Sajhamanch Archive

चिसो भुइँमा काम्दै पढ्न बाध्य मदरसाका बिद्यार्थीहरु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

राजगढ । पूर्व फर्केको टीनको घर । एकातिर ह्वाङ्ग, तीनतिर भत्किसकेको भाटाको टाटी । न डेक्स छ न बेन्च नै । चिसो भुइँमा बसेर काम्दाकाम्दै बिधार्थीहरु पढ्छन् । यो दुर्दशा हो बाह्रदशी १ स्थित मदरसा मुजाहिर उलुमको ।‘के गर्नु हजुर हाम्रा नानीहरु चिसो भुइँमा बसेर पढ्न बाध्य छन्’ अभिभावक ह्वालुद्धिन मियाँले भने । डेक्स बेन्च नभएपछि चिसो भुइँमा बोरा ओछ्याएर बिद्यार्थीहरुले पढिरहेको उनले बिबशता सुनाए ।

घामपानी थेग्ने बेरा नहुँदा बिद्यार्थीहरुको बिजोग हुने गरेको छ । हावापानी चलेको बेला हुने गरेको समस्याका बारेमा उनी भन्छन् ‘पानी भित्रै छिरेपछि बिद्यार्थीहरुसंगै शिक्षक पनि कामिरहेको हुन्छ । ह्वालुद्धिनका १६ बर्षिय छोरा साहिल मिया र १८ बर्षिया छोरी साहिन खातुन त्यस मदरसामा पढ्ने गर्छन् । भगवती माविमा अध्ययनरत उनीहरु उर्दु भाषाको लागि मदरसामा पनि पढ्ने गरेका हुन् । कक्षा ५ सम्म अध्ययन हुने मदरसामा १५० जना बिद्यार्थी पढ्ने गर्छन् ।

‘ग्वाली’ भन्दा पनि नराम्रो त्यस बिद्यालयमा बिद्यार्थीहरुले मुश्किलले पढ्ने गरेको अर्का अभिभावक सज्जाद आलमले समस्या दर्शाए । बाह्रदशी १ सिप्ताबस्तीका मुस्लिम वालवालिकाहरु त्यस मदरसामा जाने गर्छन् । सिप्ताबस्तीमा मुस्लिम समुदायको ७५ घरधुरी रहेका छन् । लगातारको शितलहरका कारण बिद्यार्थीहरु कठ्यांग्रिएर पढ्न नसक्ने भएपछि मदरसाले जाडोको छुट्टी दिएको थियो । पाँच दिनको बिदा सकिएपछि मदरसा संचालन आएपनि राम्ररी पठनपाठन हुन सकेको छैन ।

‘मदरसा लगाएर के गर्नु ?’-मुल्बी रिजवान मुक्तिले भने-‘बाहिरको चिसो पसेर पढाउनै सकिदैन ।’ मुल्बी रिजवान र एकजना शिक्षिकाले त्यहाँ पढाउने गर्छन् ।दुबैको पारिश्रमिक घरघरबाट चन्दा उठाएर धान्नु परिरहेको अभिभावक सज्जादले बताए । ‘इदुल फित्र पर्वका बेला संकलन हुने जकादबाट मदरसा चलाइरहेका छौं’—उनले भने—‘ त्यसले नपुग्दा फेरि घरघरबाट चन्दा उठाउँछौं ।

’ इदुल फित्र पर्वमा प्रतिब्यक्ति ७० रुपियाँ र आम्दानी हुने ४० किलो धान बराबर एक किलो धान जकादको रुपमा सहयोग गर्नुपर्ने मुस्लिम समुदायको परम्परा रहेको सज्जादले जनाए । बिद्यालयलाई अति आबश्यक कुनै पनि भौतिक पूर्बाधार त्यहाँ पाइदैन । घरको त बिजोग छ नै, ट्युबवेल र शौचालय पनि छैन । पाँच बर्षअघि स्थानीयले आर्थिक संकलन गरेर सो मदरसा स्थापना गरेका थिए । उनीहरुले जग्गा र घर आफ्नै खर्चबाट जोडेका हुन् । मदरसालाई दर्ता गरेपनि सरकारी निकायबाट सहयोग नपाएको ह्वालुद्धिनले गुनासो गरे ।

अवलोकनका लागि गएका त्यस क्षेत्रका वडाध्यक्ष शम्भुसिंह राजवंशी पनि मदरसाको दुर्दशा देखेर चिन्तित भए । मदरसालाई सरकारी निकायबाट खासै सहयोग नमिल्नुका साथै सहयोगको लागि स्थानीयले पनि चासो नराखेको उनले बताए । स्थानीय तह निवाचित भएपछि पहिलो बर्ष वडा कार्यालयले २ लाख २५ हजार रुपियाँको लागतमा घेरावारा गरिदियो । त्यसको अर्को बर्ष भवनका लागि बिनियोजित १ लाख ३० हजार रुपियाँ खर्च गर्न नसकी स्थानीयले फ्रिज गराएको वडाध्यक्ष राजवंशीले बताए । यस बर्ष पनि भवनका लागि भनेर वडा कार्यालयले ७ लाख रुपियाँ छुट्याएको छ ।

बाह्रदशी गाउँपालिकामा ९ वटा मदरसा र एउटा गुरुकुल गरी १० वटा धार्मिक बिद्यालयले अनुमति लिएका छन् । प्रत्येक धार्मिक बिद्यालयको संचालन खर्चको लागि गाउँपालिकाले बजेट छुट्याएको छ । ‘तर एउटा बाहेक अरु मदरसाले बजेट लिन नआएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेलले बताए । उनले स्रोत र साधन जुटाउने काममा समुदायको चासो र प्रयत्न कम देखिएको प्रतिक्रिया दिए ।‘अब हामी आफै चासो लिएर मदरसाको अबस्था सुधार्छौं’ – उनले भने ‘समुदायलाई चेतनशील बनाएर अग्रसर गराउँछौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *