Sajhamanch Archive

जिल्ला अस्पताल पाँचथरका स्वास्थ्यकर्मीले तलब पाएनन् !

Published: in समाज, by .

फिदिम । जिल्ला अस्पताल पाँचथरका स्वास्थ्यकर्मीहरु तलब भत्ता नपाएको भन्दै आन्दोलित बनेका छन् ।

जिल्ला अस्पतालका कर्मचारीहरुले २०७४ फागुनदेखि नै पूर्णरुपमा तलब नदिएको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय पाँचथरमा ज्ञापनपत्र बुझाएका छन् ।

फिदिम नगरपालिकाले जिल्ला अस्पतालमा कार्यरत स्थायी कर्मचारी, मन्त्रालयबाट खटिएका करार सेवाका कर्मचारी, नर्सिङ कर्मचारी तथा पारामेडिकल कर्मचारीहरुले तलब नपाएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोसीले जानकारी दिएका छन् ।

कर्मचारीहरुले प्रचलित नियमअनुसार तलब निकासाका लागि फिदिम नगरपालिकालाई २४ घण्टे अल्टिमेटम समेत दिएका छन् ।

हालसम्म बजेटको अभावले तलब दिन नसकिएको कारण जनाउँदै नगरपालिकाले तलब रोकेको अस्पतालका कर्मचारीहरुको गुनासो छ ।

फागुनदेखि नै तलब नपाइरहँदा फिदिम नगरपालिकाले असार महिनासम्मको तलब पठाएको भनेर एसएमएस पाएको तर बैंक खाता चेक गर्दा अपुरो तलब पठाएकाले कर्मचारी आन्दोलित हुनुपरेको जिल्ला जनस्वास्थ्य कार्यालय पाँचथरका सूचना अधिकारी नारायण जोशीले बताए ।

आफूहरुले विगतमा तलब निकासाका लागि नगरपालिकालाई आग्रह गरे पनि विभिन्न कारण देखाएर तलब नदिएको कर्मचारीहरुको गुनासो छ । कर्मचारीहरुले ५ महिनासम्म पनि धैर्यसाथ दैनिकी सञ्चालन गरेको तर प्राप्त तलब पनि अपुरो भए पछि कर्मचारी आन्दोलित भएको जोशीको भनाई छ ।

जिल्ला अस्पताल पाँचथरमा ल्याव सेवा, फार्मेसी, एक्स रे, नवजात शिशु उपचार सेवा, आकस्मिक सेवा, बृहत्तर आकस्मिक प्रसुति सेवा लगायतका सेवाहरु २४ घण्टा सुचारु भइरहेको पनि उनले जानकारी दिए ।

यसरी सबै सेवाहरु दिइरहँदा पनि कर्मचारीको नाइट भत्ता, जोखिम भत्ता, आमा सुरक्षा इन्सेन्टिभ, चिकित्सकहरुले पाउने भत्ता कात्तिकबाटै नपाएको कर्मचारीहरुको गुनासो छ ।

आफूहरु ऋण गरेरै भए पनि दैनिक गुजारा चलाएर सर्वसाधारणलाई सेवा प्रवाह गरिरहेको अवस्थामा नगरपालिकाले आफूहरुले ऋण तिर्ने गरी पनि तलब निकासा नगरी दिएको उनीहरुको गुनासो छ ।

यसबारे शीघ्र सुनवाई नभए कडा आन्दोलनमा उत्रिने कर्मचारीहरुले बताएका छन् ।

यता फिदिम नगरापलिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले भने असारसम्मको तलब, पोशाक भत्ता, महङ्गी भत्ता सबै गइसकेको दावी गरेका छन् । सुवेदीले अन्य भत्ताहरुका विषयमा भने छलफल भइरहेको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *