Sajhamanch Archive

नागरिकता कानुनको विरोधमा भारतभर प्रदर्शन

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by .

नागरिकता संशोधन विधेयक (सीएए) को विरोधमा भारतको विभिन्न राज्यमा विरोध प्रदर्शन भइरहेको छ ।

तर दिल्ली, उत्तर प्रदेश र कर्नाटकमा स्थानीय प्रशासनले प्रदर्शनकारीहरु जम्मा हुने भनिएको ठाउँमा धारा १४४ लगाएको छ ।

यद्यपि दिल्लीमा भने धारा १४४ लगाइए पनि ठूलो संख्यामा प्रदर्शनकारीहरु लाल किल्लामा जम्मा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँ उपस्थित बीबीसीका संवाददाता दिलनवाज पाशाका अनुसार प्रहरीले स्वराज पार्टीका नेता योगेन्द्र यादव लगायत कैयौँ व्यक्तिहरुलाई हिरासतमा लिएको छ ।

दिल्लीका कैयौँ इलामा रहेको टेलिकम सेवामा पनि असर पुगेको छ । टेलिकम कम्पनी एयरटेलले एक उपभोक्तको गुनासोको जवाफमा भनेको छ– दिल्लीको केही इलाकामा इन्टरनेट सेवा निलम्बित गरिएको छ । यद्यपि पछि एयरटेल कम्पनीको उपभोक्ता सहयोग विभागले यी सबै ट्वीटलाई हटाएको छ ।

उता बेंग्लोरमा प्रदर्शनमा सहभागी भएका चर्चित इतिहासकार रामचन्द्र गुहालाई प्रहरीले हिरासतमा लिएको छ ।

कर्नाटकको दक्षिण कन्नड जिल्लामा २१ डिसेम्बरसम्म निषेधाज्ञा लागू गरिएको छ । तर पनि वामपन्थी दलले विरोध प्रदर्शन गरिरहेका छन् । हैदराबद, चेन्नई र चण्डीगढमा पनि प्रदर्शन चर्किएको छ ।

नागरिकता कानुनको विरोधमा वामपन्थी पार्टी र मुस्लिम संगठनले बिहीबार भारत बन्दको आह्वान गरेका छन् ।

सीपीएम, सीपीआई, सीपीआई (एमएल), फरवार्ड ब्लक र आएसपीले एक संयुक्त बयानमा भनेको छ– यस दौरान देशैभर विरोध प्रदर्शन गरिनेछ । यो विरोधलाई केही विपक्षी दलले पनि समर्थन गर्ने जनाएका छन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *