कुटनीतिक तरिकाले प्रधानमन्त्रीस्तरबाटै सीमा विवाद सुल्झाउन कांग्रेसको सुझाव
Published:
by .बिर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले दुई तिहाइ बहुमत प्राप्त कम्युनिष्ट सरकारले पार्टीकै संरक्षणमा चरम भ्रष्टाचार गरिरहेको आरोप लगाउँदै जनताको अपेक्षा अनुकूल काम गर्न नसकेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस झापाको आयोजनामा बिर्तामोडमा आज सम्पन्न जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले बालुवाटार जग्गा प्रकरण, सून तस्करी, बाइडवडी, एनसेल, फोरजी सेवा लगायतका ठूला–ठूला भ्रष्टाचार काण्डका आरोपीहरुलाई सरकारले नै संरक्षण गरिरहेको आरोप लगाउँदै पार्टीकै संरक्षणमा पैसा कमाएर आगामी चुनाव जित्ने रणनीतिमा नेकपा लागेको आरोप लगाएका हुन् ।
चुनावअघि राष्ट्रियताको नारा जोडतोडका साथ उठाउने प्रधानमन्त्री केपी ओली र उनी नेतृत्वको सरकार लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत क्षेत्रमा सीमा समस्या देखिँदा बालुवाटारमा लम्पसार परेको टिप्पणी गर्दै कांग्रेस नेताहरुले प्रधानमन्त्रीस्तरबाटै कुटनीतिक क्षमता प्रदर्शन गरेर समस्या समाधान गर्न ओली सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा नेतृत्वको सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरिरहेको आरोप लगाउँदै एकथोक बोलेर अर्कै काम गर्नेलाई हितोपदेशले दुरात्मा भनेको टिप्पणी गरे । निर्वाचन अघिको नारा र अहिलेको कार्यशैली हेर्दा कम्युनिष्ट नेतृत्वको सरकार दुरात्माकै बाटोमा हिडिरहेको उनको आरोप थियो ।
‘जनताले सडक, पर्यटन, ऊर्जाको विकास, नदीको तटबन्ध, रोजगारीजस्ता अवसर खोजेका छन्’ नेता पौडेलले भने ‘सरकार पानीजहाज, रेल, २ अर्ब लगानीमा भ्यूटावर निर्माण आदिको सपनामा अल्मलिएको छ ।’
एक फरक प्रसङ्गमा बोल्दै राजनीतिमा गुुट उपगुट स्वभाविक हुने तर गुटबन्दीको व्यवस्थापन नेतृत्वले गर्नुपर्ने सुझाव दिँदै नेता पौडेलले गुटबन्दी गर्ने नेताको मूल्याङ्कन कार्यकर्ताले गरेमा पार्टीभित्र अनुशासन सुध्रने जिकिर गरे ।
सो कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री आफैंले गणतन्त्र, संवैधानिक सर्वोच्चता, प्रेस स्वतन्त्रता स्वीकार नगरेको आरोप लगाउँदै नियन्त्रित लोकतन्त्रान्त्रिक शासन ब्यवस्थाका लागि संविधान विपरित ऐन कानून बनाइरहेको आरोप लगाए ।
‘चीनमा प्रजातन्त्र छैन, अप्रजातान्त्रिक मुलुकको कानून सिकाउन सरकारका प्रतिनिधि तथा पार्टी प्रतिनिधिलाई चीन पठाउने खतरनाक सम्झौता सरकारले गरेको छ’ डा. कोइरालाको भनाई छ ‘कुनै पनि मुलुकका कम्युनिष्ट शासकले लोकतन्त्र र संघीय शासन चाहँदैनन् ।’
भातृ संस्था र पार्टीको महाधिवेशन पश्चात मात्रै कांग्रेस सही बाटोमा आउने दावी गर्दै कोइरालाले भातृ संस्थाहरुको निर्धारित समयमा अधिवेशन र संस्थालाई चलायमान बनाउन पार्टी नेतृत्वको ध्यानाकर्षण पनि गराए ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति राम कट्टेलले र सञ्चालन तारावीर कटुवालले गरेका थिए । कार्यकर्ता प्रशिक्षणमा कांग्रेस नेताहरु धनराज गुरुङ, सरिता प्रसाईंलगायतले आफ्ना भनाई राखेका थिए ।
Comments