Sajhamanch Archive

चलेन ‘घामड शेरे’ को जादू

Published: (Updated: ) in टिप्स/जानकारी by .

करीब ७ वर्षअघिको ब्लकबस्टर फिल्म ‘लुट’ बाट नेपाली फिल्मको नक्सा नै परिवर्तन गरेका निर्देशक निश्चल बस्नेतले पहिलो पटक सोलो हिरोको रुपमा अभिनय गरेको फिल्म ‘घामड शेरे’ दोस्रो हप्तामा प्रदर्शनरत छ ।

फिल्ममा उनले आफ्नै श्रीमती स्वस्तिमा खड्कासँग रोमान्स गरेका छन् । लभस्टोरी जनराको फिल्ममा फिट मानिने हेमराज विसीले यो फिल्मको निर्देशन गरेका हुन् ।

‘घामड शेरे’ कात्तिक ८ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर, बलिउड फिल्म ‘हाउसफुल ४’ कारण मल्टीप्लेक्समा कम सोज पाएपछि निर्माण टिमले फिल्मको रिलिज दुई हप्ता पछाडि सार्‍यो । तर, रिलिज पोस्टपोन्ड हुनुअघि गीतसंगीत र ट्रेलरले फिल्मको जुन हाइप निर्माण गरेको थियो, त्यो दुई हप्ता पछाडि सर्दा ध्वस्त भयो । फेरि दोस्रो पटक फिल्मले हाइप बनाउन सकेन ।

फलतः रिलिज डेट पोस्टपोन्ड हुँदाको असर फिल्मको व्यापारमा परेको छ । घोषित मितिबाट दुई हप्ता पछाडि सर्दा फिल्मले मल्टीप्लेक्समा अपेक्षाकृत सोज त पायो, तर दर्शक भर्न सकेन । फिल्मले प्रदर्शनको एक हप्तामा करोडको आँकडा पनि छुन नसकेको जानकारी प्राप्त छ । बरु, ‘घामड शेरे’ भन्दा पाँचौ हप्तामा पनि फिल्म ‘छ माया छपक्कै’ को व्यापार राम्रो छ ।

निर्देशक टर्न अभिनेता बस्नेत र अभिनेत्री स्वस्तिमाको नामले फिल्मको व्यापारमा ठूलो फाइदा पुग्ने विश्वास निर्देशक विसीलाई थियो । यही भरोसामा उनले निश्चललाई २० लाख पारिश्रमिकमा फिल्म साइन गराएका थिए । तर, हलमा न निश्चल न त स्वस्तिमाकै क्रेज देखियो ।

फिल्मले बक्सअफिसमा आफ्नो जादू देखाउन नसक्नुको प्रमुख कारण कमजोर ‘वर्ड अफ माउथ’ हो । विदेशमा कमाएको पैसाले गाउँमा किनेको खेत खोलाले बगाएपछि खोलालाई नै मुद्धा हाल्ने ‘शेरे’ पात्रको कथामा फिल्म आधारित छ । फिल्मले उठाएको विषयवस्तु राम्रो भए पनि कथाभित्रको कथा अर्थात् पटकथा बलियो नहुँदा दर्शक २ घण्टा हलमै मोबाइल चलाउन बाध्य हुन्छन् ।

‘घामड शेरे’ ले हलमा घुँडा टेकेपछि निर्देशक विसीलाई अभिनेता अनमोल केसी नै फापेको चर्चा परिचर्चा सुरु भएको छ । ‘होस्टेल’ बाट अनमोलले नायक र हेमराजले निर्देशकको रुपमा डेब्यू गरेका थिए । यो फिल्म राम्रो चलेपछि दुईको सहकार्य ‘जेरी’ र ‘गाजलु’ मा भयो । यी दुई फिल्मले पनि नाफाको व्यापार गरे । तर, यसपछि हेमराज र अनमोलको सम्बन्ध विग्रियो ।

निर्देशक विसीले अनमोलबिना ‘घामड शेरे’ सहित ‘सम्बोधन’, ‘ग्यांगस्टार ब्लूज’ र ‘द ब्रेकअप’ गरि चार फिल्म बनाए । तर, कुनै चलेनन् । अनमोलसँग हिट फिल्ममा ह्याट्रिक गरेका निर्देशक विसीले अरु कलाकारसँग काम गर्दा सफलता पाउन सकेका छैनन् । उनी चाँडै अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्कालाई लिएर फिल्म बनाउँदैछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *