Sajhamanch Archive

सतासी डिपार्टमेन्टले ग्राहकलाई बाँड्यो ६३ वटा उपहार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by .

बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्थाद्वारा सञ्चालित डिपार्टमेन्टल स्टोरले दशैं, तिहार एवम् छैठ पर्वको अवसरमा उपभोक्ता आकर्षणका लागि वितरित ग्राहक कुपनको आज लक्की ड्र गरी उपहार प्रदान गरेको छ ।  उपभोक्ताले १५ सय रुपैयाँको सामग्री खरिदमा एउटा कुपन पाउने र लक्की ड्रमार्फत् छानिएका ६३ जनाले विभिन्न उपहार प्राप्त गर्ने व्यवस्था मिलाएको संस्थाका सहप्रवन्धक चक्रबहादुर खत्रीले बताए ।

जसअन्तरगत प्रथम पुरस्कारस्वरुप ३२ इन्चको टिभी १ जनालाई र दोस्रो पुरस्कार १९० लिटरको रेफ्रिजरेटर १ जनालाई, तेस्रो पुरस्कार मोवाइल १ थान एक जनालाई र मिक्स्चर ग्राइण्डर एक थान १ जनालाई गरी ४ वटा मूल्यवान सामग्री संस्थाले पुरस्कारका रुपमा राखेको थियो । संस्थाले असोज १ गतेदेखि कात्तिक १६ गतेसम्म ६ हजार थान कुपन वितरण गरिएको पसल ब्यवस्थापन समितिका संयोजक पदम ओलीले जानकारी दिए ।

संस्थाले राखेको पुरस्कार बाहेक ५९ वटा विभिन्न सान्त्वना पुरस्कारहरु पसलमा बिक्री गर्न राखिएका सामग्रीका डिलरहरुमार्फत् प्राप्त भएको जनाइएको छ ।

संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा आयोजित लक्की ड्र कार्यक्रममा झापा जिल्ला सहकारी संघका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य महेन्द्रकुमार गिरी प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि, अतिथि, संस्थका सञ्चालकहरु, कर्मचारी एवम् उपभोक्ताहरुले कुपन निकालेर लक्की ड्रको परिणाम सार्वजनिक गरिएको थियो ।

लक्की ड्र कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि गिरीले नेपाल भ्रमण वर्ष २०२० लाई सन्दर्भ पारेर झापाका कम्तीमा १० वटा सहकारीका व्यवसायलाई नमूना योग्य एवम् अवलोकन योग्य बनाउनु पर्नेमा जोड दिएका थिए । सतासी बहुमुखीले पसल सञ्चालन गरेर मुलुकभरका सहकारीको ध्यान तानेकोमा प्रशंशा गर्दै गिरीले भ्रमण वर्षमा सहकारी पनि केन्द्रमा रहनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले सानै भए पनि उपहारको महत्व हुने सुझाउँदै सत्प्रतिशत लक्ष्य हासिल गरेकोमा बधाई दिए । बिर्तामोडमा सहकारी पसल सुरु गरेको सतासीले अन्य सहकारी पसल कै जस्तो पूँजी डुबाउँछ कि भन्ने शंकामा रहेका आम मानिसको सोचाइलाई गलत सावित गरिदिएको पनि उनको भनाई छ ।

सो अवसरमा झापा चेम्वर अफ कमर्शका संस्थापक अध्यक्ष तथा डिलर एशोसिएसनका सदस्य सन्तोष अग्रवालले सतासी डिपार्टमेन्टलले उचित मूल्यमा गुणस्तरीय बस्तुहरु बिक्री गरिरहेको भनाई राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *