Sajhamanch Archive

निरंकुशता लाद्न खोज्यो : डा. केसी

Published: in राष्ट्रिय समाचार by .

जुम्ला ।  चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका अभियन्ता डा.गोविन्द केसीले सरकारले विगतका सम्झौता तोडेर निरंकुशता लाद्न खोजेको आरोप लगाएका छन् ।

लामो संघर्ष र सत्याग्रहपछि अघिल्लो सरकारले स्वास्थ्य शिक्षालाई गुणस्तरीय बनाउन सम्झौता गरे पनि त्यसलाई लत्याएर वर्तमान सरकार अघि बढ्न खोजेको उनको भनाइ छ ।

उनले सरकारले निजी क्षेत्रलाई मेडिकल कलेज खोल्न दिने गरी विधेयक ल्याएर मेडिकल माफियालाई हावी बनाउन खोजेको टिप्पणी गरे । ‘जबसम्म पुरानो सम्झौताअनुसार विधेयक ल्याइँदैन, तबसम्म आमरण अनशन जारी रहन्छ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा गत शनिबार अनशन सुरु गरेका डा.केसी अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा अनशनरत छन् ।

उनको त्यहीं नै उपचार भइरहेको छ । अनशनको सातौं दिन उनको स्वास्थ्य स्थिर नै रहेको उपचारमा संलग्न चिकित्सक डा.प्रवीण गिरीले बताए ।चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकलाई सरकारले शुक्रबार संसद्मा लैजाने सुनेपछि बिहानै आयोजित पत्रकार सम्मेलनमा केसीले यस्तो बताएका हुन् ।

‘डा.केसीलाई हामीले सामान्य सलाइन पानी मात्रै दिएका छौं, ग्लुकोजसमेत लिन मानेका छैनन्,’ उनले भने, ‘कभर्डहलमा भन्दा अस्पतालमा अहिले उनी सुरक्षित छन् ।’ प्रतिष्ठानमा अनशन बस्न जाँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो । हिरासतमै अनशन बसेपछि जिल्ला खेलकुदको कभर्डहलमा सारिएको थियो ।

कालोपट्टी बाँधेर काममा
चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका विभिन्न मागसहित १५ औं अनशनमा रहेका डा.केसीको जीवनरक्षाको माग गर्दै आन्दोलित प्रतिष्ठानका चिकित्सकहरू कालोपट्टी बाँधेर काममा फर्किएका छन् ।

केसीलाई प्रहरीले कैदीबन्दीसरह फोहोर कभर्डहलमा राखेकाले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने माग राख्दै चिकित्सकहरू मंगलबारदेखि कर्णालीका सबै स्वास्थ्य संस्था ठप्प गरेर आन्दोलनमा उत्रिएका थिए ।

केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदासम्म सरकारले कुनै कदम नचालेपछि नेपाल चिकित्सक संघ कर्णाली शाखा आबद्ध चिकित्सकहरूले प्रहरीको घेरा तोड्दै अस्पतालसम्म पुर्‍याएका थिए ।

स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन
स्थानीय बासिन्दाले डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै खलंगामा दीप प्रज्वलन गरेका छन् । सरकारले डा.केसीका माग बेवास्ता गरे कडाभन्दा कडा आन्दोलनमा उत्रिने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।

यसैबीच, केसीको समर्थनमा जुम्ली महिलाहरूले खलंगामा प्रदर्शन गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक घण्टा धर्ना दिएका छन् । उनीहरूले डा.केसीलाई भेटेर उनको आन्दोलनमा आफ्नो साथ रहेको पनि बताएका थिए ।

-कान्तिपुर समाचार बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *