Sajhamanch Archive

देव विकास बैंकको १८ करोड हिनामिना प्रकरण: सञ्चालकसहित ५६ जनाविरुद्ध मुद्दा दर्ता

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

दाङ । देव विकास बैंकको १८ करोड तीन लाख ६२ हजार ८१८ रुपैयाँ हिनामिना प्रकरणमा तत्कालीन सञ्चालक समितिका पदाधिकारीसहित ५६ जनाविरूद्ध मुद्दा दर्ता भएको छ ।

आइतबार तुलसीपुरस्थित उच्च अदालतको वाणिज्य इजलासमा देव विकास बैंकको १८ करोड बढी रकम हिनामिना प्रकरणमा तत्कालीन सञ्चालक खड्गबहादुर बुढाथोकीसहित ५६ जनाकाविरूद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता गरिएको हो ।

आइतबार सरकारी वकिल कार्यालयले सञ्चालक बुढाथोकीसहित ६ जना बैंक सञ्चालक, एक जना अडिटर, सिइओसहित ६ जना कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना समेत गरी ५६ जनाविरूद्ध मुद्दा दर्ता गरेको अदालतका रजिष्ट्रार तथा सूचना अधिकारी प्रेम खड्काले जानकारी दिएका छन् । तीमध्ये पक्राउ परेका १३ जना प्रतिवादीलाई आइतबार अभियोगपत्रसहित अदालतमा पेश गरिएको छ ।

बैंकका शाखा प्रबन्धक समिर बुढाथोकी, बरिष्ठ प्रबन्धक अनिलकुमार न्यौपाने, खातावालाहरू वसन्तबहादुर बस्नेत, झगबहादुर डिसी, बन्दना गुप्ता, वीरेन्द्रकुमार गुप्ता, विजयकुमार गुप्ता, अर्जुन बस्नेत, मतकुमार पौडेल, सक्टुराम गुप्ता, वसन्त बुढाथोकी, कर्मचारीतर्फ पोषणप्रसाद जैसी र अर्चना थापा खत्री रहेका छन् ।

प्रतिवादीहरूको बयान आइतबारदेखि नै शुरू भएको छ । देव विकास बैंकका सिइओ विजयबहादुर श्रेष्ठको जाहेरीका आधारमा गत भदौ ३ गते नै शाखा प्रबन्धक बुढाथोकी पक्राउ परेका थिए ।

बुढाथोकीको बयानका आधारमा वरिष्ठ प्रबन्धक न्यौपाने, अन्य कर्मचारी र खातावालालाई समेत प्रहरीले विभिन्न समयमा पक्राउ गरेको हो । बैंक सञ्चालकहरू र सिइओ भने फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराईले जानकारी दिएका छन् ।

सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा पेश गरेको अभियोग पत्रमा एउटै व्यक्तिले पाँच करोडसम्म रकम हिनामिना गरेको उल्लेख छ ।

सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्दामा दोब्बर बिगो माग दाबी गरिएको छ । १८ करोड ३ लाख ७२ हजारको दोब्बर बिगो (३६ करोड बढी) हुन आउँछ । ५६ जना सबैलाई एउटै बिगो बमोजिम जरिवाना र कैद माग गरिएको छ। बैकिङ कसुर मुद्दामा बिगो बमोजिम जरिवानासहित दुई वर्षदेखि ६ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *