Sajhamanch Archive

चारआली—केचना सडक खण्डकोे काम मापदण्ड विपरित

Published: in राष्ट्रिय समाचार, by .

भद्रपुर । हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको निर्माणको काम मापदण्ड विपरित भइरहेको पाइएको छ ।

पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय झापा अगाडिदेखि चन्द्रगढीको वी पी चौक सम्मको सडक खण्डमा सव वेश भन्दै मिक्स गिटीको ठाउँमा माटोले पुर्ने काम गरिरहेको निर्माण कम्पनीले निर्माण ठेक्का सम्झौता अनुसारको कार्य नगर्दा गुणस्तरमाथि प्रश्न उठे पनि नियामक मौन रहेको पाइएको हो ।
सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले गरेको कामको गुणस्तर अनुगमन गर्ने जिम्मेवारी पाएको हुलाकी सडक परियोजनाका प्राविधिक अधिकाम्स समय निर्माण स्थलमा नबस्दा गुणस्तरहीन काम हुने गरेको छ ।

गत वर्ष नै निर्माण अवधि सम्पन्न भएको सो सडक खण्डको निर्माण शैली यही गतिमा रहे अझै एक वर्ष सडक निर्माण सम्पन्न नहुने देखिएको छ । दुई खण्डमा निर्माण भइरहेको सडक मापदण्ड अनुसार निर्माण नहुँदा निर्धारित समयसम्म नटिक्ने अवस्थामा पुगेको छ ।

तीन वर्षमा सडक निर्माणको काम पूरा गर्ने गरी आर्थिक वर्ष २०७१÷०७२ बाट सुरू भएको यस आयोजनाका लागि एक वर्ष म्याद थप गराएर समेत निर्माण पक्षले नाली बनाउने, कल्भट बनाउने, वेश ग्राभेल भर्ने, ग्राभेलिङ गर्ने, आधार पिच तयार गर्ने र पिच निर्माण गर्ने गरी विभिन्न टुक्रामा काम गरिरहेका छन् । सडक निर्माणको गुणस्तर कायम राख्न स्थलगत रूपमा बस्नु पर्ने परियोजनाका प्राविधिक निर्माण स्थलमा कमै जाने गरेको कार्यरत मजदुर बताउने गर्छन् ।

सरकारी प्राविधिक पक्षबाट गुणस्तरमाथि नियमित निगरानी नहुँदा निर्माण पक्षधरका मजदुरकै तजविजमा काम भैरहेको देखिने गरेको छ । दुई खण्ड गरेर काम भइरहेको सडक निर्माण कम्पनीले निर्माण गरिरहेका नाली तथा कल्र्भटका काम गुणस्तरहिन भएको, ग्राभेलिङको काम पनि नियमविपरित रहेको, आधार कालोपत्रेको काम समेत गुणस्तरीय नभएको स्थानीयले बताएका छन् । निर्माण गुणस्तर तथा नियन्त्रण गर्ने हुलाकी सडक परियोजनाका इञ्जिनियरले कामको गुणस्तरियता र ढिलासुस्ती रोक्न नसकिरहेको स्थानीयको आरोप छ । कमसल निर्माण सामग्री प्रयोगका कारण सडकको काम कमजोर तथा गुणस्तरहीन हुने गरेको भए पनि नियामक रमिते मात्र बन्ने गरेको अवस्था छ ।

यसैगरी सदरमुकाम भद्रपुरबाट विर्तामोड जोड्ने भद्रपुर रोडको निर्माण अवधि सम्पन्न भए पनि काम भने २५ प्रतिशत मात्र पूरा भएको छ । आशिष प्रेरा जेभीले निर्माणको ठेक्का लिएको सो रोडमा विभिन्न विवादको वाहनामा निर्धारित समयमा काम अघि बढ्न नसक्दा निर्माण प्रभावित भएको हो । यही मंसिर ११ गतेदेखि स्थानीय निर्माण व्यवसायी केदार गिरीले स्थानीय ठेकेदारको रूपमा काम गरिरहेको सो सडक सम्पन्न गर्न अझै तीन वर्ष लाग्ने देखिएको छ । निर्माण सम्झौता अनुसार सडक निर्माणको काम सक्नु पर्ने अन्तिम मिति २०७६ पुस मसान्त थियो ।

पाँच सेन्टिमिटरसम्म आस्फाल कंक्रिट प्रयोग गरेर सडक निर्माण गर्न ठेकेदारले जिम्मा लिएको छ । निर्माण कम्पनीले २०७६ असोज ६ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, निर्माण कम्पनीले विद्युत् पोल सार्न समस्या भएकाले निर्माणको काम अघि बढ्न नसकेको बाहना बनाएर पुस मसान्तसम्म म्याद थपिएको थियो । विभिन्न बाहना हेर्दा यो सडक यस आर्थिक वर्षमा निर्माण पूरा नहुने निश्चित देखिएको छ । सडक अलपत्र हुँदा भद्रपुर विर्तामोड यात्रा जोखिम पूर्ण बन्न गएको छ । जताभावी खनिएका खाल्डा तथा फालिएका गिटी बालुवाले यात्रा जोखिम बढाए पनि सडक निर्माण तथा नियामकले ध्यान नदिँदा समस्या बढेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *