सुत्केरीको रक्तश्राव रोक्न भन्दै पाठेघर फाल्दा मृत्यु, आफन्त आक्रोशित
Published: (Updated: )
by .विराटनगर । विराटनगरको विराट नर्सिङ होममा शल्यक्रिया गरेर पाठेघर फालिएकी सुत्केरीको मृत्यु भएपछि आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। सुनसरीको दुहवी नगरपालिका–८ रनी गाउँकी २० वर्षीया रमिला कार्की घिमिरेको बिहीबार साँझ ७ बजे मृत्यु भएको हो।
आफन्त र परिवारका सदस्यले भने चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गरी शव बुझ्न अस्वीकार गरेका हुन्। सुत्केरी व्यथाले च्यापेपछि रमिलालाई मंगलबार बिहान आफन्तले बूढीगंगा गाउँपालिकाको टंकीसिनवारीमा रहेको विराट टिचिङ अस्पतालमा भर्ना गरेका थिए।
दुई दिन अघिमात्रै उनलाई स्वास्थ्य परीक्षणका लागि त्यहीं ल्याइएको थियो। सामान्य अवस्थामै पहिलो सन्तानका रुपमा बिहान ८ बजे छोरा जन्माए पनि अत्याधिक रक्तश्राव भएपछि चिकित्सकले शल्यक्रिया गरेर पाठेघर फ्याक्न सुझाव दिएको रमिलाका श्रीमान भूपाल घिमिरेले बताए।
‘११ बजेसम्म रक्तश्राव नरोकिएपछि रक्तश्राव रोक्नका लागि चिकित्सकले नै पाठेघर फ्याल्नु पर्ने सुझाव दिएपछि हामी सहमत भयौं,’ भूपालले, ‘दिउँसो ३ बजे शल्यक्रिया सफल भएका कारण अहिले अवस्था सामान्य रहेको र होस चार घण्टापछि फर्किन्छ भनेर जानकारी दिइयो ।’
तर भोलिपल्टसम्म रमिलाको होस नफर्किएको भन्दै चिकित्सकले थप उपचारका लागि भनी परिवारका सदस्यको अनुमति बिनै बुधबार दिउँसो टिचिङ अस्पतालबाट विराट नर्सिङ होममा लिएर गएको भूपालको भनाइ छ। मान्छे बचाउनका लागि भएपनि आफूहरु पारिवारिक सल्लाह गरेर पाठेघर फ्याल्ने कुरामा सहमत भएको भूपालले बताए। ‘रक्तश्राव नरोकिए पनि बच्चा जन्माइसकेपछि जाउलो, जुस र दाल खाएकी सुत्केरी श्रीमती राम्ररी बोल्न सक्ने अवस्थामै थिइन्,’ उनले भने, ‘तर चिकित्सकले पाठेघर नफ्यालेसम्म रक्तश्राव रोकिंदैन भने ।’ जन्मिएको बच्चाको पनि मुटुको धड्कन ठीक नभएको भन्दै एनआईसीयूमा लगेर राखेको उनले बताए।
शल्यक्रियापछि अवस्था गम्भीर बनेकी आमालाई नर्सिङ होमको भेन्टिलेटरमा राखिएको थियो। उपचारकै क्रममा बिहीबार साँझ ७ बजे उनलाई चिकित्सकले मृत घोषणा गरे। उनले जन्माएको शिशुको पनि मृत्यु भइसकेको छ। ‘श्रीमतीले बिना शल्यक्रिया सामान्य अवस्थामै बच्चा जन्माइन्,’ भूपालले भने, ‘तर अहिले आमा र बच्चा दुवै रहेनन्।’
शल्यक्रिया सफल भएको र चार घण्टापछि होस आउँछ भनेर भनिएकी सुत्केरीको मृत्यु हुनुमा चिकित्सककै लापरबाही रहेको भूपालले आरोप लगाए। अस्पतालका सञ्चालक समेत रहेका डा. ज्ञानेन्द्रमान सिंह कार्की नेत्रृत्वको टोलीले शल्यक्रिया गरेर पाठेघर फ्यालिदिएको थियो।
सिकारु चिकित्सकलाई शल्यक्रिया गर्ने जिम्मा दिएका कारण आफूहरुले परिवारको सदस्य र भर्खर जन्मिएको शिशु गुमाउनु परेको रमिलाकी जेठानी सुनैना घिमिरेले बताइन्। उनकाअनुसार शल्यक्रियापछि रमिलालाई ११ पिन्ट रगत पनि चढाइएको थियो। ‘हामीले बिरामीको अवस्था सोध्दा चिकित्सकले रिसाउने र हप्काउने जस्ता नीच व्यवहार गरे,’ सुनैनाले भनिन्, ‘नरिसाउन आग्रह गर्दा तँजस्ता ५० जना त मेरोमा स्विपर छन् सम्म भने।’
सामान्य अवस्थामा बच्चा जन्माए पनि पाठेघर फ्याल्नलाई शल्यक्रिया गर्दा लापरबाहीभएको उनको भनाइ छ। मृतकका आफन्तले घटनाको सुरुदेखि नै छानबिन हुनुपर्ने माग राख्दै शव बुझ्न अस्वीकार गरेका छन्। गाडी रिजर्भ गरेर विराटनगर आएका आफन्तले अहिले अस्पताल बाहिर प्रदर्शन र नारावाजी गरिरहेका छन्। दोषी चिकित्सकलाई कारबाही नभएसम्म शव नउठाउने अडान लिएर गरिएको प्रदर्शन र नारावाजीका कारण अवस्था तनावपूर्ण बनेको छ।
मृतक पक्षले न्यायका निम्ति आफूहरु कानुनी लडाइँमा जाने पनि जानकारी दिए। मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले कुनै पनि अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी बताए।
शल्यक्रिया गर्ने डाक्टर ज्ञानेन्द्रमान सिंह कार्की भने आफूहरुले कुनै लापरबाही नगरेको दाबी गर्छन्। उनले अत्यधिक रक्तश्रावले कति असर ग¥यो भन्ने कुराको भेउ पाउन नसक्दा यस्तो अवस्था आएको हुनसक्ने बताए।
‘रक्तश्राव रोक्न सुत्केरीको पाठेघरलाई शल्यक्रियामार्फत बाहिर निकाल्ने र रगतका नशालाई बाँध्ने एउटै उपाय हामीसँग थियो,’ डा. कार्कीले भने, ‘मान्छे बचाउन पनि शल्यक्रिया गरेर पाठेघर फ्याल्नै पर्ने अवस्था आयो ।’
सुत्केरीको उपचारका लागि उपनाउनु पर्ने सबै विधि अपनाउँदा पनि केही नलागेपछि अन्तिम विकल्पका रुपमा शल्यक्रियालाई रोजिएको कार्कीको भनाइ छ।
‘धेरै प्रयास गरेर पाठेघर फ्यालेपछि रक्तश्राव चैं रोकियो,’ उनले भने, ‘तर सक्दो कोसीस गर्दा गर्दै सुत्केरीलाई बचाउन भने सकिएन ।’ एक हजार सुत्केरी मध्ये एक जनामा यस्तो समस्या आउन सक्ने डा. कार्कीको भनाइ छ।
सुत्केरीको मृत्यु भएपछि तनावग्रस्त बनेको विराट नर्सिङ होमको सुरक्षमा परिचालन गरिएका प्रहरी ।
Comments