Sajhamanch Archive

बलिउडमा प्रवेश गर्ने तयारीमा भट्ट

Published: (Updated: ) in टिप्स/जानकारी by .

नेपाली फिल्मका सर्वाधिक सफल अभिनेतामा गनिन्छन्, विराज भट्ट । एक्सनमा नयाँ ट्रेन्ड स्थापित गरेका उनको एक समय नेपाली फिल्ममा ठूलो रजगज थियो । उनको एक्सन हेर्नकै लागि हलमा दर्शकको अपत्यारिलो भीड लाग्थ्यो । तर, नेपाली फिल्ममा चम्किरहँदा उनी अचानक भोजपुरी फिल्मतिर हानिए । उनको यो निर्णयले फिल्मकर्मी मात्र होइन दर्शक समेत अचम्मित परे ।

आफ्नो स्टारडम कमजोर भएपछि पैसाको लोभमा भोजपुरी फिल्ममा जाने निर्णय लिएको भन्दै अभिनेता विराजको चर्को आलोचना भयो । तर, यी कुनै कुराको प्रवाह नगरी उनी करीब ७ वर्ष भोजपुरी फिल्ममा व्यस्त भए । त्यहाँ पनि उनले छोटो समयमै आफूलाई बलशाली अभिनेताको रुपमा प्रमाणित गरे । तर, गएको केही वर्षयता उनी भोजपुरी फिल्ममा देखिन छाडेका छन् ।

भोजपुरी फिल्ममा राम्रो नाम र दाम कमाएपछि अभिनेता विराज अब नेपाली फिल्ममा नफर्किने कतिपयको विश्लेषण थियो । तर, गएको ४ वर्ष अगाडि उनले फिल्म ‘जय परशुराम’ बाट नेपाली फिल्ममा कमब्याक गरे । यद्यपि, यो फिल्म चलेन । कुनै समय एकसेएक सुपरहिट फिल्म दिएका विराजको कमब्याक फिल्मले हलमा घुँडा टेकेपछि धेरैले ‘बाघ बुढो’ भएको भन्दै टिप्पणी गरे ।

‘जय परशुराम’ को असफलतापछि उनी केही वर्ष पुनः भोजपुरी फिल्ममै व्यस्त रहे । अब भने उनी नेपाली फिल्मलाई निरन्तरता दिने सोचसहित फर्किएका छन् । यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘साङ्लो’ बाट उनले ४ वर्षपछि नेपाली फिल्ममा कमब्याक गर्दैछन् । यो फिल्मको निर्देशन समेत उनी आफैंले गरेका हुन् । फिल्मको गीत र ट्रेलर अहिले चर्चामा छ ।

अभिनेता विराजले भोजपुरी फिल्ममा आफ्नो दबदबा कायम गर्दैगर्दा उनी बलिउड फिल्ममा प्रवेश गर्न लागेको चर्चा पनि चलेको थियो । तर, उनले बलिउड फिल्ममा ब्रेक पाएनन् । उनी आफ्नै लापवाहीले बलिउड फिल्ममा प्रवेश गर्न नसकेको बताउँछन् । हालै एक अन्तर्वार्तामा उनले आफू बलिउड फिल्मका लागि सम्बन्धित ठाउँमा नगएको र अडिसन समेत नदिएको बताएका छन् ।

उनी आफूले बलिउड फिल्मका लागि प्रयास नै नगरेको बताउँछन् । तर, उनलाई बलिउड फिल्ममा प्रवेश गर्ने इच्छा भने छ । त्यसैले अहिले उनी मुम्बई धाइरहेका छन् । अभिनेता विराज भन्छन्, ‘बलिउडमा प्रवेश गर्ने सम्भावना मरेको छैन । फिल्मकै शिलशिलामा मुम्बईतिर गइरहेको छु । गएको महिना मात्र मुम्बई गएर आएको हुँ । चाँडै त्यताको फिल्ममा पनि देखिनेछु ।’

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *