Sajhamanch Archive

सिनेटमा पनि ट्रम्पविरुद्धको महाअभियोगको प्रक्रिया शुरु

Published: in विश्व समाचार by .

अमेरिका । अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगको प्रक्रिया शुरु भएको छ ।

बिहीबार दिउसो प्रधानन्यायाधिश र माथिल्लो सदनका सदस्यहरुले सपथग्रहण गरेर महाअभियोगको प्रक्रिया शुरु गरेका हुन् । प्रधानन्यायाधिश जोहन रोबर्टसले सुरुमा आफूले सपथ खाएर अरुलाई सपथग्रहण गराउनु भएको थियो । माथिल्लो सदनका कुल १०० सदस्यहरुमध्ये ९९ जनालाई उनले सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण गर्ने सवैले सपथग्रहणका क्रममा ‘पक्षपातरहित न्याय’ गर्ने कसम खाएको समाचारमा जनाइएको छ । उनीहरुले महाअभियोग प्रस्ताव माथी स्वविवेकले आफ्नो मत जाहेर गर्ने बताएका थिए । महाअभियोग प्रस्तावमाथी माथिल्लो सदनमा आगामी मङ्गलबारदेखि प्रधानन्यायाधिश रोबर्टसको अध्यक्षतामा सुनुवाई हुनेछ ।

सुनुवाईका क्रममा दुवै पक्षले आ आफ्नो पक्षमा तर्क र प्रमाणहरु पेस गर्दै आफ्नो पक्ष सही भएको दाबी गर्ने भएका छन् । हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पठाउने प्रस्ताव मंगलबार पारित गरेकाले बिहीबारदेखि माथिल्लो सदनमा प्रक्रिया शुरु भएको हो ।

माथिल्लो सदनमा ट्रम्पविरुद्धका आरोपहरू पढेर सुनाइएको थियो । आरोपपत्रमा राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएर संविधानको उल्लङ्गन गरेको, शक्तिको दुरुपयोग गरेको, कङग्रेसको प्रक्रियामा अवरोध पु¥याएको लगायतका आरोपहरु उल्लेख गरिएको छ ।

आरोपपत्रमा उल्लेखित सवै आरोपको राष्ट्रपति ट्रम्पले भने अस्वीकार गर्दै खण्डन गर्दै आएका छन् । सिनेटबाट महाभियोग प्रस्ताव पारित हुनका लागि दुई तिहाइ सिनेटरले समर्थन गर्नुपर्ने प्रावधान रहेको छ । माथिल्लो सदन सिनेटमा राष्ट्रपति ट्रम्पको सत्तारुढ रिपब्लिकन पार्टीका सांसदहरुको संख्या धेरै रहेकाले पार्टीको लाईनअनुसार मतदान भएमा महाअभियोगको पक्षमा दुई तिहाइ पुग्ने सम्भावना कम देखिएको छ ।

हाउस अफ रेप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले भने रिपब्लिकन सिनेटरहरूलाई राष्ट्रपतिका ’अन्धसमर्थक’ नबन्न र स्वविवेक प्रयोग गर्न आह्वान गरेका छन् । उनले महाअभियोगसम्वन्धी कागजपत्रले राष्ट्रपति ट्रम्पले गलत काम गरेको पुष्टि भएको दाबी गर्दै उनलाई गलत कामप्रति जवाफदेही बनाउन महाअभियोगको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिए ।

उनले भविष्यमा पनि कुनै पनि राष्ट्रपतिले जे पायो त्यही गर्न नसक्ने गराउनका लागि पनि अहिले महाअभियोग लगाउनु पर्ने तर्क गरे । तर ट्रम्पका समर्थक तथा रिपब्लिकन सांसदहरूले भने महाभियोग प्रक्रियालाई ‘पक्षपातपूर्ण आक्रोशबाट प्रेरित कदम’ को संज्ञा दिदै आएका छन् ।

हाउस अफ रिप्रिजेन्टेटिभ्सले गत महिना राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो । अमेरिकाको इतिहासमा यसरी संसदको तल्लो सदनबाट महाअभियोग लगाइएका राष्ट्रपतिहरुमध्ये ट्रम्प तेस्रो राष्ट्रपति भएका छन् । रासस–सिन्ह्वा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *