Sajhamanch Archive

पोखरा प्रिमियर लिगः काठमाडौं गोल्डेन्स वारियर्ससँग एक्सपर्ट धनगढी स्तब्ध

Published: (Updated: ) in खेलकुद, लोकप्रिय by .

कास्की । पोखरा प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्स वारियर्सले पहिलो जित निकालेको छ ।

कप्तान ज्ञानेन्द्र मल्लको शतकको मद्दतले १८६ रनको विशाल लक्ष्य दिएको काठमाण्डौले एक्सपर्ट धनगढीलाई १०६ रनले पराजित गरेको हो । धनगढी १६ ओभरमा ७९ रनमा अल आउट हुन पुग्यो ।

विशाल लक्ष्य पछ्याएको धनगढीको सुरुआत भने राम्रो हुन सकेन । टिमले २ रन बनाउँदा सन्दीप सुनार आउट भएका थिए । दोस्रो विकेटको रुपमा श्रीमन्था वाजिरत्ने आउट भएका थिए । १५ रन बनाएर वाजिरत्ने आउट हुँदा धनगढीको स्कोरबोर्डमा २७ रन रहेको थियो ।

तेस्रो विकेटको रुपमा रोड्रिगो थोमस व्यक्तिगत १० रन बनाएर पेभेलियन फर्किए । सौरभ खनालले ९ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरी ८ रन बनाएर आउट भए ।

सन्दीप जोराले ७ रन बनाउँदा अमित यादवले ३ तथा कमल सिंह ऐरी ७ रन बनाएर आउट भए । ६० रन हुँदा ८ विकेट गुमाएको धनगढीका लागि विक्रम ठगुन्ना र सागर ढकालले इनिङ अघि बढाउने प्रयास गरे पनि सफल भने हुन सकेनन् । ठगुन्ना नवौँ विकेटको रुपमा ९ रन बनाएर आउट भए । ढकालले ६ रन बनाए ।

बलिङतर्फ बसन्त रेग्मीले तीन तथा पवन सर्राफ र सुवोध भाटीले २–२ विकेट लिए । यसैगरी अमृत भट्टराई र सुशन भारीले एक-एक विकेट लिए ।

यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डौ गोल्डेन्स वारिसर्यले निर्धारित १७ ओभरको खेलमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो ।पोखरा मैदानमा हुस्सु लागेपछि १७ ओभरमा झारिएको खेलमा टस हारेर काठमाण्डौले पहिला ब्याटिङ गरेको थियो ।

सुरुआत भने राम्रो गर्न नसकेको काठमाण्डौका लागि कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट पारी खेलेका थिए । उनले ३८ बल खेल्दै १०० रनको शतकीय पारी खेले ।घरेलु क्रिकेटमा सतक बनाउने ज्ञानेन्द्र दोस्रो नेपाली खेलाडी बनेका छन । यसअघि आसिफ शेखले इपीएलमा सतक बनाएका थिए । यस्तै पोखरा प्रिमियर लिगमा शतक बनाउने ज्ञानेन्द्र पहिलो खेलाडी हुन् ।

गौरब तोमारलाई शून्य रनमा गुमाएको काठमाण्डौको इनिङ्सलाई जयकिशन कोल्सावाला र अमित श्रेष्ठले अगाडि बढाएका थिए । यी दुईबीच ५१ रनको साझेदारी भएको थियो । अमित २१ बलमा ३४ रन जोड्दै आउट भए । त्यसपछि क्रिजमा आएका ज्ञानेन्द्रले ३७ बलमा शतक पूरा गरे ।

आक्रामक ब्याटिङ गरेका ज्ञानेन्द्रले ९ छक्का र ८ चौका प्रहार गर्दै शतक बनाएका हुन् । शतक प्रहार गरेलगत्तैको बलमा ज्ञानेन्द्र आउट भएका थिए ।

यसैगरी कोल्सावाला चौथो विकेटको रुपमा ४६ रन बनाएर पेभेलिनय फर्किएका थिए । उनले ४६ रन बनाए । पाँचौँ विकेटको रुपमा सुवोध भाटी खाता नै खोल्न नसकी आउट भए।

धनगढीका कमलसिंंह ऐरीले चार तथा सागर ढकालले एक विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *