्रिको अन्तिम दिन विशेष पूजाअर्चना गरिंदै
Published:
by .काठमाडौं । आज देशभर हिन्दूको विशेष पर्व दशैंको महानवमी हो । यसलाई देश तथा विदेशमा विशेष गरी मनाइँदैछ ।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा नवमी अर्थात् नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ ।
प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ ।
हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज एक दिन मात्र सर्वसाधारणका लागि खुला गरिंदैछ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।
सोमबार बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जङ्गी निसानपूजा तथा कोतपूजा भइरहेको छ । आजै सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।
Comments