प्राध्यापक निश्कासन प्रकरणः कनकाई क्याम्पस सुरुङ्गाको पठनपाठन ठप्प
Published:
by .कनकाई । झापाको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा १५ वर्षदेखि कार्यरत हरिप्रसाद तिम्सिनालाई बिना कारण क्याम्पसबाट निकालेको भन्दै विद्यार्थी र प्राध्यापकहरु आन्दोलित बनेका छन ।
प्राध्यापक संघका अध्यक्षसमेत रहेका तिम्सिनालाई क्याम्पस सञ्चालक समितिको वैठकमा नियमित ३ पटक अनुपस्थित भएको भन्दै निष्कासनको पत्र थमाइएको थियो । प्राध्यापक संघका अध्यक्ष क्याम्पस सञ्चालक समितिको पदेन सदस्य रहने व्यावस्था छ ।
यसैबीच, विनाकारण क्याम्पस सञ्चालक समितिले आफ्ना प्राध्यापकलाई निश्कासन गरेको भन्दै सो क्याम्पसका विद्यार्थीहरुले पठनपाठन रोकेर क्याम्पस प्रमुख विकास उप्रेतीको पुत्ला दहन लगायातका विरोधका कार्यक्रमलाई जारी राखेका छन् । प्राध्यापकहरु समेत आन्दोलित बन्दा त्यहाँ पठनपाठन ठप्प छ ।
अस्ति सोमबार आयोजित क्याम्पस प्रमुखको पुत्ला दहन कार्यक्रममा अनेरास्ववियु जिल्ला सहसचिव नविन राई, अखिल क्रान्तिकारीका जिल्ला नेता नविन राई, अनेरास्ववियु कनकाई क्याम्पस उपाध्यक्ष रविन गुप्ता, लिम्बुवान विद्यार्थी मञ्चका सञ्चमाया सुब्बा, विद्यार्थी नेता अनुप भण्डारी लगायातले क्याम्पस सञ्चालक समितिले राजनीतिक आस्था कै आधारमा श्रमजिवी प्राध्यापकलाई हटाएर द्वन्द्व सिर्जना गरेको आरोप लगाएका छन् ।
क्याम्पस सञ्चालक समितिले विद्यार्थीबाट लिएको शुल्कबाट विद्यार्थी ओसार्नका लागि यसैवर्ष २ वटा बस खरिद गरेको तथा स्ववियू भवनसमेत निर्माण गरेपछि क्याम्पस आर्थिक रुपमा कमजोर भएको क्यापस सञ्चालक समितिका एक सदस्यले दावी गरेका छन् । क्याम्पसमा करिव एक हजार विद्यार्थी अध्यानरत छन् ।
‘प्राध्यापक संघको अध्यक्ष भएकोले दसैँअघि कम्तीमा प्राध्यापकहरुले तलव पाउनुपर्यो भनेर मैले क्यापस प्रमुख विकास उप्रेतीसँग भनेको थिएँ र सोहीअनुसार ज्ञापनपत्र बुझाएको मात्रै के थिएँ, मलाई क्याम्पसबाटै हटाइएको पत्र पियनमार्फत पठाइयो’ तिम्सिना सुनाउँछन् ।
‘मैले क्याम्पसबाट पाउनुपर्ने बाँकी तलब तीन लाख रुपैयाँ थियो, सो पनि बैँकमा जम्मा गरिदिएको रहेछ’ तिम्सिना थप्छन् ‘दशैंमा सबैको तलब दिइएको होला भनेर बुझ्दा मेरैमात्र तलव बैँकमा पठाइएको रहेछ ।’
क्याम्पपसमा एक वर्षदेखि कर्मचारीले तलव नपाएको र दसैंमा पनि प्रत्येक कर्मचारीलाई थोरै मात्र दसैै खर्च बैँकमा हालिदिएको अर्का प्राध्यापक तीर्थराज खरेलले जानकारी दिएका छन् ।
क्याम्पस सञ्चालन समितिका सदस्य लालबहादुर भुजेलले प्राध्यापक तिम्सिनाले व्यावस्थापन समितिलाई असहयोग गरेकाले उनलाई क्याम्पसबाट निकालिएको र क्याम्पस सञ्चालक समितिले भनेको नमान्ने जो कोही प्राध्यापक र कर्मचारीले कार्वाहीको भागिदार हुने चेतावनी दिएका छन् । ‘जतिबेला क्याम्पसलाई आवश्यक पर्छ त्यसबेला मद्धत नगर्ने प्राध्यापक कर्मचारीको के काम ?’ भुजेलको जिकिर छ ।
प्राध्यापकले पाउने तलब अन्यत्र खर्च गर्दा तलब नपाइएकोले आफूहरुले तलब माग्नु जायज रहेको अर्का प्राध्यापक तुलसी कार्कीको भनाई छ । क्याम्पसमा प्राध्यापक र कर्मचारी गरी ५० जना कार्यरत छन ।
Comments