Sajhamanch Archive

राष्ट्रियसभामा कांग्रेस ६ सिटमा खुम्चिँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । उपनिर्वाचनको परिणामबाट केही उत्साही भएको प्रमुख विपक्षी नेपाली कांग्रेसका लागि राष्ट्रियसभाको निर्वाचन भने निराशाजनक हुँदैछ ।

माघ पहिलो साता हुने राष्ट्रियसभाका १९ सांसदको निर्वाचनमा कांग्रेसले कम्तिमा ६ सिट गुमाउने देखिन्छ ।

राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल पूरा गरेर बिदा हुने १९ जना सांसदमध्ये कांग्रेसका ७ जना छन् । ५९ सदस्यीय राष्ट्रियसभामा १३ सिट पाएको कांग्रेसलाई चिठ्ठा तान्दासमेत घाटा लागेको थियो । १९ जनाले आ–आफ्नो क्लस्टरमा चिठ्ठा तान्दा ७ जना कांग्रेसका सांसद दुईवर्षेमा परेका थिए ।

राष्ट्रियसभाको निर्वाचन माघको ७ देखि १० गतेभित्र गर्ने तयारी छ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ । फागुन २१ गते अहिलेका सांसदको २ वर्षे कार्यकाल पूरा हुँदैछ ।

यसपटक कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।

त्यस्तै नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ ।

राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *