Sajhamanch Archive

विद्युत प्राधिकरणका कर्मचारी र केवल सञ्चालकको मिलेमतोमा यसरी हराउँछ लाखौं रकम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

भद्रपुर । विद्युत प्राधिकरणले लिनु पर्ने रकम ८० प्रतिशत बढी चुहावट हुने गरेको रहस्य बाहिर आएको छ ।

भद्रपुर नगरमा मात्र पाँच हजार बढी पोलबाट हुकिङ गरी केवल सञ्चालकले प्रयोग गर्दै आएको विद्युत महशुल तथा पोल भाडा वापत लाखौं रकम प्राधिकरणमा जम्मा नभई मिलेमतोमा कर्मचारी र केवल सञ्चालकले चुहावट गर्ने गरेको रहस्य बाहिर आएको हो ।

प्राधिकरणले नगर क्षेत्रमा प्रति पोल वार्षिक सय रुपैया पोल भाडा लिने प्रावधान छ । विद्युत उपयोग वापत कम्तीमा सय रुपैयाँदेखि माथि खपतका आधारमा तिर्नु पर्ने प्रावधान मिचेर केवल सञ्चालकहरुले लाखौं रकम अपचलन गरिरहेका हुन् । भद्रपुर नगर क्षेत्रमा मात्र ४ वटा केवल कम्पनीले ५ लाख बढी रकम प्राधिकरणका माथिल्ला तहका कर्मचारीसित नजरानाको नाता जोडी अपचलन गरिरहेको पाइएको छ । केवल सञ्चाकलकले पावर सप्लाइका लागि प्रयोग गर्ने नोड बक्समा हुकिङ मार्फत लगाइएको विद्युत उर्जा खपत चार्ज तिर्नु पर्ने रकम शत प्रतिशत रकम विद्युत प्राधिकरणमा बुझाएको तथ्याङक भेटिदैन भने पोल भाडा २० प्रतिशत हाराहारीमा मात्र प्राधिकरणमा आइपुग्ने गरेको छ ।

जिल्लाको सदरमुकाम रहेको भद्रपुर नगरमा न्यु होम भिजन केवल नेटवर्क, चन्द्रगढी केवल नेटवर्क, सत्य साई केवल नेटवर्क र न्यु बुद्ध केवल नेटवर्क गरी चार वटा केवल  तथा वल्डलिङ्क नेट कम्पनी लगायतले प्राधिकरणका माथिल्ला कर्मचारीसित लेनदेनको कारोवार गरी प्राधिकरण रित्याउन खेल वर्षौबाट गरिरहेको भए पनि नियामक निकाय मौन रहनु रहस्यमय देखिन्छ । यी कम्पनीहरुले भद्रपुर नगर बाहेक हल्दिवारी र कचन कवल, मेचीनगर विर्तामोड नगरपालिका क्षेत्रमा पनि यही शैलीमा सेवा प्रयोग गरिरहेका छन् । राजनीतिक दाउपेच र आर्थिक आदान प्रदान गरिरहेको समाचार श्रोत बताउँछ । वर्षमा लाखौं रकम आपसमा वितरण हुँदा प्राधिकरण भने रमिते बन्न बाध्य हुने गरेको दृष्यले पुष्टि गरिरहेको छ ।

यता विद्युत प्राधिकरण भद्रपुर प्रशारण केन्द्रका प्रमुख राम उद्गार साह भने केवल नेटर्वकसित पोलमा तार टाङ्ने सहमती भए पनि विद्युत उपयोगको सहमती नभएको बताउँछन् । उनका अनुसार गाउँपालिकामा प्रतिपोल ५० रुपैया र नगरपालिकामा प्रतिपोल सय रुपैयाँ वार्षिक रुपमा पोल भाडा लिने व्यवस्था रहेको छ । त्यस अनुसार प्राधिकरणलाई केवल कम्पनीले रकम तर्नु पर्ने हुन्छ । यसरी रकम तिरेको नपाइए कार्वाही गर्ने साहको भनाई छ ।

प्राधिकरणका प्रमुखको भनाइलाई केवल सञ्चालकहरुले तिरेको रकम भने जिस्क्याइ रहेको देखिन्छ । न्यु होम भिजन केवलले ४८ वटा पोलको चार हजार ८ सय, चन्द्रगढी केवलले ८७ वटा पोलको ८ हजार ७ सय, न्यू बुद्ध केवल नेटवर्कले गाउँपालिकामा सेवा दिएको ८५ वटा पोलको ४ हजार २ सय ५० रुपैया मात्र तिर्ने गरेको देखिन्छ । त्यसैगरी सत्य साई केवलले ७७ वटा पोल, वल्डलिङले ३३ पोलको मात्र रकम तिर्ने गरेका छन् । जस मध्ये कम्तीमा एक हजारदेखि बढीमा १५ सय बढी पोल उपभोग गरिरहेका केवल नेट कम्पनीहरुले कागजात मिलाउन न्युन संख्यामा प्राधिकरणमा रकम तिर्ने गरेको देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *