Sajhamanch Archive

फेसबुक ह्याक गरेर रकम असुल्ने सक्रिय :प्रहरी भन्छ कारबाही प्रक्रिया झण्झटिलो छ 

Published: (Updated: ) in समाज by .

धनगढी।  फेसबुक र म्यासेन्जर ‘ह्याक’ गरेर रकम असुल्ने गिरोह सक्रिय हुन थालेको छ।

स्थानीय उसु प्रशिक्षक रतन खातीले अाफ्नो फेसबुक ह्याक गरी एक लाख रुपैयाँभन्दा बढीको रिचार्ज कार्ड मागेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका छन्। ।

‘मलाई थाहा नै छैन, मेरो फेसबुकबाट कसैले एकहजार दुई हजार र पाँच हजारका रिचार्ज कार्ड माग्दो रहेछ’,खातीले भने, ‘एकजना साथीले रिचार्जको पैसा मागेपछि थाहा पाएँ।’ केही दिन अघि व्यवसायी श्याम बिष्टको फेसबुक ह्याक गरी रिचार्ज कार्ड माग्ने गरेको घटना बाहिरिएको थियो।

जिल्ला प्रहरी कार्यालयमा यस्ता घटनाका उजुरीहरु बढ्न थालेका छन्। आवश्यक उपकरण नहुँदा यसको समाधान हुन सकेको छैन।

यो आर्थिक वर्षमा मात्रै फेसबुक ह्याक गरी ठगेको भन्दै ४ वटा, चिठ्ठा पर्‍यो भन्दै रकम लिएको ६ वटा र फेसबुकको ‘फेक आईडी’ बनाएर दुरुपयोग गरेको भन्दै १८ वटा उजुरी परेका छन्। आवश्यक उपकरण र संयन्त्र अभावमा कुनै पनि उजुरीको सुनुवाइ हुन सकेको छैन।

विद्युतीय अपराधसम्बन्धी मुद्दा प्रहरी प्रधान कार्यालयले नै हेर्न गरेकाले जिल्लामा परेका उजुरीहरुमाथिको छानबिनमा समस्या परेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए।

‘हामीसँग उपकरण र संयन्त्र छैन, आएका उजुरी काठमाडौं पठाउछौँ,’उनले भने। प्रदेश संरचना अनुसार विद्युतीय अपराध शाखा आवश्यक रहेको उनले बताए।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *