Sajhamanch Archive

रेडहर्ष इलाम कचनकवल गोल्डकपको फाइनलमा

Published: in खेलकुद by .

भद्रपुर । रेडहर्ष फुटबल क्लब इलाम तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बनियानी खेल मैदानमा आज शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा उर्लाबारी फुटबल क्लब मोरङलाई शून्यको विरुद्ध एक गोलले स्तब्ध पार्दै रेडहर्ष फाइनलमा प्रवेश गरेको हो ।

शनिबार हुने दोस्रो सेमिफाइनल खेल चर्च ब्वाइज युनाइडेट ललितपुर र तालतलैया फुटबल क्लब सुनसरीबीच हुनेछ । ती दुईमध्ये विजयी टिमले उपाधिका लागि इलामसँग फाइनल भिडेनछ ।

आजको खेलको पहिलो हाफको १०औं मिनेटमा इलामले गोल गर्दै अग्रता लिएको थियो । इलामको तर्फबाट जर्सी नम्बर ९ का किस्मत लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाए । किस्मतले लगाएको गोल नै अन्ततः निर्णायक गोल साबित भयो ।

उर्लाबारीले खेल बराबरी गर्न निक्कै कसरत गरे पनि सफल भएन । खेलको म्यान अफ द म्याच इलामका लिम्बु घोषित भए । उनलाई नगद दुई हजारले पुरस्कृत गरिएको थियो ।

नेपाल भ्रमण वर्ष २०२० मा नेपालकै होचो भूभाग कचनकवलमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष हरि बस्नेतले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *