सांस्कृतिक कार्यक्रमका बीच हिमाली एजुकेशन फाउण्डेसनको वार्षिकोत्सव
Published: (Updated: )
by .
अर्जुनधारा। अर्जुनधारा नगरपालिका वडा नं. ६ स्थित हिमाली एजुकेशन फाउण्डेशनले आज आफ्नो १३औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सञ्चालन गरेको छ ।
नर्सरीदेखि कक्षा ८ सम्म अध्यापन हुने सो विद्यालयमा यो शैक्षिक सत्रमा ४६० जना विद्यार्थीहरु अध्ययनरत रहेको प्रिन्सिपल शान्ता गिरीले बताएकी छन् । फाउण्डेशनले वार्षिकोत्सव समारोहमा नृत्य, गायन, नाटक लगायतका प्रस्तुतिसहित पुरस्कार वितरण र उत्कृष्ट शिक्षक सम्मान गरेको छ ।
हिमाली एजुकेशन फाउण्डेशनका संस्थापक तथा अध्यक्ष खड्गराज गिरीको अध्यक्षता र अर्जुनधारा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष लोकनाथ गौतमको प्रमुख आतिथ्यमा वार्षिकोत्सव सञ्चालन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष गौतमले २१औँ शताब्दीमा समयानुकूल शिक्षा प्रदान गर्न निजी विद्यालय सफल भएको बताए । उनले सामुदायिक र निजी शिक्षण संस्थाले प्रदान गर्ने दुई खाले शिक्षा अन्त्य गर्नुपर्नेमा जोड दिए ।
‘बालबालिका अहिले पनि दुई प्रकारको लिन बाध्य छन्’ वडाध्यक्ष गौतमले भने, ‘यसको अन्त्य गर्न दुवै क्षेत्र मिलेर अघि बढ्नुपर्छ ।’ अंग्रेजी बोल्दैमा कोही पनि शिक्षित नकहलिने भन्दै शिक्षाका लागि सर्वाङ्गिण विकास आवश्यक रहेको उनको भनाई छ ।
आजको शिक्षा प्रणालीले कतारका लागि कुल्ली उत्पादन गर्ने कारखानाहरु चलिरहेकाले अब हरेक शिक्षण संस्थाहरुले परिश्रमी, रोजगारमुलक एवम् दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने औंल्याए ।
अब अर्जुनधारा नगर शिक्षा समितिले नर्सरीदेखि स्कूल खोलेर सोझै माविसम्म अपग्रेड गराउन नपाउने सुझाव दिँदै उनले भने आफ्नो क्याचमेन्ट एरियाका सबै अभिभावक र बालबालिकालाई सन्तुष्ट नपारेसम्म माथिल्लो तह अपग्रेडको स्वीकृति दिइने छैन ।
वार्षिकोत्सव कार्यक्रममा विद्यालयका शिक्षकहरुमध्ये उत्कृष्ट शिक्षकका रुपमा गोमा खनाललाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले सुनुवार नृत्य, स्वागत गीत, स्वागत नृत्य (कालापानी), कविता, नाटकलगायत प्रस्तुति दिएका छन् ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल शान्ता गिरी र विद्यार्थी मनोज तिवारीले स्वागत मन्तब्य गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक बासुदेव बरालले गरेका थिए । विद्यालयमा हाल ३५ जना शिक्षक र ६ जना कर्मचारी कार्यरत रहेको जनाइएको छ।
Comments