Sajhamanch Archive

शिवनगरका २३ एकल र १६ ज्येष्ठ नागरिक सम्मानित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, स्थानीय तह by .

बिर्तामोड । यहाँस्थित शिवनगर टोल विकास संस्थाले ज्येष्ठ नागरिक एवम् एकल महिलाहरुलाई सम्मान गरेर आज नयाँ अभ्यासको थालनी गरेको छ ।

बिर्तामोड नगरपालिका वडा नं. ४ मा गठित ३२ वटा टोल विकास संस्थामध्ये शिवनगरले रचनात्मक कामको थालनी गरेको वडाध्यक्ष कुलप्रसाद संग्रौलाको भनाई छ ।

संस्थाका अध्यक्ष छविलाल विश्वकर्माको अध्यक्षतामा गठित टोल विकास संस्थाले तिहारमा देउसी भैलो खेलेर सामाजिक सद्भावको थालनी गरेको थियो । आज आफ्नो टोलका १६ जना ज्येष्ठ नागरिक एवम् २३ जना एकल महिलाहरुलाई सम्मान गरेर अनुकरणीय काम गरेको हो ।

वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा आज बिहान आयोजित विशेष कार्यक्रममा देउसी भैलोमा नाचेर मनोरञ्जन दिलाउने तीनजना बालिकाहरु पनि पुरस्कृत भएका छन् ।

सो कार्यक्रममा देउसी भैलो खेलेर संकलित ६७ हजार २२ रुपैयाँ, चामल बिक्रीको ७६० रुपैयाँ र गत वचत ३३ हजार ३५० गरी एक लाख एक हजार १३२ रुपैयाँको आय विवरण अध्यक्ष विश्वकर्माले प्रस्तुत गरे । यस्तै, सम्पत्ती सामग्री खरिदसहित ७९ हजार ५०४ रुपैयाँ खर्च भई २१ हजार ६२८ रुपैयाँ बचत रहेको जनाइएको छ ।

कार्यक्रममा मन्तब्य राख्दै वडाध्यक्ष संग्रौलाले घरघरमा सरकारको अवधारणा अनुसार टोल विकास संस्था गठन गरिएको प्रष्ट पार्दै वडाका सबै टोलमा शुद्ध पिउने पानी वितरणका लागि धारा जडान गर्न वडा कार्यालय प्रतिवद्ध रहेको जनाए ।

सो अवसरमा बिर्तामोड नगरपालिका, नगर कार्यपालिकाका सदस्य सुरेन राजवंशीले आफ्नो मातृभाषामा टोल विकास संस्थाको औचित्य एवम् अधिकारका बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा पत्रकार गोपाल काफ्लेले बिर्तामोड नगरलाई अग्र्यानिक सागसब्जी उत्पादनको नगर बनाउन जनप्रतिनिधिहरुहरुले कम्पोष्ट मल बनाउन वडाबासीलाई तालिम र प्रविधिमा सहयोग गर्नुपर्ने सुझाव दिए ।

सो विशेष कार्यक्रममा कालिकानगर टोल विकास संस्थाका अध्यक्ष श्रीप्रसाद सिटौला, सिर्जना टोल विकास संस्थाका अध्यक्ष महेन्द्र पोखरेल, संस्थाका सल्लाहकार गोविन्द उप्रेती, उपाध्यक्ष जयप्रसाद राजवंशी लगायतले आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *