Sajhamanch Archive

सीमा विवाद बारे भारतसँग उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल गर्नु पर्ने नेता सिटौलाको भनाई

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by .

भद्रपुर । झापाको भद्रपुरस्थित मेची नदीमा दोस्रो संस्करणको मेची रिर्भर साइड ‘बिच’ भलिबल प्रतियोगिता शनिवारदेखि सुरु भएको छ ।

भ्रमण वर्ष २०२० सँगै नेपाल–भारत बिचको एकता र सद्भावलाई कायम राख्ने उद्देश्यले भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजना तथा एलेभेन साइनिङ स्टार क्लबको सह–आयोजकमा वडा स्तरीय ‘बीच’ भलिबल प्रतियोगिता सुरु भएको हो ।

पुस ७ गतेसम्म सञ्चालन हुने तीन दिवसीय प्रतियोगिताको एक समारोहका बिच नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन गरेका थिए । नेता सिटौलाले बिरुवामा पानी हाल्नुका साथै रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

भारतले नेपाली भूमि अतिक्रमण गरेको विषय उठिरहँदा मेची नदीको सीमाबाटै कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले भने, ‘पूर्वी नेपालको सीमामा पर्ने मेची नदीको बालुवामा भलिबल प्रतियोगिता गरेर भद्रपुरको ५ नम्बर वडाले सिङ्गो नेपाललाई बिउँझाउने काम गरेको छ, अहिले सन्दर्भमा । भौगोलिक अखण्डता असंसोधनीय रहेको बताउँदै नेता सिटौलाले भने, ‘संविधानले भौगोलिक अखण्डता चाहेर पनि संशोधन गर्न सक्दैन, भौगोलिक अखण्डता नै राष्ट्रियताको पहिचान हो ।’

‘अहिले पश्चिममा कालापानी, लिम्पियाधुरा क्षेत्रको नेपाली भूमि भारतले मिचेको विषय चर्चाको शिखरमा छ,’ उनले भने, ‘हामीले सरकारलाई भनेका छौ, मित्र राष्ट्र भारतसँग उच्चस्तरमा राजनीतिक र कूटनीतिक पहल गरेर समाधान गर्नुहोस् ।’ ‘यो हल्ला गरेर भन्दा पनि दुई देश बिचमा राजनीतिक र कूटनीतिक पहल गरेर सीमा विवादको विषय समाधान गर्न सरकारलाई काँग्रेसले सुझाव दिइसकेको छ,’ उनले भने, ‘प्रधानमन्त्री जीले बोलाउनु भएको सर्वदलीय बैठकमा काँग्रेस यी सुझाव राखेको हो, बैठकमा सरकारले गर्छु भनेको छ, तर के गरेको छ, हामीलाई जानकारी प्राप्त भएको छैन ।’ वडा अध्यक्ष बन्धु कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा यसबर्ष भद्रपुरका दुई जना अग्रज पत्रकारलाई सम्मान गरिएको छ । सम्मानित हुने समाचार साप्ताहिक तथा नागरिक एफएमका सम्पादक गोपाल गिरी र स्वाधीन संवाद साप्ताहिकका सम्पादक तथा रेडियो भिजनका कार्यक्रम संयोजक माधव विद्रोहीलाई नगदसहित सम्मान पत्रले सम्मान गरेका हुन् ।

यता उद्घाटन कार्यक्रममा प्रदेश सांसद वसन्त बानियाँ, भद्रपुर ७ नम्बर वडा अध्यक्ष विनोद पोखरेल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, पूर्व मेयर भारतेन्दुकुमार मल्लिक, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ लगायतले मन्तव्य राखेको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य लता कार्कीले गरेकी थिएन, भने सञ्चालन वडा सचिव हिरण्य न्यौपानेले गरेका थिए ।

उद्घाटन खेलमा वडा ३, ४, ५ र ६ विजयी

प्रतियोगिताको उदघाटनमा शनिवार आठ वटा वडा बीच प्रतिस्पर्धा भएको छ । उद्घाटन खेलमा वडा नम्बर ३, ४, ५ र ६ विजयी भएको छ । उद्घाटन खेलमा वडा नम्बर ५ ले वडा नम्बर १ लाई २१–१७, २१–१६ को सोजो सेटमा पराजित गरेको छ । खेलको म्यान अफर द म्याच वडा नम्बर ५ का पारस शर्मा घोषित भए । दोस्रो खेलमा वडा नम्बर ३ ले वडा नम्बर ७ लाई २१–६, २१–११ को सोजो सेटमा पराजित गरेको छ । खेलको म्यान अफर द म्याच वडा नम्बर ३ का विक्रम तामाङ घोषित भए ।

त्यसै गरी तेस्रो खेलमा वडा नम्बर ४ ले वडा नम्बर ८ लाई २१–९, २१–१६ को सोजो सेटमा पराजित गरेको छ । खेलको म्यान अफर द म्याच वडा नम्बर ५ का भरत यादव घोषित भए । अन्तिम खेलमा वडा नम्बर ६ ले वडा नम्बर २ लाई २१–११, २१–१४ को सोजो सेटमा पराजित गरेको छ । खेलको म्यान अफर द म्याच वडा नम्बर ।६ का सागर कामती घोषित भए । प्रतियोगितामा नगरभरिका १० वटा वडाले सहभागिता जनाएको छ । विजेता टिमलाई नगद ३० हजारसहित शिल्ड प्रदान गरिनेछ, भने उपविजेता टिमलाई नगद २० र तृतीय हुने टिमलाई नगद १० हजारसहित शिल्ड प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको लागि वडाको सिलिङबाट १ लाख ७० हजार छुट्टाएर कार्यक्रमको आयोजना गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *