Sajhamanch Archive

स्व. रामहरि जोशीको प्रतिकात्मक प्रश्न प्रकाशन

Published: in शिक्षा by .

काठमाडौं । स्वर्गीय नेता रामहरि जोशीले लेखेको पुस्तक “प्रतिकात्मक प्रश्न” लोकार्पण गरिएको छ ।

त्रिविका पूर्व उपकुलपति डाक्टर केदारभक्त माथेमाले राधानीमा एक विशेष समारोहका बीच सो पुस्तकको लोकापर्ण गरिदिएका हुन् ।

लोकार्पण गर्दै माथेमाले रामहरि जोशीको अरु पुस्तकभन्दा यो पुस्तक विलकुल भिन्न भएको बताएका छन् । राजनीतिमा लामो समय बिताएको एक नेताले प्रेम विवाह र यौन बारे आफ्नो धारणा राखेको पुस्तकले रामहरि जोशीको नखुलेको पाटो यसमा आएको उनको कथन छ ।

पुस्तकको समीक्षा गर्दै साहित्यकार डाक्टर राम दयाल राकेशले प्रतिकात्मक प्रश्नले मान्छेको जीवनमा भएको प्रश्नको केही उत्तर दिएको र केही अरु प्रश्न जन्माएको टिप्पणी गरे । पुस्तक नेता तथा साहित्यकार विशेश्वरप्रसाद कोइरालाको ‘मोदी आइन’ कै नजिक रहेको उनको भनाई छ ।

रामहरि जोशीको आफ्नो जीवनमा परेको प्रेम राधाको विषयमा खुलेर आएको उनले बताए । रामहरि जोशीले किन विवाह गरेनन् भनेर प्रश्न सोध्नेहरुलाई प्रतिकात्मक प्रश्नले उत्तर दिएको उनको कथन छ ।

रामहरि जोशीका चेला बद्री मास्केले लेखक जोशीले आफूलाई सर्लाहीको पब्लिक स्कूलमा पढाएकाले उनको नैतिकता र आदर्शप्रति आफूहरु प्रभावित भएको भए पनि केही नयाँ कुरा यही पुस्तकमार्फत् मात्र थाहा पाएको बताए ।

अर्का वक्ता नुतन थपलियाले रामहरि जोशीको राजनीतिक र साहित्यिक पाटोको चर्चा गरे ।

कार्यक्रममा लेखक तथा प्रकाशक कमल ढकालले यो पुस्तक राजनीतिक कन्फेशनको रुपमा लेख्न खोजिएको बताउँदै भनेका छन् “रामहरि जोशीले माने पनि कालले मानेन, कन्फेशन लेख्न खोजिएको भए पनि उहाँले प्रेम विवाह यौनमा आफ्ना नीजि कुरा राखेकोले यो रोचक हुन सक्छ भन्ने लागेर छापिएको हो ।”

ठीक एक वर्ष अघि असार २९ गते ९२ वर्षको उमेरमा जोशीको निधन भएको थियो । वार्षिक पुण्य तिथिमा पुस्तक प्रकाशन गर्नुका साथै बद्री मास्केको अध्यक्षतामा रामहरि जोशी प्रतिष्ठान पनि घोषणा गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *