Sajhamanch Archive

सहकारितामा उदाहरणीय बन्दै झापाको सिम्रिक साकोस

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by .

बिर्तामोड । सञ्चालनमा आएको ७ वर्षको छोटो अवधिमा झापा जिल्लाका उत्कृष्ट १० सहकारी संस्थाभित्र पर्न सफल सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले वित्तीय कारोबारसँगै सामाजिक सेवाकार्यमा पनि नमूनायोग्य काम गरिरहेको पाइएको छ ।

महिला शेयर सदस्यहरुलाई सुत्केरी सुविधा प्रदान गरेर होस् वा सर्वसाधारणका लागि स्वास्थ्य शिविर सञ्चालन गरेर, सिम्रिक साकोसबाट हजारौंले लाभ लिएका छन् ।

विभिन्न शीर्षकमा संस्थाका शेयर सदस्यलाई राहत वितरण गरिँदै ।

आर्थिक वर्ष २०७४/०७५ मा सिम्रिक साकोसले जिल्लाका विभिन्न स्थानमा ८ वटा आँखा शिविर सञ्चालन गरेको थियो भने वार्षिक उत्सवको अवसरमा वृहत् रक्तदान कार्यक्रम गरेको तालिम विभाग प्रमुख विजय बस्नेतले जानकारी दिएका छन् ।

संस्थाले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ मा सुत्केरी सुविधा वापत २६८ जना महिला शेयर सदस्यले ४ लाख ६९ हजार रुपैयाँको सुविधा रकम प्राप्त गरेका छन् ।

यसैगरी, मृत्यु सुविधा वापत २८ जना शेयर सदस्यका परिवारलाई ९ लाख ४१ हजार ४०० रुपैयाँ उपलब्ध गराइएको छ भने सदस्य राहात कोषबाट ९६ जना शेयर सदस्यलाई विभिन्न शीर्षकमा ३ लाख ७० हजार २०० रुपैयाँ उपलब्ध गराइएको छ ।

विभिन्न शीर्षकमा संस्थाका शेयर सदस्यलाई राहत वितरण गरिँदै ।

संस्थाले सामाजिक क्षेत्रमा क्रियाशीलता देखाउँदै परोपकार तथा अनुसन्धान केन्द्र बिर्तामोडमा आश्रय लिएर बसेका बृद्धबृद्धाहरुका लागि ३० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको छ ।

यस्तै झापा गोल्ड कप फुटबल प्रतियोगिता २०७४ का लागि १ लाख रुपैयाँ, दृष्टिविहीन विद्यार्थीको सहयोगमा ५ हजार रुपैयाँ तथा अपाङ्ग संघ बिर्तामोडलाई ५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको संस्थाका सचिव सुवास भट्टराई जानकारी दिएका छन् ।

२०७५ साल असार मसान्तसम्म संस्थामा जम्मा १७ हजार ११४ जनाभन्दा बढी शेयर सदस्य रहेका र कूल शेयर पुँजी ५ करोड ६१ लाख ४५ हजार ९०० रुपैयाँ भन्दा बढी पुगेको अध्यक्ष कमलबहादुर बस्नेतले बताएका छन् ।

संस्थाका कर्मचारीहरुको बैठक ।

सहकारी संस्थाको मजबुती नियाल्ने औजार भनेको कोष रकम हो । सो मितिमा सिम्रिक सहकारीमा २ करोड ७ लाख २५ हजार ३११ रुपैयाँको विभिन्न कोष रहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

उनका अनुसार संस्थाले ३५ करोड १५ लाख ४५ हजार ३६ रुपैयाँ निक्षेप मौज्दात गरेको छ भने ५० करोड १४ लाख ६० हजार ९१७ रुपैयाँ सदस्य माझ कर्जा लगानीमा रहिरहेको छ ।

झापा जिल्ला सहकारी संघले यही साउन महिनाबाट कार्यान्वयनमा ल्याएको झापा कुप्स स्ट्याण्डर्डका ८४ वटा सूचकहरुमध्ये अधिकांश पूरा गरेको सिम्रिक साकोस अब जिल्लाकै उत्कृष्ट सहकारी बन्नेतर्फ अग्रसर रहेको पाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *