नवोदयको २१औं वार्षिक साधारणसभाः संघका पूर्व अध्यक्षसहित दर्जनौं सम्मानित
Published: (Updated: )
by .कमल । प्रदेशसभा सदस्य अर्जुन राईले सहकारी अभियानलाई नेपालको संविधानले पनि उच्च प्राथमिकता दिएर अर्थतन्त्रको एउटा खम्बा स्वीकार गरेकाले सहकारीका सञ्चालकले विशेष चनाखो भएर सदस्यलाई सेवा प्रवाह गर्नुपर्ने सुझाव दिएका छन् । नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड केरखाको आइतबार सम्पन्न २१औं वार्षिक साधारणसभाको प्रमुख अतिथि रहेको राईले यस्तो बताएका हुन् ।
‘सहकारीहरु खुलेका छन्, चलेका छन् तर कतिपय संस्थाहरुले गलत काम गरेकाले सहकारीलाई हेर्ने गलत नजिर नै बसिसकेकोले सिङ्गो सहकारी अभियान बचाउन र आफ्नो संस्थालाई राम्रो बनाउन सञ्चालकहरु विशेष चनाखो बन्नुपर्ने’ उनको भनाई थियो ।
नवोदयसहित कमल गाउँपालिकाका तीनवटा ठूला बहुमुखी सहकारीहरुले जमिन किनेर चाक्लाबन्दी गरी सामुहिक खेतीको अभ्यास थालेकोमा बधाई दिँदै सांसद राईले अब एउटा विषयको एउटामात्र संस्था बन्ने गरी एकीकरण प्रक्रियामा जान पनि सुझाव दिए ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले जिल्लाको कूल जनसंख्याको आधाजति सहकारीको सदस्य रहेको झापामा निजीक्षेत्रले भन्दा ठूलो वित्तीय कारोबार गरेको तथा रोजगारी पनि धेरैलाई प्रदान गरेको दावी गरे ।
सहकारीले आफ्ना सदस्यलाई कृषि क्षेत्रमा लाग्न प्रोत्साहित गर्नुपर्ने तथा संस्था एवम् सदस्यहरुले उत्पादन गरेका वस्तुको प्रशोधन र बजारीकरणमा सञ्चालकहरुले अहम् भूमिका निर्वाहा गर्नुपर्ने बताए ।
साधारणसभाको उद्घाटन समारोहमा सम्मानित व्यक्तिहरुको तर्फबाट झापा जिल्ला सहकारी संघका पूर्वअध्यक्ष तुलसीप्रसाद ढकालले आफूसहित दर्जनौंलाई नवोदयले सम्मान र पुरस्कार प्रदान गरेकोमा आभारसहित कृतज्ञता जनाए ।
उनले भने, ‘आफू जिल्ला सहकारी संघको नेतृत्वमा पुगेका बेला संघलाई आर्थिक बोझ भइरहेको पाएको र कृषि विकास बैंकको ऋण पनि लाखौं रहेकाले ऋणमुक्त गरी संघ सञ्चालन गर्न सफल भएको थिएँ ।’
लाखौं रुपैयाँ ऋणमा चलिरहेको संघलाई आफूहरुले जीवन्त राखेको तर काठमाडौं लगायतका अनेकन जिल्ला संघहरु आर्थिक अभावले नै बन्द गरिएको उनले स्मरण गरे ।
सो अवसरमा पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटा, लालिमा आवसीय माध्यामिक विद्यालयका संस्थापक प्रिन्सिपल गौरीमान फागो, कमल गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डम्बर निरौला, हेवनली पाथका केन्द्रीय उपाध्यक्ष रामप्रसाद राई, रेडक्रसकर्मी सिद्धान्त दाहालले आ–आफ्ना धारणा राखेका थिए ।
संस्थाका अध्यक्ष शरणकुमार पराजुलीको अध्यक्षतामा उपाध्यक्ष बलराम गजुरेलले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई पूर्वअध्यक्ष तथा सल्लाहकार संयोजक दिलिप चापागाईंले शाब्दिक स्वागत गरेका थिए ।
संस्थाको वित्तीय अवस्था
साधारणसभामा नवोदयको वित्तीय स्थिति तथा सामाजिक कार्यहरुसहित बजेट, नीति र कार्यक्रम समेटिएको वार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष पराजुलीले प्रस्तुत गरेका थिए । जसअनुसार गत असार मसान्तमा संस्थाको वासलात अंक ६३ करोड २४ लाख २२ हजार ५२६ पुर्याइएको छ ।
संस्थामा सहकारीतर्फ एक हजार ५९८ र लघुवित्ततर्फ ११ हजार ४४३ शेयर सदस्यहरु रहेको प्रतिवेदनमा जनाइएको छ । सो मितिमा संस्थाको शेयर पूँजी ९ करोड ८८ लाख ७२ हजार ३०० रुपैयाँ रहेको छ भने ५ करोड २५ लाख ५३ हजार ५२८ रुपैयाँ जगेडा कोष रहेको अध्यक्ष पराजुलीले अवगत गराए ।
यस्तै नवोदयले गत असार मसान्तमा ५७ करोड १३ लाख ७६ हजार ३८६ रुपैयाँ कर्जा लगानी गरेको छ भने सो मितिमा ३ करोड २८ लाख २२ हजार ८१६ रुपैयाँ खुद नाफा गरेको प्रतिवेदनमा उल्लेख छ ।
नवोदयले आफ्ना सदस्यहरु तथा तिनको परिवारमा आइपर्ने समस्याहरुमा पनि सहयोग तथा राहत प्रदान गरेर अभिभावकीय भूमिका निर्वाहा गरेको छ । सदस्य मृत्यु राहत, प्रसुती सुविधा, नवदुलही स्वागत, ज्येष्ठ नागरिक दशैं खर्च, दैवी विपत्तीमा राहतजस्ता थुप्रै विधामा सहयोग प्रदान गरिएको उल्लेख छ ।
सम्मन तथा पुरस्कार
साधारणसभाको उद्घाटन समारोहमा नवोदयले दर्जनौ सदस्य, कर्मचारी, सहकारी अभियन्ता तथा सञ्चार गृहलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
संस्थाले झापा जिल्ला सहकारी संघका पूर्व अध्यक्ष तुलसीप्रसाद ढकाललाई सहकारी अभियन्ता सम्मान गर्दै नगद १५ हजार रुपैयाँ प्रदान गरेको छ । यस्तै सामाजिक संस्था सम्मानतर्फ नेपाल रेडक्रस सोसाइटी दमक उपशाखालाई सम्मानपत्रसहित ६० हजार रुपैयाँ मूल्यको एकथान निकोन डिएसएलआर क्यामरा उपहार दिएको छ ।
साधारणसभामा संस्थाका पूर्व अध्यक्ष दिलिपकुमार चापागाईंलाई कदरपत्रसहित मायाको चिनो दिएर सम्मान गरिएको छ भने बिर्तामोडबाट प्रसारण हुने सूर्योदय टेलिभिजनले सहकारी प्रवद्र्धनमा उल्लेखनीय योगदान गरेको ठहर गरी नगद ५ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको छ ।
यस्तै, संस्थाका शेयर सदस्यका छोराछोरीमध्ये एसईई परीक्षामा उच्च ग्रेड प्राप्त गर्ने सामुदायिक विद्यालयतर्फका दुईजना छात्रछात्रा र संस्थागत विद्यालयतर्फका दुईजना छात्रछात्रालाई जनही नगद ३ हजार रुपैयाँसहित प्रशंशाापत्र प्रदान गरिएको छ ।
संस्थाले गत आर्थिक वर्षको समष्टिगत मूल्याङ्कन गरी उत्कृष्ठ शाखा, सेवा केन्द्र सम्मान तर्फ सुरुंगा सेवा केन्द्रलाई प्रशंसा पत्रसहित एक सेट डेक्सटप कम्प्यूटर प्रदान गरेको छ ।
यसैगरी, लक्ष्य अनुसारको कार्यसम्पादन गरेवापत प्रोत्साहन वापत १/१ महिनाको आधार तलबबाट सुरुंगा सेवा केन्द्रका प्रमुख उमेशचन्द्र पोखरेललाई प्रशंसा पत्र र २६ हजार ३५ रुपैयाँ तथा सोही सेवा केन्द्रका फिल्ड कर्मचारी रोहिता कार्की थापालाई प्रशंसा पत्रसहित १९ हजार ८७५ रुपैयाँले पुरस्कृत गरिएको छ ।
यो वर्ष उत्कृष्ट शाखा प्रमुख सम्मान तर्फ छविलाल पौडेललाई २५ सय रुपैयाँसहित प्रशंशापत्र र उत्कृष्ठ कर्मचारी सम्मान तर्फ प्रतिमा निरौला भट्टराई प्रशंसा पत्रसहित दुई हजार रुपैयाँ प्रदान गरियो ।
संस्थाले व्यवसायिक कारोबारको आधारमा उत्कृष्ट बचतकर्ता तर्फ ३ जनालाई, उत्कृष्ट कर्जा कारोबारीतर्फ ३ जनालाई र उत्कृष्ट शेयर सदस्य सम्मान एकजनालाई प्रदान गरेको छ ।
Comments