Sajhamanch Archive

वास्तविक किसानले सरकारी अनुदान नपाएको कांग्रेस सभापति थापाको आरोप

Published: in राजनीति, राष्ट्रिय समाचार by .

बिर्तामोड । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले ब्यवसायिक कृषिमा संलग्न किसानले अनुदान रकम नपाएको तर फर्म खडा गरेर कृषि कर्म नगर्ने नक्कली किसानले सरकारी अनुदान लिइरहेको आरोप लगाएका छन् ।

नेपाल पशु सेवा प्राविधिक संघ (नेल्टा) झापाको दोस्रो जिल्ला अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका सभापति थापाले अहिले सिङ्गो मुलुक नै बिचौलियाको हातमा पुगेकोले देशभरका सार्वजनिक सम्पत्ति माथि सत्तारुढ कार्यकर्ताले आफ्नो नाममा पार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका हुन् ।

कृषि पेशालाई प्राथमिकतामा राखेर ब्यावसायिक बनाउनुपर्ने धारणा राख्दै सभापति थापाले निर्वाहमुखी कृषि पेशाले देशको समृद्धि र राष्ट्रिय जिडिपीमा उल्लेख्य योगदान पुर्याउन नसकेको पनि जिकिर गरेका छन् । कार्यक्रममा नेल्टाका केन्द्रीय अध्यक्ष जनक रावलले संसदमा पेश भएको कानून पारित भएपछि मात्रै पशु प्राविधिकहरुको पेशाले कानूनी मान्यता पाउने बताउँदै पशुबीमा अनिवार्य गर्नुपर्नेमा जोड दिए ।

नेल्टाकै प्रयत्नमा प्रत्येक स्थानीय तहमा १०–११ जना पशु प्राविधिकहरुको नियुक्ति गर्न सक्ने प्रावधान पारित भएपनि सरकारले कतिपय स्थानमा बहुमतका आधारमा कुनै परीक्षा नै नलिई कानुनी प्रावधान विपरित नियुक्ति गरेकोप्रति उनले आपत्ति प्रकट गरे । कार्यक्रममा नेल्टाको सांगठनिक गतिविधिबारे सहसचिव सुरेशकुमार श्रेष्ठले प्रकाश पारेका थिए ।

कार्यक्रममा पशु प्राविधिक भरतराज कडेल, कनकाई कृषि फर्म अर्जुनधाराका सुबोध ढुङ्गेल, विश्वास कृषि फार्मका डम्बरलाल चौधरी, पूर्वाद्र्ध डेरी उद्योगका कमल भण्डारी र पाथीभरा डेरी फार्मका सुदिप गौतमलाई सम्मान गरिएको थियो ।

नेल्टा झापाका अध्यक्ष पदमलाल राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेल्टा झापाका अध्यक्ष दिवस राई, नेपाल निजामति कर्मचारी युनियन संघ झापाका अध्यक्ष कविन्द्र विक्रम नेम्बाङलगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन स्वस्तिका आचार्यले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *