Sajhamanch Archive

जीवन र मृत्युको दोसाधमा छट्पटाइरहेकी खुममाया

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

मेचीनगर । जीवनमा कसैले पनि म बेसहारा हुन्छु, पिडामा पर्छु र बाल्यकालमा नै विधवा बन्छु भनेर कहिल्यै सोच्दैनन् । सुन्दर सपनाका फूलहरु सजाँउदै कल्पनामा रमाउदै जीवनको रथ हाँक्न हरकोही उत्साहित हुन्छन् । सायद यस्तै सपना र सुन्दर भविस्य बनाउने चाहना खुममाया खनालको पनि थियो होला !

बि.स. १९९० साल असार १५ मा जन्मिएकी खुममाया यतिबेला स्तन क्यान्सरका कारण जीवन र मृत्युको दोसाधमा छट्पटाइरहेकी छिन् । एकपल्ट कल्पना गरौँ त, सात वर्षिया बच्चा कति स्वच्छन्द र प्रफुल्लित मुद्रामा निसङ्कोच खेलिरहेको, रमाइरहेको हुन्छ तर बिडम्बना, खुममायाको जीवनमा यस्ता दिन सायदै आएनन् ।

सात वर्षमा विवाह बन्धनमा बाधिएकी खुममायालाई बिवाह के हो, उनलाई केही थाहै थिएन । बालापनको रसास्वादन गर्न नपाउदै उनको जीवनले एक नयाँ मोड लियो । उनी ९ वर्ष कै उमेरमा विधवा बन्न पुगिन् । आफ्नो पतिलाई राम्रोसंग बुझ्न, जान्नसमेत नपाई उनी पति वियोगमा परिन ।

पति वियोगपछि उनी माइती घरमा गएर बस्न थालिन् । आफ्ना जन्मदिने मातापितासँग दुःखसुख बस्दै गइन् तर आमाबुबाको मृत्युपछि झन् ठूलो बज्रपात आइपर्यो । त्यसपछिका दिनमा दाजुभाइहरुले पनि वास्ता गर्न छाडेपछि उनी ठूलो सङकटमा परिन । जसोतसो जीवन चलाइ रहेकी खुममायालाई बिगत तीन महिनादेखी स्तन क्यान्सर रोगले भेटयो ।

क्यान्सरले थला परेपछी हाल उनी मेचीनगर नगरपालिका वडा नं. १२ सहरेडाँगी निवासी आफ्नी ९८ वर्षीया दिदी कृष्णमाया तिम्सिनाको घरमा केवल मृत्यु पर्खिरहेछिन् । दबाईपानीले समेत काम गर्न छाडेर शरीरभरी घाउ फैलदै गएको छ । उनको शरीर हेर्दा जो कसैको पनि आङ्ग जिरिङ्ग हुन्छ । शरीर हेर्ने अवस्थामा नै रहेको छैन । ३ बर्ष अघि मैले नै माईधारस्थित कोटीहोममा लगेर राखें, माइती पक्षबाट बेवास्ता भयो, कृष्णमायाले गुनासो पोखिन ।

कृष्णमाया आफैमा ९८ बर्षिय वृद्ध छिन् । परिवारसहित उनी स्वयम् बहिनीको स्यहार सुसारमा लागिपरेकी छिन् । हरेक प्रहर उनलाई सर्वत्र दिशाबाट तिखो काँडाले घोचिरहेको संकेत गर्छिन् । कसरी दिन काट्दि हुन । उनीबाट हरबखत यहि शब्द निस्कन्छ ! हरे राम हरे राम , राम राम हरे हरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *