Sajhamanch Archive

‘म हुँ र म गर्न सक्छु’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । आज विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाइँदै छ ।

‘म हुँ र म गर्न सक्छु’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।समयमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाइँदै आएको छ ।

सन् २०१८ को तथ्याङ्कअनुसार विश्वभर क्यान्सरका कारण ९ करोड ६ लाख मानिसको ज्यान गएको छ भने झण्डै एक करोड ८१ लाख क्यान्सरका नयाँ बिरामी थपिएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।

सङ्गठनका अनुसार पाँच जनामध्ये एक पुरुष र ६ जनामध्ये एक महिलामा क्यान्सर हुने गरेको छ भने आठ जनामध्ये एक पुरुष र ११ जनामध्ये एक महिलाको क्यान्सरका कारण ज्यान जाने गरेको छ ।

नेपालमा भने झण्डै ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ । नेपालमा ८१ प्रतिशत क्यान्सरका बिरामी भने अन्तिम अवस्थामा मात्रै उपचारका लागि अस्पताल जाने गरेका सरकारी तथ्याङ्क छ ।

नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन् । चुरोट, सूर्ती, गुट्खालगायत सूर्तीजन्य पदार्थ खाने व्यक्तिमा क्यान्सर लाग्ने खतरा धेरै हुने डाक्टरको भनाइ छ । विभिन्न अध्ययनअनुसार क्यान्सर लागेका मध्ये ९० प्रतिशतलाई सूर्तीजन्य वस्तुका कारण क्यान्सर हुने गरेको पाइएको छ ।

यस्तै ५ देखि १० प्रतिशत आनुवांशिक कारणले क्यान्सर हुने डाक्टरले बताएका छन् । विकसित देशमा भन्दा विकासोन्मुख देशमा क्यान्सरका बिरामी बढ्दै गएको सङ्गठनले जनाएको छ ।

यस्तै खानपानमा ध्यान दिए क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने पनि सङ्गठनले जनाएको छ । सुरुवाती चरणमा नै उपचार गरे क्यान्सर निको हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर सन्ध्या चापागाईँले बताए । तर आवश्यक उपकरण नहुँदा पनि क्यान्सरको उपचारमा समस्या भएको उनको भनाइ छ ।

उनका अनुसार १० हजार बिरामीको लागी एउटा ‘रेडिएसन थेरापी मेसिन’ हुनुपर्ने भए पनि नेपालमा जम्मा ८–९ वटा मात्रै रेडिएसन मेसिन छन् ।

कमजोरी महसुस हुनु र तौल घट्नु, शरीरका कुनै पनि अङ्गमा गिर्खा वा गाँठा आउँनु, छालामा नयाँ कोठी पलाउनु वा भएका कोठी ठूलो हुँदै जानु, मुख वा जिब्रोमा लामो समयदेखि घाउ हुनु, खाना निल्दा दुख्नु र स्वर फेरिनु, लामो समयदेखि ग्यास्ट्रिक, पेट पोल्ने वा वान्ता हुनु जस्ता अवस्था क्यान्सरका लक्षण हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *