शुक्लाफाँटामा अस्ताइन् ‘रतनकली’
Published:
by .कञ्चनपुर । २०३५ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगिएको हात्ती ‘रतनकली’ को बिहीबार राति मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको ८४ वर्षीया रतनकलीको चराउन निकुञ्ज लगेका बेला मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए ।
“हात्तीसारका कर्मचारीले बिहीबार रतनकलीलाई चराउन छेउमै लगेका थिए ।” प्रमुख संरक्षण अधिकृत पौड्यालले भने । उनले चर्दाचर्दै बसेको हात्तीको राती मृत्यु भएको बताए ।
रतनकलीलाई ४१ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा ल्याइएको थियो । बिरामी नभए पनि बूढेसकाल लागेकै कारण मृत्यु भएको उनको भनाइ छ ।
हात्तीको औसत आयु ७० देखि ८० वर्ष हुने गर्छ । रतनकलीको अन्येष्टिमा शुक्रबार निकुञ्ज प्रशासन, स्थानीय वडा कार्यालय, मध्यवर्ती, सेना र हात्तीसारका कर्मचारी सहभागी भए ।
निकुञ्जमा दश वटा हात्तीको दरबन्दी रहे पनि सात वटा मात्रै थिए । प्रमुख संरक्षण अधिकृत ढकालले निकुञ्जको गस्ती, पर्यावरणका लागि अझै पाँच वटा हात्ती आवश्यक रहेको बताए ।
Comments