मदन पुरस्कार : दौडधुप ८ उत्कृष्ट पुस्तक
Published: (Updated: )
by .काठमाडौं । वर्ष ०७५ मा प्रकाशित तीन सयभन्दा बढी पुस्तकमध्ये मदन पुरस्कार गुठीले श्रेष्ठ सूचीमा ८ वटा पुस्तकको नाम सार्वजनिक गरेको छ ।
१० वटासम्म वर्षका श्रेष्ठ पुस्तकहरु सार्वजनिक गर्ने उसको नीतिअन्तरगत यसपटक ८ वटा पुस्तकको मात्र नाम सार्वजनिक गरेको हो ।
गुठीले प्रकाशित गरेको उत्कृष्ट ८ पुस्तकको सूचीमा ध्रुवसत्य परियारको कथा संग्रह ‘कैरन’, सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ र तीर्थ गुरुङ्को उपन्यास ‘पाठशाला’ परेका छन् ।
त्यसैगरी यज्ञशको रिपोर्ताज ‘भूईंया’, नयनराज पाण्डेको मित्र स्मरण संग्रह ‘यार’ र निलम कार्की ‘निहारिका’को ऐतिहासिक उपन्यास ‘योगमाया’ पनि उत्कृष्ट ८ मा परेका छन् ।
राज माङलाकको कविता संग्रह ‘लिम्बुनी गाउँ र माओवादी नेता मोहन वैद्य ‘किरण’को दर्शनसंग्रह ‘हिमाली दर्शन’ पनि उत्कृष्ट ८ को सूचीमा समाबिष्ट छन् ।
सूचीमा परेकामध्ये केही पुस्तक सामान्यखालका भएको टिप्पणी सामाजिक सञ्जालमा आएको छ भने केही समेटिनुपर्ने कृतिहरु नपरेको भन्दै मदन पुरस्कार गुठीको आलोचना पनि सुनिएको छ ।
यो निश्चित छ, उत्कृष्ट ८ को सूचीमा अटाएका पुस्तकमध्ये एउटाले मदन पुरस्कार प्राप्त गर्नेछ । यद्यपि, सूची प्रकाशन भएलगत्तै प्रकाशन संस्था र लेखक दुवैले आफ्नो कृतिले मदन पुरस्कार पाउने वातावरण मिलाउन मेहनत पक्कै गर्नेछन् र गर्न थालेका पनि छन् ।
यद्यपि, यस्ता दौडधुपले आफ्नो निर्णयलाई फरक नपार्ने मदन पुरस्कारसम्वद्ध व्यक्ति बताउँछन् । मदन पुरस्कारको निर्णय एक व्यक्तिले गर्ने होइन, यसका आफ्नै नीति र कार्ययोजना छन् ।
निर्णायकहरु धेरै छन् । त्यसमाथि एक निर्णायकले निर्णायकलाई चिन्दैनन् । निर्णायकहरु आफ्नो क्षेत्रमा विशिष्ट छन् । त्यसैले कसैले कसैलाई प्रभावित बनाउने कुरा बाहिरी हल्ला मात्रै भएको गुठीको दाबी छ ।
मोहन वैद्य किरणको पुस्तकले पूर्वीय दर्शनहरुलाई मार्क्र्सवादी दृष्टिले ब्याख्या गरेका कारण ‘हिमाली दर्शन’ पठनयोग्य कृति हो । यसमा गीताका आत्यात्मिक दर्शनहरुलाई समेत भौतिकवादी दृष्टिले ब्याख्या गरिएको छ ।
यो पुस्तकलाई पुरस्कृत गर्न सके मदन पुरस्कारमाथि लाग्दै आएको कम्युनिस्ट विरोधी छवि सुधार हुने अनुमान गरिएको छ । यद्यपि, यो गैरसाहित्यिक पुस्तक भएका कारण यसलाई पुरस्कृत गर्दा साहित्य पक्षीय व्यक्ति रुष्ट हुने पक्का छ ।
‘लिम्बुनी गाउ’ पूर्वी नेपालको लिम्बु परिवेशमा रचना गरिएको कविता संग्रह हो । कवि राज मङलाकको यो कविता संग्रहमा साँवा खोलाको गीत, अक्षरहरुको मैलो र समय सन्नाटा गरी तीन खण्डमा विभाजित छ ।
कवितामा लिम्बु भाषा र संंस्कृतिका बिम्बहरु छन् भने पूर्वीया नेपाली भाषाका छटा छन् । समीक्षक राम लोहनीका अनुसार यो कविता संग्रहको मजबुत पक्ष भनेकै दृष्यात्मक शब्दको वर्णन हो ।
‘कैरन’ कथा संग्रह पनि मदन पुरस्कारका लागि सुरुदेखि नै चर्चामा आएको पुस्तक हो । हिमाल खबर पत्रिकामा कार्यरत पत्रकार ध्रुवसत्य परियारको उक्त पुस्तकले प्राचीन मिथहरुलाई केन्द्रमा राखेर सबै कथाहरु निर्माण गरेको छ ।
छुवाछुत प्रथाको विरोध गर्न मात्र होइन, समाजको उँच–निचका पाखण्ड भत्काउन पनि कृतिले मिथहरुकै साहारा लिएको छ ।
‘भुँइया’ ले नेपाली समाजमा लुकेर बसेका नायकहरुलाई सतहमा ल्याउने काम गरेको छ । रिपोर्ताज शैलीमा लेखिएको उक्त पुस्तकले माओवादी द्वन्द्व र त्यसपछि देखापरेको परिवर्तनमा स्थानीय समाजका तल्लो तहका व्यक्तिमा आएको परिवर्तन देखाएको छ ।
त्यसमा पनि कुनै व्यक्ति वा समाज विशेषमा आएको परिवर्तनलाई यसले मुख्य विषय बनाएको छ । गैरआख्यान भए पनि यसको भाषा मीठो छ ।
अर्को गैरआख्यान कृति ‘यार’ साहित्यकार नयनराज पाण्डेले बाल्यकालदेखि एक दशकअघिसम्म भेटिएका साथीहरुको वर्णन गरेका छन् । कतिपय साथी भनिए पनि उमेरले पाका व्यक्तिहरुकोे कथा पनि यसमा समेटिएको छ ।
‘नथिया’ मदन पुरस्कारका नाममा समावेश हुनुअघि नै अत्यधिक प्रचारमा आएको पुस्तक हो । यसमा एकजना बदिनीको कथालाई आख्यानात्मक रुप दिइएको छ । कवितात्मक भाषा र बिम्बात्मक प्रस्तुतिले कृतिलाई अग्लो बनाएको छ ।
‘पाठशाला’ एकजना किशोरको कथा हो । स्कुलमा विद्यार्थीहरु बीच हुने स–साना घटनालाई यसले गहिरोसँग उतारेको छ । एकजना पाको व्यक्तिले डायरीमा टिपेको घटनालाई औपन्यासिक रुप दिइएको यो उपन्यासले आम मानिसलाई बाल्यकाल विशेषगरी विद्यालय जीवनको सम्झना गराउँछ ।
‘योगमाया’ निलम कार्की निहारिकाको महात्वाकांक्षी कृति हो । यो पुस्तक लेख्नुअघि उनी योगमायाको गाउँमा पुगेर अध्ययन गरेकी थिइन् । यस विषयमा उनले डकुमेन्ट्री समेत निर्माण गरेकी छन् ।
पुरानो घटनालाई अहिलेको भाषामा प्रस्तुत गर्न उनले निकै मेहेनत गर्नु परेको उपन्यास पढ्दा अनुभव गर्न सकिन्छ ।
-अनलाइनखबर
Comments