५४ वर्षका भए शाहरुख, पहिलो कमाई थियो ५० रुपैयाँ
Published:
by .बलिउडका सर्वाधिक सफल अभिनेता शाहरुख खान शनिबारबाट ५४ वर्षका भएका छन् ।
भारतमा मात्र नभएर विश्वभर छरिएर रहेका करोडौं प्रशंसकबीच ‘बादशाह’ को रुपमा परिचित उनको जन्म २ नोभेम्बर १९६५ मा भारतको दिल्लीमा भएको थियो । सामान्य परिवारमा जन्मिएका उनले निकै ठूलो संघर्षपश्चात् बलिउडमा यो स्थान हासिल गरेका हुन् ।
एक समय उनका फिल्मले बक्सअफिसमा जबरजस्त व्यापार गर्थे । कयौं सम्झनलायक फिल्म दिएका उनका पछिल्ला फिल्मले भने सफलता हासिल गर्न सकेका छैनन् । उनी पछिल्लो पटक फिल्म ‘जीरो’ मा देखिएका थिए । यो फिल्म असफल भएको थियो । यसअघि पनि उनका दुई फिल्म ‘रइस’ र ‘जब ह्यारी मेट सेजल’ ले बक्सअफिसमा घाटाको व्यापार गरेका थिए ।
‘डर’, ‘बाजीगर’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘कभी हां कभी ना’, ‘करन अर्जुन’, ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’ ‘चक दे’, ‘चेन्नई एक्सप्रेस’ लगायत सय बढी फिल्ममा जीवन्त अभिनय गरेका शाहरुख खानले ‘जीरो’ पछि नयाँ फिल्म साइन गरेका छैनन् । उनी अब हतारमा फिल्म गर्ने सोचमा छैनन् । सम्भवतः केही दिनमा उनले नयाँ फिल्म घोषणा गर्न सक्नेछन् ।
५३औं बसन्त पार गरेर ५४औं वर्षमा प्रवेश गरेका बलिउडका ‘किंग खान’ लाई प्रशंसकहरुले जन्मदिनको शुभकामना दिइरहँदा हामी तपाईंलाई उनले हासिल गरेका केही महत्वपूर्ण सफलताको बारेमा जानकारी दिँदैछौं ।
१। शाहरुख भारतका सर्वाधिक तथा विश्वकै धनि कलाकार समेत हुन् । उनको सम्पत्ति ६०० मिलियन डलरभन्दा माथि छ ।
२। अभिताभ बच्चनपछि उनी एकमात्र त्यस्ता कलाकार हुन्, जसलाई फ्रान्सको ‘लिगियन अफ फ्रान्स अवार्ड’ मिलेको छ ।
३। उनले हालसम्म सर्वाधिक २९ पटक उत्कृष्ट नायकको अवार्ड जितिसकेका छन् ।
४। र्फोब्सको ‘मिडिल इस्ट’ विशेषको कभरपेजमा अटाउने उनी पहिलो भारतिय कलाकार हुन् ।
५। इन्टरपोलको ‘टर्न व्याक क्राइम’ नामक विश्वव्यापी अभियानका अन्तर्राष्ट्रिय दुत बन्ने शाहरुख पहिलो भारतिय कलाकार हुन् ।
६। उनी विश्वका एकमात्र त्यस्ता नायक हुन्, जसको फिल्म ‘दिलवाले दुल्हनिया ले जाएगें’ २० वर्षसम्म एकै सिनेमा घरमा लगातार चलेको थियो ।
७। ुरोमान्स किंगु को छविपछि एक्सन फिल्ममा देखिन थालेका उनका दुई फिल्म ‘चेन्नइ एक्सप्रेस’ र ‘ह्याप्पी न्यू इयर’ ले बक्सअफिसमा कमाईको नयाँ रेकर्ड बनाएका थिए ।
८। एक्लो मिहेनत र परिश्रमकै कारण पारिवारिक आर्शिवाद बिना यो उचाईमा पुग्ने उनी एकमात्र भारतीय कलाकार हुन् ।
९। फिल्म, क्रिकेट टिम, प्रोडक्सन कम्पनीको कारण मात्र नभई विज्ञापनबाट समेत उनको कमाई अत्याधिक छ । भारत तथा विश्वका धेरै टप ब्राण्डका लागि विज्ञापन खेलिसकेका उनी विज्ञापनबाटै सर्वाधिक आम्दानी गर्ने गर्छन ।
१०। शाहरुखको पहिलो कमाई ५० रुपैयाँ थियो । उनले पंकज उदासको कन्सर्टमा काम गरेर ५० रुपैयाँ कमाई गरेका थिए ।
Comments