Sajhamanch Archive

प्रधानमन्त्रीको हावा भरिएको बेलुन सियोले घोचेर फुटाउछौँ : डा.केसी समर्थक

Published: (Updated: ) in समाज by .

काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंका आयोजित र्‍यालीका सहभागीले सरकार स्वेच्छाचारी हुँदै गएको आरोप लगाएका छन् ।

 चिकित्सक, विवेकशील साझा, नागरिक समाज, अधिकारकर्मीलगायतले काठमाडौंको माइतीघर मण्डलाबाट निकालेको र्‍यालीमा सहभागीले सरकारले नागरिकको आवाज थुन्न खोजेको आरोप लगाउँदै डा.केसीको जीवन रक्षा गर्न नचाहेको आरोपसमेत लगाए ।

“दुरदराजका गरिब जनताले निशुल्क उपचार पाउनुपर्छ भन्दै समाजबादको पक्षमा डा. केसीले वकालत गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली १७ करोड रुपैयाँ खर्च गरेर उपचार गर्न बैंकक् गैरहेका बेला एयरपोर्टबाट खिसिट्युरी गर्न सुहाउँछ,” र्‍यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दैै अधिवक्ता ओम प्रकाश अर्यालले भने, “डा. केसीको हाजिर मगाइरहेका छन् ।

डा. केसीलाई मरे पनि मरोस् भन्ने व्यक्तिलाई संरक्षण दिइरहेका छन् । उनले डा. केसीलाई साँचो अर्थमा मार्न खोजेका हुन् । डा. केसी र गंगामायालाई अनसनमै मरोस् भन्न खोजेका हुन् ।”

आर्यालले भ्रष्ट ब्यापारीसँग मिलेर प्रधानमन्त्री ओेलीले राज्य कब्जा गर्न खोजेको आरोप लगाए । उनले नागरिकलाई बोल्न पनि नदिने रणनीतिमा रहेको भन्दै प्रधानमन्त्री ओली साम्यबादी र समाजबादी नभएर फाँसिबादी भएको टिप्पणी समेत गरे ।

“गोपाल पराजुली पनि हावा भरिएको बेलुनजस्तै फुलेका थिए, उन्मत्त भएर रातीराती डा. केसीलाई पक्राउ गर्न लगाएका थिए,” अधिवक्ता अर्यालले भने, “प्रधानमन्त्री ओली पनि हावा भरिएको बेलुनजस्तै फुलेका छन् । ओलीको हावा भरिएको बेलुन सियोले घोचेर फुटाउने काम हामी गर्छौं ।” नागरिकको मौलिक अधिकार समेत सरकारले खोस्ने प्रयत्न गरेको उनको आरोप छ ।

जुम्लामा अनसनरत डा. केसीको मागमा ऐकबद्धता जनाउँदै शनिबार काठमाडौंमा र्‍याली निकालिएको हो ।

सहभागीले डा. केसीका माग पूरा गर, नागरिक स्वतन्त्रतामाथिको अथिक्रमण बन्द गर, ओली सरकारको मिसन सिटामोलमा कमिशन   लगायतका नारा लगाएका थिए ।

यसैबीच, नेपाल चिकित्सक संघले डा. केसीको मागमा समर्थन जनाउँदै देशभरका चिकित्सकहरुलाई हातमा कालोपट्टी बाँधेर ऐक्यवद्धता जनाउन आह्वान गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी संघले देशैभरका चिकित्सकहरुलाई हातमा कालोपट्टीमा बाँधेर सेवामा खटिन निर्देशन दिएकोे हो ।

संघले असार २४ गते आइतबार प्रधानमन्त्री, उपप्रधानमन्त्री, तथा स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र बुझाँउने र ७२ घण्टे अल्टिमेटम दिने तथा सम्वोधन नभए थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

 डा. केसी चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनसन बसेका छन् । उनको स्वास्थ्य दिनदिनै विग्रिँदै गएको चिकित्सकहरुले बताएका छन् ।

– बाह्रखरी बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *