Sajhamanch Archive

माघ २७ देखि बिर्तामोडमा खेलकुद महोत्सव

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

बिर्तामोड । यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म प्रथम विर्तामोड नगर खेलकुद महोत्सव तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ गरिने भएको छ ।

बिर्तामोड नगरपालिका खेलकुद विकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । आसन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनोट गर्न तथा नगर क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिकामा निहित प्रतिभा पहिचान गर्न महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सव सम्पन्न गर्न नगर खेलकुद विकास समितिका अध्यक्ष टिका संग्रौलाको संयोजकत्वमा ९ सदस्यीय मूल समिति गठन गरिएको छ । बिर्तामोड नगर क्षेत्रका ९ वटा सामुदायिक विद्यालय र ४० वटा संस्थागत विद्यालयमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरु प्रतियोगितामा प्रतिष्पर्धी रहने खेलकुद विकास समितिका उपाध्यक्ष दुर्गाराज निरौलाले जनाकारी गराए ।

संस्थागत विद्यालयहरुको संगठन प्याब्सन र एन–प्याब्सनसमेत आयोजक रहेको महोत्सवमा १६७ वटा स्वर्ण पदक, १६७ वटा रजत पदक र १४७ वटा कास्य पदकका लागि १७ सय खेलाडीहरुले प्रतिष्पर्धा गर्ने उपाध्यक्ष निरौलाले बताए । खेलकुद महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, ब्याटमिन्टन, चेस, बास्केट बल, एथ्लेटिक्स, कराते, तेक्वान्दो र कबड्डी गरी ११ विधामा प्रतिष्पर्धा हुने अध्यक्ष संग्रौलाले जानकारी दिएका छन् ।

डोमालाल राजवंशी रंगशालामा विभिन्न जातिका सांस्कृतिक झाँकीहरु प्रदर्शन गर्दै उद्घाटन गरिने खेलकुद महोत्सवका खेलहरु डोमालाल राजवंशी रंगशाला, कनकाई मावि, नवोदय स्कूल, टावर टेम्पल स्कूल, महेन्द्ररत्न मावि, अनारमनी पब्लिक क्याम्पस आदिमा हुने प्रचार प्रसार संयोजक केशव भण्डारीले बताए ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगद पुरस्कार र प्रमाण पत्रसहित प्रदान गरिने तयारी छ । खेल सम्पन्न गर्न करिब १० लाख ७१ हजार ५०० रुपैयाँ अनुमानित बजेट बनाइएको आयोजकले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *