Sajhamanch Archive

नियम मिच्दा आधा घन्टा बाटोमै ट्राफिकको विद्यार्थी बन्नुपर्ने

Published: in समाज by .

काठमाडौं । आफ्नो सजिलोका लागि जहाँ पायो त्यहीँबाट सडक पार गर्दै हुनुहुन्छ ? या आकासे पुल चढ्न झन्झट मानेर पुलमुनिबाट बाटो काट्दै हुनुहुन्छ ? त्यसो हो भने तपाईंलाई ट्राफिक प्रहरीले ठाउँको ठाउँ समातेर आधा घण्टादेखि २ घण्टासम्मको कक्षा दिनसक्छ ।

आइतबारबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी सडक पार गर्ने तथा आकासे पुल प्रयोग नगर्ने पैदल यात्रुलाई लक्षित गरी सचेतना अभियान सुरु गरेको छ । आइतबारबाट सुरु भएको अभियानमा सोमबार साँझसम्ममा १० हजारभन्दा बढीलाई प्रहरीले नियम मिचेको भन्दै नियन्त्रणमा लिएर सचेतना कक्षा दिएको छ ।

महाशाखाका एसएसपी वसन्त पन्तले नागरिककै सुरक्षाका लागि सचेतनास्वरुप अभियान सुरु गरिएको बताए । आइतबारबाट उपत्यकाका १५ वटा स्थानमा अभियान जारी छ । एसएसपी पन्तले भने, ‘‘पहिलो चरणमा आकाशे पुल प्रयोग नगर्ने, जथाभावी बाटो काट्ने र लेन मिच्नेलाई सचेत पार्ने काम भइरहेको छ ।’’ एक महिने अभियानपछि पनि नियम पालना नगर्नेलाई कारबाही तथा जरिवानाको प्रक्रियासम्म जान सक्ने उनको भनाइ छ । ‘‘ठाउँ–ठाउँमा आकासे पुल छन्, तर पैदलयात्रु प्रयोग गर्र्दैनन् । छिटो पुग्नका पुलमुनिबाट दर्गुछन् । जेब्रा क्रस नभएको स्थानमा बाटो काट््ने पनि उत्तिकै छन् । यसले जाम र दुर्घटना दुवै बढाएको छ,” उनले भने ।

ट्राफिक सचेतना नागरिककै सुरक्षाका लागि भएकाले नागरिक आफैं जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ । एसएसपी पन्त भन्छन्, “ढिलो गए अवश्य पुगिन्छ तर छिटो गर्दा भन्न सकिन्न । सानो गल्तीले ठूलो दुर्घटना निम्तिन सक्छ ।’’ प्रहरीले यसअघि पनि अघिल्लो वर्ष यस्तै अभियान चलाएको थियो । अघिल्लो वर्ष प्रहरीले जथाभावी बाटो काट्नेलाई ठाउँको ठाउँ २ सय रुपैयाँ जरिवाना तिराएको थियो । तर, जनार्दन शर्मा गृहमन्त्री भएपछि उनले जरिवाना हटाउन लगाएका थिए ।

उपत्यकामा हरेक वर्ष ४० प्रतिशतभन्दा बढी पैदलयात्रु सडक दुर्घटनाबाट मृत्यु भएको भन्दै महाशाखाले यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ को अधिकारलाई प्रयोग गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो । जथाभावी बाटो काट्ने कार्य कोटेश्वर, गौशाला, भक्तपुर, पुरानो बसपार्क क्षेत्रमा बढी देखिएको ट्राफिकको भनाइ छ ।

-बाह्रखरीखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *