Sajhamanch Archive

मेची पूल निर्माण कार्य अधुरो रहँदा दक्षिणको बस्ती नदी कटानको मारमा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

भद्रपुर । भद्रपुर नगरपालिका ५ स्थित निर्माणाधिन मेची पूल दक्षिणतर्फ नदी किनारको सुकुम्बासी बस्तीका १६ घर परिवार नदी कटानबाट विस्थापित भएका छन् ।

सुकुम्बासी बस्तीका ती परिवार नदी कटानको मारमा परेपछि असार दोस्रो साताबाट बिस्थापित भएका हुन् ।

पूल निर्माण गर्ने कम्पनीले बस्ती नजिकसम्म बाँध बाँधेर छोडेपछि बाढीको पानी बस्तीमा छिरेर कटान सुरु गरेको बताइएको छ ।

नदीले आफ्नो बस्ती कटान गर्न थालेपछि घर छोडेर अन्यत्र शरण लिनु परेको पीडितमध्येका एक श्यामल सरकारले गुनासो गरेका छन् ।

८० परिवारको बसोबास रहेको सो स्थानमा दर्केझरी पर्न थाले पछि बस्ती नै रित्तो पारेर हिड्नु पर्ने बाध्यता शुरु भएको श्यामल सरकारले बताएका छन् ।

वर्षादका समयमा त्रास र हण्डर खप्नुपर्ने उनीहरुले राज्य भएको अनुभूतिसम्म गर्न नपाएको दुखेसो पोख्ने गरेका छन् ।

उनीहरूको भनाई छ, “नदी कटानबाट विस्थापित भूमिहीन परिवारलाई राहत वितरण गरेको फोटो सार्वजनिक गर्नुभन्दा समस्या हल गर्न राजनीतिक दल, समाजसेवी, सामाजिक संघ–संस्था लाग्नु पर्ने होइन र ?”

बर्सेनी डुबानको चपेटामा पर्दै आएका ती सुकुम्बासी परिवारलाई यसपटक भने नदी कटानको चिन्ताले सताएको छ ।

मेची पूलबाट दक्षिणतर्फको बस्ती जोगाउन १७० मिटर तटबन्ध बनाइएको र बाँकी ७० मिटर जति काम नगर्दा नदी कटान समस्या आएको स्थानीयको बुझाई छ ।

थप ७० मिटर तटबन्ध निर्माणका लागि स्थानीयले भद्रपुर नगरपालिका, पूल निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीसमक्ष माग गरेका थिए ।

तर, कतैबाट सुनवाई नभएको स्थानीय अजय सिंहको दाबी छ । भद्रपुर ५ नम्बर वडामा रहेको बस्तीका बासिन्दालाई बाढी आए नजिकै रहेको भद्रपुर माविमा बस्ने व्यवस्था बाहेक अन्य केही काम नभएको उनको भनाई छ ।

भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्कीले विस्थापित परिवारलाई सुरिक्षत स्थानमा सार्ने योजना रहेको सुनाए । भने, ‘त्यस बाहेक थप काम गर्न आर्थिक स्रोतको अभाव छ ।’

इन्जिनियर सहितको टोलीले तटबन्ध नबढाइए बस्ती पुनः डुबानमा पर्ने निष्कर्ष निकालेको जानकारहरुले बताएका छन् ।

पूल निर्माण कम्पनीका इन्जिनियर सुरेन्द्र खतिवडाले हुलाकी राजमार्ग आयोजनाले बजेट निकासा गर्नासाथ अधुरो तटबन्ध पूरा हुने विश्वास दिलाएका छन् ।

पूर्वतर्फ मेची नदी र पश्चिममा पैनीसहितको खोलाले बर्सेनी सुकुम्बासी बस्ती डुबाउने र कटान गर्ने गरेको छ ।

सुकुम्बासी बस्तीसहित नगर कै दक्षिणी क्षेत्र भैंसाबारीका १२४, मेचीपारिको नेपाली बस्ती भाङबारीका ११५ र हात्तीमाराका १०० हाराहारी परिवार बाढी र कटानको जोखिममा रहेका वडाध्यक्ष बन्धु कार्कीले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *