Sajhamanch Archive

बैंकहरुको काम गराई देखेर मलाई लाज लाग्यो  : गभर्नर नेपाल

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकहरुको काम गराई देखेर आफूलाई लाज लागेको बताएका छन् ।

आज जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मर्जरपछिको उद्घाटन समारोहलाई सम्वोधन गर्दै गभर्नर नेपालले बैंकहरुको पछिल्लो काम गराइ नै लाजमर्दो भएको टिप्पणी गरेका हुन् ।

बैंककै कर्मचारीका कारण खाताको रकम चोरी भएको भन्दै उनले यसले आफूलाई अचम्म लागेको बताए ।
कसको चेक बुक कसलाई दिने भन्ने समेत थाहा नपाउने बैंकका कर्मचारी कस्ता ? गभर्नर नेपालले भने, ‘नियामक निकायको प्रमुख भएकाले मलाई भन्न पनि लाज लागिरहेको छ, तपाईंहरु गम्भीर हुनुस् ।’

गभर्नर नेपालले बैंकका कर्मचारीबाट यस्तो गल्ति हुन नहुने भन्दै बैंकहरुलाई सचेत गराए । उनले दक्ष जनशक्ति परिचालनमा बैंकहरुले लगानी गर्नु पर्नेमा जोड दिए । उद्योगीरव्यवसायीहरुले ब्याजदरका विषयमा धेरै कुरा उठाएको भन्दै गर्भनर नेपालले ब्याज स्थिर हुनु सबैका लागि राम्रो हुने पनि बताए ।

‘यहाँ त धेरै व्यवसायीको नै बैंक छ, अनि आफैंले ब्याजदर धेरै भयो भन्नु हुन्छ,’ गभर्नर नेपालले भने, ‘ब्याज धेरै भयो भन्नु ठिक हो, तर तपाईहरु पहिले बैंक छाड्नुस अनि भन्नुस् ।’

गभर्नर भन्दा अघि बोलेका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले ब्याजदरको विषय उठान गरेका थिए । गभर्नर नेपालले श्रेष्ठको नाम नै लिएर स्टेजबाटै उनको समेत बैंक भएको बताए ।

दुई बैंक मर्जर भएको विषयले भने आफू धेरै खुसी भएको गभर्नर नेपालले बताए । मर्जरका विषयमा अहिले नबोले पनि पछि राष्ट्र बैंक चुप लाग्छ भनेर ढुक्क नहुन बैंकका सञ्चालकहरुलाई आग्रह समेत उनले गरे ।

अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा नै मर्जर नीति आएको भन्दै उनले भने, ‘यो पोलिसीलाई राष्ट्र बैंकले निरन्तरता दिइरहन्छ, पछि पछुताउनु भन्दा अहिले नै सोचिहाल्नुस् ।’

गभर्नर नेपालले प्रविधिमा लगानी बढाउन समेत बैंकहरुलाई निर्देशन दिए । प्रविधि बलियो भए मात्रै बैंक सुरक्षित हुने भन्दै यो क्षेत्रमा लगानी बढाउनै पर्ने उनले बताए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *