Sajhamanch Archive

दक्षिण झापाका बासिन्दा धान पाकेसँगै जंगली हात्तीबाट आतंकित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । वर्षभरी खाने र परिवार पाल्ने आधारका रूपमा रहेको धान खेतीका आधारमा जीवन चलाउने झापाका कृषक केही वर्षयता धान बाली हात्तीको चरण बन्न थालेपछि चिन्तामा परेका छन् ।

पूर्वी दक्षिणी झापाका किसान धान पाक्ने समयमा खेतभरी हात्तीका बथान पस्न थालेपछि धान जोगाउन सकिने हो या होइन भनेर चिन्ता पाल्न बाध्य भएका हुन् । वर्षेनी जङ्गली हात्तीले झापा उर्वर खेती योग्य स्थानमा जनधनको ठूलो क्षति पुर्याउँदै आएको छ । हात्ती उपद्रो नियन्त्रणका लागि सरकारी तवरबाट दीर्घकालीन ठोस योजना सहित नीति तथा कार्यक्रम नबनाइदा आएको बजेट उपलब्धिमूलक खर्च हुन सकेको छैन ।
निर्वाचनताका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले हात्ती समस्या हल गर्न ९ करोडको जैविक मार्ग योजना स्वीकृत गरेको थियो । योजना स्वीकृत भएको दुई वर्ष पूरा भए पनि प्रकृति संरक्षण कोष मार्फत काम गरिरहेको जैविक मार्ग बनेको वा काम भइरहेको स्थानीय नागरिकले अनुभव गर्न पाएका छैनन् ।

विभिन्न गोष्ठी तथा सेमिनारमा मात्र एक करोढ बढी खर्च गरिसकेको जैविक मार्ग निर्माण आयोजनाले हात्ती उपद्रो घटाउने काम गर्न नसकेको प्रति पीडित स्थानीय भने जनप्रतिनिधिकै लाचारपनले उत्पीडन सहनुपरेको भन्दै आक्रोसित बन्न थालेका छन् । नागरिकका समस्या हल गर्नभन्दा आश्वाशनका भारी वर्षाउन तल्लीन जनप्रतिनिधि हात्ती नियन्त्रणका लागि बन्ने भनिएको जैविक मार्गको अलमलप्रति बेखवर रहेकोमा पीडित आक्रोसित बन्न बाध्य भएका हुन् । हात्ती उपद्रो नरोकिँदा झापामा ४० जना मानिस र ११ वटा हात्तीले ज्यान गुमाइ सकेको अवस्था छ ।

पूर्वी दक्षिणी पश्चिम झापाको समस्या बनेको हात्ती आतङ्क नियन्त्रण गर्न जैविक मार्ग निर्माण तथा विद्युतीय तारबार बनाउने योजना सहित ८ करोड ९० लाख रुपैयाको कार्योजना आर्थिक वर्ष २०७३÷०७४ मा साविकको वन कार्यालय झापा मार्फत तयार भएको थियो । जसमा चारआलीदेखि जलथलसम्म हात्ती हिड्ने जैविक मार्ग देउनिया खोलाको आडबाट बन्ने छ भने सो मार्गको पूर्वी र पश्चिम क्षेत्रमा सौर्य उर्जाको विद्युतीय तारवार निर्माण हुने छ । ९ किलोमिटर जैविक मार्गका रुपमा रहने चारआली जलथल वन क्षेत्रलाई जोड्ने ७५ किलो मिटर तार बारको घेराबारा रहने छ ।

चौतर्फी घेराबाराको तारबार र जैविक मार्ग हात्ती नियन्त्रणको दीर्घकालिन समाधान हुने कार्य योजनाको लक्ष्य रहेको थियो । यो योजना कार्यान्वयनमा आए हात्ती प्रभावित क्षेत्रका स्थानीय जनता जैविक कृषि तथा इको टुरिजमको प्रबन्ध निर्माण भई स्वरोजगार बन्ने छन् । आय आर्जनको बाटो बलियो भएपछि रोजगारीका लागि बिदेसिनु पर्ने बाध्यता हट्ने छ । यस क्षेत्रमा होम स्टे, हात्ती रिर्सोट र प्राकृतिक चिडियाघर जनताका लागि आय आर्जनको स्रोत बन्ने छन् । तर, १८ महिनामा सम्पन्न हुने भनिएको जैविक मार्ग निर्माणको काम सुस्त हुँदै गएपछि  स्थानीयको समस्या र त्रासका दिन घट्ने संभावना देखिएको छैन ।

भारतको आसाम राज्यबाट काँकरभिट्टा स्थित मेची नदी किनारा हुँदै स सना झुण्डका रूपमा नेपाल छिरेका १३ वटा हात्तीको झुण्डले झापाको ज्यामिरगढी, दुवागढी, चन्द्रगढी, गरामनी, हल्दिवारी जलथल, पृथ्वीनगर, बालुवाडी, केचना पथरिया घेरावारी लगायत स्थानमा बढी क्षति गर्ने गरेको स्थानीयको गुनासो रहेको छ । वि सं २०४१ साल यता झापाको प्रमुख समस्याका रूपमा रहेको हात्ती मानव द्वन्द्व नियन्त्रणको पटक पटक गरिएको प्रयास अहिलेसम्म सफल नहुँदा मान्छे र हात्ती मारिने क्रम रोकिन सकेको छैन । तीन दशकसम्म उत्तरी झापाको प्रमुख समस्याका रूपमा रहेको हात्ती आतङ्क पछिल्ला पाँच वर्षयता दक्षिण, पश्चिम झापाको समस्या बनेर ज्यान लिने खेल भइ रहेको छ । मानव हात्ती द्वन्द्वको तथ्याङ्क हेर्ने हो भने झापामा औपचारिक तथ्य रहेको विवरण आर्थिक वर्ष २०६७÷०६८ देखि २०७५÷०७६ सम्ममा ४० जना झापालीले हात्तीका कारण झापामा ज्यान गुमाई सकेका छन् भने ११ वटा हात्ती पनि मान्छेका कारण मरेका छन् ।

आर्थिक वर्ष २०७०÷०७१ सम्म उत्तरी झापाको बाहुण्डाँगीका नागरिक नै ज्यान गुमाउनेमा धेरै पर्थे भने आर्थिक वर्ष २०७२÷०७३ यता भद्रपुर नगर हात्ती आतङ्कको केन्द्रका रूपमा बढ्दै गइ रहेको छ । यसको प्रमुख कारण बाहुण्डाँगीमा निर्माण भएको विद्युतीय तारबार नै भएको स्थानीयको बुझाइ छ ।  भारतको आसामबाट वंगाल हुँदै नेपाल प्रवेश गर्ने हात्तीहरुको बथान बाहुण्डाँगी नाकाबाट नेपाल प्रवेश गरी खेती बाली पाक्ने समयमा ठूलो क्षति गर्ने गर्थे तर तारबार लगाएपछि भारतीय हात्तीको ठूलो समूह नेपाल प्रवेश गर्न सकेको छैन । साना साना झुण्ड बनाएर काँकरभिट्टा नाकाको  मेची नदी किनारबाट दक्षिण पूर्वी ज्यामिरगढी हुँदै दुवागढी चन्द्रगढी वन क्षेत्र चारआली जंगलमा आश्रय बनाएका हात्तीहरूको एकतृत झुण्डले झापाका साविक गाविसहरू दुवागढी, चन्द्रगढी, गरामनी, हल्दिवारी, जलथल, पृथ्वीनगर, बालुवाडी, बनियानी, घेरावारी, राजगढ, शरणामती कुमरखोद क्षेत्रमा ४ वर्षयता आतङ्क मच्चाइ रहेका छन् । मकै र धान पाक्ने समयमा हात्तीको झुण्डले बाली खाने, नष्ट गर्ने समस्या देखिएको छ भने अन्य सुख्खा समयमा घरमा राखिएको अन्न तथा खाद्यान्न खाइ दिने, घर टहरा भत्काइ दिने प्रतिकार गर्न खोजे मानिसमाथि नै आक्रमण गरी अंगभंग पार्ने, ज्यानै लिनेसम्मका घटना भद्रपुर दक्षिण पश्चिम क्षेत्रमा बढ्दै गइ रहेको हो ।

यस क्षेत्रमा एउटा मत्त भाले हात्ती सहित दुई झुण्डमा १३ वटाको संख्यामा हात्ती रहेको स्थानीय बताउने गर्छन् । बिगार गर्ने काममा बच्चा भएको पोथी हात्ती बढी सकृय देखिन्छ भने ज्यान लिनेमा मत्त भाले अगाडि रहेको छ । यस क्षेत्रमा रहेका यी १३ वटा हात्ती यहीँका रैथाने भएका छन् । भने अन्न बाली पाक्ने समयमा अन्य आगन्तुक हात्तीहरुको प्रवेश हुने हुँदा झापाका बाहुण्डाँगी, बुधबारे, शान्तिनगर, खुदुनावारी, सुरुङ्गा, सतासीधाम, दमक लगायत मोरङका उत्तरी क्षेत्रमा पनि हात्तीले कुनै न कुनै रूपमा क्षति गर्ने क्रम रोकिएको छैन । हात्ती समस्या समाधान सहज विषय नभएको विभिन्न प्रयासको असफलताले पुष्टि गर्दछ । उत्तरी झापाको बाहुण्डाँगीमा ३० वर्षसम्म प्रमुख समस्याका रूपमा रहेको जंगली हात्ती पूर्ण रूपमा नियन्त्रण हुन नसके पनि ९५ प्रतिशत नियन्त्रण भएको स्थानीय बताउँछन् । एक करोड २० लाख लगानीमा लगाइएको सौर्य उर्जा सहितको विद्युतीय तारबारले बाहुण्डाँगीमा मानव हात्ती द्वन्द्व ज्यानमारा खेल पूर्ण अन्त्य नभए पनि न्यून हुँदा समाधानको बाटातिर लागेको छ । तारबारका बीच बीचमा प्रवेश गेट पनि छन् । ती गेटहरू रातको समयमा बन्द गर्ने र दिउँसो खोल्ने गरी स्वयमसेवक कामदार खटाइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । विभिन्न दबावका कारण कहिलेकाँही रातमा  प्रवेश गेट बन्द गर्न स्वयमसेवकहरू असफल हुँदा त्यही मौकामा हात्ती बाहुण्डाँगी क्षेत्रबाट नेपाल प्रवेश गर्ने वातावरण बन्ने गरेको वन कर्मचारीहरु नै स्वीकार गर्छन् । विशेष गरी सुख्खा समयमा वारपार व्यापार गर्ने व्यापारिक समूह र भारतीय प्रशासनको मिलीभगतमा तारबारका प्रवेशद्वारहरू राती खोलिने गर्दा भारतीय पक्षले हात्ती नेपालतिर धपाइ दिने गरेको स्थानीयको आरोप छ ।

हात्तीको बासस्थानका लागि चारकोशे झाडीको सवै भन्दा ठूलो अवशेषका रूपमा रहेको दक्षिणी झापाको जलथल जंगल रोजाइमा पर्ने गरेको छ । यो जंगल तराइको उष्ण प्रदेशीय हावा पानी भएको सदावाहार  जंगल भएकाले यस जंगलमा हात्ती रमाएर बस्ने गरेका छन् ।  यही जंगलको आडमा बस्ने जंगली हात्तीले आसपासका क्षेत्रमा जन धनको क्षति गर्ने क्रम बढेसँगै भद्रपुर नगरका १, २, ९ र १० नम्वर वडामा हात्ती आतङ्क फैलदैं जाँदा स्थानीय जनतामा त्रास बढ्दो छ । रातको समय हात्ती गाउँ पस्ने अन्नबाली नोक्सान गर्ने, घर टहरामा आक्रमण गर्ने क्रम बढेसँगै भोक निन्द्रा बिर्सिएर नागरिक जाग्राम बस्न बाध्य छन् ।

वन्य जन्तु क्षतिपूर्ति नियमावली अनुसार झापामा जंगली हात्तीले ज्यान लिएका परिवार, अंगभंग भएका पीडित तथा बालीनाली नष्ट, घर गोठ क्षति वापत डिभिज वन कार्यालय झापामार्फत पीडितलाई राहत वितरण हुने गरेको छ  । वन कार्यालयको ५ वर्षे विवरण अनुसार हात्तीको कारण बढी क्षति हुने स्थानहरूमा साविकका दुवागढी, चन्द्रगढी, गरामनी, पृथ्वीनगर, जलथल, बालुबाडी, घेरावारी शान्तिनगर, बुधबारे, बाहुण्डाँगी, खुदुनावारी लगायतका स्थाहरू रहने गरेको पाइएको छ । पछिल्लो आर्थिक वर्षको क्षतिपूर्ति  विवरण हेर्दा पूर्वी दक्षिणी झापा सदरमुकाम  भद्रपुर नगर दक्षिण क्षेत्र बढी प्रताडित देखिएको  छ । संकलित क्षति विवरणले हात्तीको समस्या सदरमुकाम भद्रपुर दक्षिण क्षेत्रमा वार्षिक स्वरूपमा बढ्दो छ । करोडौं क्षतिपूर्ति तिरिसकेको नेपाल सरकारले दीर्घकालिन समाधानका लागि झापामा समस्याका रूपमा रहेको हात्ती नियन्त्रणलाई आय आर्जनको श्रोतका रूपमा जोड्न सक्नु नै उत्तम विकल्प हुने सहायक वन अधिकृत देवेन्द्र उप्रेतीको सुझाव छ । यसका लागि जैविक मार्ग सहितको प्राकृतिक चिडियाघरका रूपमा उत्तर दक्षिण झापाको वन क्षेत्र जोड्न सक्नु पर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *