Sajhamanch Archive

धनुषा बम विस्फोट : अनुसन्धानका लागि तीन जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं.५ महेन्द्रनगरमा भएको बम विस्फोट प्रकरणमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धानको क्रममा दुई महिला र एक पुरुष गरी तीन जनालाई पक्राउ गरेको हो ।

घटनाको बृहत् अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली पनि गठन गरेको गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

यसैबीच आज बिहान जिल्ला सुरक्षा समन्वय समितिको बैठक बसेको छ । बैठकमा गएराति भएको घटना र जिल्लाको सुरक्षा अवस्थाबारे समीक्षा गरिएको कुरा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।

समीक्षामा प्रहरी निकायबाट भएका कमीकमजोर बारे बृहत् रुपमा छलफल गर्नुका साथै आगामी दिनमा यस्ता घटना नदोहरियोस् भन्ने सुरक्षा समितिलाई सचेत हुन भनिएको छ । बैठकमा जिल्लाको सुरक्षा व्यवस्था सुदृढ पार्न सुरक्षा समितिमा रहेका तीनवटै निकायबीचको समन्वय बढाइने निर्णय समेत गरिएको प्रजिअ कणेलले बताए छन् ।

बम विस्फोटमा परि प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय नजिकै रहेको राजेश्वर साहको घरको शौचालयमा फेला परेको बम हो होइन भनेर यकिन गर्ने समयमा प्रहरी निरीक्षक दाहाल घाइते  भएका थिए ।

घटनामा घरधनी राजेश्वर साह र उनका छोरा आनन्द साहको घटनास्थलमै ज्यान गएको थियो भने गम्भीर घाइते भएका प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा धरानस्थित बीपी कोइराला प्रतिष्ठानमा बिहान ७ बजे मृत्यु भएको थियो ।

विस्फोटमा परि प्रहरी जवान रिजन महतो, राजेश्वरका छोरा प्रकाश साह र छोरी अञ्जली साह घाइते भएका छन् । उनीहरुको उपचार धरानमै भइरहेको छ । घटना पश्चात यस क्षेत्रको अवस्था तनावग्रत बनेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *