प्रतिनिधि सभाको बैठक आज पनि स्थगित
Published: (Updated: )
by .काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आउँदो माघ ६ गते बस्ने गरी स्थगित भएको छ ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखको टुङ्गो नलगाउँदा फेरि एक हप्ताका लागि सारिएको हो । संसद सचिवालयले सूचना टाँसेर बैठक आउँदो ६ गतेका लागि सारिएको जनाएको हो ।
सभामुख कसलाई बनाउने भन्ने बारेमा नै टुङ्गो नलाग्दा यसअघि गएको पुस ११ गते र १६ गतेका लागि बोलाइएको बैठक पनि स्थगित गरेर आइतबारका लागि सारिएको थियो ।
नेकपाको सचिवालय बैठकले उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेको राजीनामा माग्ने निर्णय गरे पनि उनले राजीनामा दिन अस्वीकार गरेकी थिइन् ।सभामुखको उम्मेदवार चयन नभएसम्म उनी उपसभामुखबाट राजीनामा नदिने अडानमा कायमै रहेकी छिन् ।
उनले आजको बैठक आफै सञ्चालन गर्ने तयारी गरिरहेको बताए पनि बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो । संवैधानिक व्यवस्थाअनुसार पनि संसदलाई रिक्त बनाएर हिँड्न नमिल्ने भएकाले सभामुख को बन्ने भन्ने टुङ्गो लागेपछि मात्रै आफूले राजीनामा दिने उनको भनाइ छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कसलाई सभामुखको उम्मेदवार बनाउने भन्नेमा कुरो नमिल्दा संसद बैठक प्रभावित हुँदै आएको छ ।
यौन दुर्व्यवहारको अभियोगमा तत्कालीन सभामुख कृष्णबहादुर महरा पक्राउ परेको चार महिना पुग्नै लाग्दा समेत नेकपाले सभामुख कसलाई बनाउने भन्ने टुङ्गो लगाउन सकेको छैन ।
उज्यालो
Comments