Sajhamanch Archive

मेची रङ्गशालामा जिल्लास्तरीय टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता हुने

Published: in खेलकुद by .

भद्रपुर। झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जिल्लास्तरीय टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता हुने भएको छ ।

भद्रपुर १० स्थित आदर्श क्रिकेट एकाडेमीले जिल्लामा छरिएर रहेका क्रिकेट खेलाडी उत्पादन गर्न सहयोग पुग्ने उद्देश्य राखेर यही मङ्सिर १८ गतेदेखि २४ गतेसम्म जिल्लास्तरीय टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता गर्न लागेका हुन । एकेडेमीले बिहीबार चन्द्रगढीको दैलो थकाली किचनमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएका थिए ।

प्रतियोगितामा बोस्टन क्रिकेट एकेडेमी बिर्तामोड, युनाइटेड क्रिकेट एकेडेमी बिर्तामोड, धुलाबारी क्रिकेट एकेडेमी मेचीनगर, मिलन क्रिकेट क्लब मेचीनगर, आदर्श क्रिकेट क्लब कचनकवल, मेची बहूमुखी क्याम्पस भद्रपुर, पैट्रियटिक क्रिकेट एकेडेमी दमक र आयोजक आदर्श क्रिकेट एकेडेमीसहित आठ वटा टिमको सहभागिता रहने एकेडेमीका अध्यक्ष तुलसी कार्कीले बताए ।

बाबा एजुकेसन कन्सल्टेन्सी काठमाडौँको मुख्य प्रायोजकमा रहेको प्रतियोगितामा विजेता र उपविजेता टिमलाई क्रमशः ३५ हजार र २० हजार नगदसहित ट्रफि पाउने छन् । प्रतियोगितामा म्यान अफ द सिरिजमा नगद ५ हजारसहित वेस्ट ब्याट्सम्यान, वेस्ट बलर, वेस्ट विकेट किपर र उदयमान खेलाडीलाई जनही २५ सय नगदसहित मेडल प्रदान गरिने उनको भनाई छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि २ लाख ८३ हजार ३ सय रुपैयाँ अनुमानित खर्च हुने जनाइएको छ । त्यस्तै सोही प्रतियोगितामै नगर स्तरीय विद्यालय स्तरीय टी– टेन लिग क्रिकेट प्रतियोगिता समेत आयोजना हुने भएको छ ।

नगरभरिका आठ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने भएको छ । भद्रपुर नगरपालिकाले खेल मैदान तयारीमा गरिदिने भएको छ, भने एकेडेमीका खेलाडीलाई स्थानीय काफ्ले युनिफमले निः शुल्क जर्सी उपलब्ध गराउने भएको छ ।

आदर्श सेवा समितिका अध्यक्ष हरि घिमिरेको अध्यक्षता तथा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन स्थानीय पूर्व खेलाडी अभिषेक ढुङ्गानाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *