Sajhamanch Archive

प्रदेश सांसद मियाँलाई जेल सजायको फैसला

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

विराटनगर । प्रदेश १ का सांसद गुलेफुन मियाँलाई एक वर्ष कैद र १४ हजार ५८३ रुपैयाँ जरिवाना सजायको फैसला भएको छ । सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको अभियोगमा उनलाई यस्तो सजायको आदेश भएको हो ।

तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरी छाप कीर्ते गरेको आरोपमा उच्च अदालत विराटनगरले सांसद मियाँलाई दोषी ठहर गर्दै एक वर्ष कैद र १४ हजार ५८३ रुपैयाँ फैसला सुनाएको हो ।

२०७४ वैशाख ३१ गते जिल्ला अदालत मोरङले सुनाएको फैसला विरुद्ध उच्च अदालत गएकी सांसद मियाँले अझ ठूलो सजायको आदेश सहनु परेको हो ।

कीर्ते मुद्दामा सांसद मियाँ, उनका श्रीमान शेख शिलबर मिया, तत्कालिन गाविसका कर्मचारी बिजय कामत र दीपचन्द मण्डललाई २०७४ वैशाख ३१ गते मोरङ जिल्ला अदालतले एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो ।

कीर्ते मुद्दामा दोषी देखिएका तत्कालिन गाविसका कर्मचारी कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारण थप दुई वर्ष सजाय सुनाएको थियो । उच्च अदालत विराटनगरले शेख सिलबरलाई सफाइ दिएको छ ।

अन्य तीनजनाको हकमा सजाय हुने जिल्लाको आदेश सदर गर्दै जनही १४ हजार ५८३ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो । अदालतको फैसलापछि सांसद मियाँले अब ११ महिना ५ दिन कैद बस्नुपर्ने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *