Sajhamanch Archive

बेलायतको फोक्सटन सीटी र मेचीनगरबीच भगिनी सम्बन्ध

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

मेचीनगर । गोर्खा मेमोरियल फण्ड युकेको दशैँ वार्षिककोत्सवका अवसरमा फण्डको निमन्त्रणामा त्यहाँ पुगेका मेचीनगर नगपालिकाका प्रमुख विमल आचार्यसहित उनकी पत्नी गीता प्रसाई आचार्यलाई भव्य स्वागत गरिएको छ ।

असोज १६ मा त्यहाँ पुगेका नगरप्रमुख आचार्य दम्पतिलाई द गोर्खा मेमोरियल फण्ड बेलायतका संस्थापक अध्यक्ष, झापाली समाज लण्डनका अध्यक्ष तथा बेलायतस्थित फोक्टन सीटीका पूर्व काउन्सिलर धनकिरण गुरुङ नेतृत्वमा रहेको बेलायती टोलीले स्वागत गरेको थियो ।

सैनिक पेशाबाट सेवा निवृत्त भएपछि गुरुङले राजनीति यात्रा शुरु गरे लगत्तै उनी सन् २००७ देखि २०११ सम्म फोक्सटनका काउन्सिलर भएका थिए । उनी फोक्सटन क्षेत्रको काउन्सिलर मात्र बनेन् बेलायतमा काउन्सिलर निर्वाचित हुने पहिलो नेपाली नागरिक हुने अवसर पनि प्राप्त गरे । उनले बेलायतका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई बेलायती समुदायमा परिचय गराउन समेत पहल गरेका थिए ।

त्यहाँ आयोजित कार्यक्रममा नगरप्रमुख आचार्यले विशिष्ट अतिथिको आसनबाट बोल्दै नेपाल र बेलायत तथा नेपाली र बेलायती जनताबीचको सम्बन्ध धेरै अगाडीदेखि समधुर रहेकाले अझ यो सम्बन्धलाई प्रगाढ बनाएर लैजाने विश्वास व्यक्त गरे ।

नगरप्रमुख आचार्यले गुरुङले नेपाली समुदायलाई बेलायती समुदायसँग जोड्न महत्वपूर्ण भूमिका निभाएको, उनले बेलायतमा बसेरै पनि नेपाल र नेपाली जनता त्यसमा पनि झापालीप्रति देखाएको सदभाव,माया ममता, नेपालको शिक्षा सामाजिक तथा स्वास्थ्यक्षेत्रमा पुर्याएको योगदानको चर्चा जति गरे पनि कम हुने बताए । फण्डका संस्थापक अध्यक्ष गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत डाक्टर दुर्गाबहादुर सुवेदी र बिशेष अतिथि नगर प्रमुख आचार्यले शुभकामना मन्तब्य राखेका थिए ।

फोक्सटन टाउनका प्रमुख, बेलायतको केन्ट जिल्ला अध्यक्ष एन बेरी, उपाध्यक्ष फिलिप मार्टिन, काउन्सिलर अध्यक्ष आन एल एन, हाइट टाउनका मेयर, हाकिन्स टाउनका मेयर, जे वर्ग सिटीका मेयर काउन्सिलरहरु तथा बेलायतका विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुसँग मेचीनगर प्रमुख आचार्यले विभिन्न विषयमा छलफल गरे ।

छलफलका क्रममा दुई शहरबीच दोहोरो सहयोग आदान प्रदान गर्ने र यी शहरबीच भगिनी सम्बन्ध कायम गर्न सवै सहमति भएको नगर प्रमुख आचार्यले जानकारी दिए । उनका अनुसार बेलायतका उच्च पदस्थहरुसँग भएको छलफलमा विशेष गरी शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापनलगायतका महत्वपूर्ण विषयमा छलफल भएको थियो । नगरप्रमुख आचार्यले मेचीनगरवासीकातर्फबाट नेपाल र बेलायत तथा नेपाली र बेलायती जनताबीचको भगिनी सम्बन्धलाई अझ मजवुत बनाउन युकेका उच्च पदस्थ अधिकारीहरुलाई मेचीनगर भ्रमणको औपचारिक निमन्त्रणा गरेका छन् ।

बेलायतको फोक्सटन सिटी र मेचीनगर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका बारेमा ब्यापक छलफल भएको र फोक्सटन सिटीका मेयर सहितका पदाधिकारी समेत नेपाल भ्रमणमा आए पछि भगिनी सम्बन्ध स्थापनाको सम्झौता पत्रमा हस्ताक्षर हुने पूर्व काउन्सिलर धनकिरण गुरुङले टेलिफोन मार्फत जानकारी दिए । प्रमुख आचार्यले बेलायत भ्रमणका क्रममा नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई सफल बनाउने बिषयमा समेत छलफल गरेका थिए । बेलायतमा रहेको नेपाली दुताबासले गरेको कार्यक्रममा पुर्व राजदुत भेषबहादुर थापासमेतको उपस्थिती थियो ।

आगामी फेव्रुवरीमा बेलायती प्रतिनिधि मण्डलले मेचीनगरको भ्रमण गर्ने मिति तय भएको छ । प्रमुख दम्पतिलाई बेलायतको फोक्सटन सिटीमा सरकारी अधिकारीकातर्फबाट स्वागत तथा सम्मान समेत गरिएको थियो । फोक्सटन सिटीका मेयर जे के मिडले स्वागत तथा सम्मान गरेका थिए ।

प्रमुख आचार्यले असोज १६ देखि असोज १९ गतेसम्म बिभिन्न औपचारिक कार्यक्रममा सहभागी भएर मेचीनगर र बेलायतको फोक्सटन सिटी सहित त्यस क्षेत्रका अन्य शहरहरुसंग द्विपक्षिय सम्बन्ध स्थापित गर्ने बिषयमा छलफल गर्नुभएको पूर्व काउन्सिलर धनकिरण गुरुङले जानकारी दिए । नगर प्रमुख आचार्य दम्पतिले बेलायतस्थित शहीद पार्कमा पुगेर शहीदप्रति श्रद्घा सुमन अर्पण गरेका थिए । जहाँ नगर प्रमुख आचार्यको सम्मानमा वेलायती सैनिकले बाजागाजासहित झाँकी प्रस्तुत गरेको थियो ।

झापाप्रति गुरुङको मोह

झापा मेचीनगर ६ काँकरभिट्टा निवासी पूर्व काउन्सिलर धन करिणले केही महिनाअघि काँकरभिट्टा माविका लागि २८ लाख रुपैयाँ मुल्य बराबरका ३१ थान डेक्सटप कम्प्युटर प्रदान मात्र गरेनन् २ वर्ष सम्म प्राविधिक सहयोग उपलब्ध गराउने समेत घोषणा गरे । आफ्ना दिवंगत बाबु आमाको स्मृतिमा अम्वर—भक्ति कम्प्युरटर प्रविधि शिक्षालयको समेत उनले नामाकरण गरे ।

उनले नेपालको शिक्षाक्षेत्रमा निक्कै योगदान पुर्याएका छन् । झापाका पूर्वाेत्तर तथा दक्षिणीक्षेत्रमा प्रायः विद्यालयमा उनको भवन निर्माण, घेरावार, शौचालय निर्माण्मा निक्कै ठुलो योगदान छ । उनै पुर्व काउन्सिलर गुरुङको सक्रियता तथा द गोर्खा मेमोरियल फाउण्डेशन नेपालको पहलमा भारतीय राजदुताबास मार्फत प्राप्त टाटा कम्पनिको सुमो एम्बुलेन्स मेचीनगर नगरपालिकालाई विहीबार हस्तान्तरण गरिएको छ । यस अघि पूर्व काउन्सिलर गुरुङ्गकै पहलमा औषधि र अन्य उद्दारका सामाग्री नगरपालिकालाई प्राप्त भएको थियो ।

उनले सुविधा सम्पन्न बारुणयन्त्र र एम्बुलेन्स नगरपालिकालाई उपलब्ध गराउन खोजे पनि विभिन्न कारणले आधा बाटैबाट फर्किएको थियो । सोहि अवसरमा बारुण यन्त्रमा प्रयोग हुने सामग्री पनि नगरपालिकालाई प्रदान गरिएको छ । कार्यक्रममा बोल्दैं पूर्व काउन्सिलर गुरुङ्गले सवैको साथ र सहयोग मिले यस नगरले आगामी दिनमा समेत यस्तैे सहयोगले निरन्तरता पाउने बताए । गुरुङले नेपाली समुदायलाई बेलायती समुदायसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दैं उनलाई ‘होम अफिस स्ट्रोङ्ग ब्रिज’ सम्मान प्रदान गरिएको छ । बेलायतको केन्टमा आयोजित एक विशेष कार्यक्रममा होम अफिस युके तथा युरोपका क्षेत्रीय निर्देशक पल मोर्गानको बाहुलीबाट गुरुङले सम्मान पत्र प्राप्त गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *